|

काठमाडौ: नेपालका १५ जिल्ला अझै पनि  औलो रोगको उच्च जोखिममा रहेको पाइएको छ। विश्व औलो दिवसको उपलक्ष्यमा मंगलबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांक पाइएको हो।

सन् २०२५ सम्म नेपाललाई औलो उल्मूलन गर्ने घोषणा गरिए पनि अझसम्म नेपालका १५ वटा जिल्ला औलोको उच्च जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपस्वास्थ्य प्रशासक डा भेषराज पोखरेले बताए। उनले भने, ' नेपाललाई सन् २०२५ सम्म औलोमुक्त देश बनाउने घोषणा गरिए पनि अझ देशका १५ जिल्लाहरु उच्च जोखिममै रहेका छन्।'

कार्यक्रममा  हाल नेपालमा कुल स्थानीय औलो रोगीको संख्या ५ सय ४१ पुगेको त्यसैगरी, खुला सिमानाका कारण भारत लगायतका देशबाट आउने रोगीको संख्या ४ सय ९५ रहेको पनि डा. पोखरेलले जानकारी दिए।

विश्व औलो दिवसको सन्दर्भमा ‘सदाका लागि औलोको अन्त्य गरौं’ भन्ने नाराका साथ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै डा. पोखरेलले नेपालमा देखिएको औलोमध्ये ४५ प्रतिशत खुला सिमानाका कारण भित्रने गरेको पनि बताए। डाक्टर पोखरेलले भने, 'हाल नेपालका २ सय ५६ गाउँपालिका औलोको उच्च जोखिममा रहँदै आएका छन्, त्यसमध्ये १५ जिल्ला  उच्च जोखिममा, १० जिल्ला मध्यम खालको जोखिममा तथा १५ जिल्ला निम्‍न जोखिममा रहेका छन्।' 

कार्यक्रममा डाक्टर पोखरेलले नेपालमा औलो रोगीका संख्या घट्ने क्रममा रहेको देखिए तापनि बिशेष गरी १५ जिल्लामा लामखुट्टेले औलो रोग लाग्‍ने क्रम भने बढिरहेको र यसको रोकथामका लागि पनि खुला सिमानाको समस्यालाई सम्बोधन गर्न  राजनीतिक प्रतिवद्धता आवश्यक रहेको बताए। 

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका डा. किरणराज अवश्थीले नेपालमा औलो रोगको अवस्थाबारे अवगत गराएका थिए।उनले विगत दुई वर्षदेखि नेपालमा औलो रोग निर्मूलका लागि नेपाल सरकारले राष्ट्रियस्तरमा नै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिए।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि निहाल सिंहले सन् २०२० सम्ममा विश्वका २१ देशमा औलो उन्मूलन गर्ने कार्यकम रहेकोमा नेपाल पनि त्यस मध्यको एक रहेको जानकारी दिए। उनले भने, ‘विश्व स्वास्थ्य संगठनले नेपाललाई २१ देशको सूचीमा सुचीकृत गरे तापनि  सन् २०२६ अगावै नेपालमा पनि औलो उन्मूलन हुनमा हामीले आशा लिएका छौ‌ं।'

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पाण्डेले नेपालले विभिन्न रोग नियन्त्रणमा फड्को मारेको जिकिर गर्दै विभिन्न परिसूचकहरुले समेत यसलाई प्रमाणित गरिसकेको हुँदा आत्तिने अवस्था भने नभएको बताए। उनले सन् २०२० सम्ममा विभिन्न देशहरुको सहकार्यमा नेपालले पनि औलो उन्मूलनको क्षेत्रमा धेरै काम गरी औलो रोगलाई शून्यमा ल्याउनेमा आशा व्यक्त गरे।

बजेट समस्या, आवश्यक जनशक्तिको कमी, दातृ निकाय माथिको निर्भरता, भौगोलिक विकटता लगायतका विभिन्न समस्या रहेपनि नेपालले औलो उन्मूलनको क्षेत्रमा धेरै काम गर्न सफल भएको छ। विभागका महानिर्देशक डा. पाण्डेले भने, ‘नेपालले रोग नियन्त्रणका क्षेत्रमा भएका कार्य प्रगतिलाई हेर्दा मलाई लाग्छ, सन् २०२५ भन्दा अगाडि नै हामीले रोगालाई नियन्त्रणमा राखिसक्नेछौं। तर, त्यसको लागि सबैको सहयोग आवश्यक छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.