|

उदयपुर     :  ‘१२ वर्षपछि खोला फर्किन्छ’ भन्ने नेपाली उखानझैं ४५ वर्षपछि सदरमुकाम रहेको ठाउँमा सदरमुकाम नै कायम भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणपछि गरिएको स्थानीय तहको पुनःसंरचनाले पुरानो सदरमुकाम रहेको पञ्चावती १ उदयपुरगढी अहिले गाँउपालिकाको केन्द्र अर्थात् सदरमुकाम कायम गरेको हो।

स्थानीय तहको पुनःसंरचनापछि भौगोलिक रुपमा पछि परेका क्षेत्रहरु मुहार फेर्ने सपना बुन्न थालेका छन्। त्यही आशामा बसेको उदयपुरको पुरानो सदरमुकाम ‘उदयपुरगढी गाँउपालिका’ स्थानीय निर्वाचनको पर्खाइमा छ। उदयपुरगढी गाउँपालिकाको वडा ५ मा पर्ने उदयपुरगढी अहिले मुहार फेर्नको लागि निर्वाचनको पर्खाइमा छ।

उत्तरमा सेत्ताम्य हिमालहरु र दक्षिणमा समतल तराईका फाँटहरु देख्न सकिने छ। उदयपुर गढी संरक्षण विकास समाजका अध्यक्ष उद्धव मोतेका अनुसार गढी ऐतिहासिक थलो हो। त्यहाँ उहिल्यै सेनवंशी राजा उदयचन्द्रले शासन गरेका थिए। ‘गढीको इतिहास खोजी हुँदै छ,’ उनले भने, ’हामी पर्यटन विकास गर्न गुरुयोजनासमेत बनाइरहेका छौं, अब गाउँपालिकाको केन्द्र भएकाले पनि स्थानीय तहको निर्वाचनपछि विकासले गति लिने छ भन्ने आशा लागेको छ।’

तिनै उदयदेव नाम गरेको राजाले यस क्षेत्रमा शासन गरेको किम्बदन्तीको आधारमा उदयपुर जिल्ला नामसमेत कायम भएको थियो। अहिले त्यही पनि नामले उदयपुरगढी गाउँपालिका बनेको हो। मुसलमानी आक्रमणबाट बच्न तिनै उदयदेव नाम गरेका राजाले बनाएका दरबार तथा युद्धकिल्लाको अवशेषहरु अझै पाइन्छ।

वि.स. २०२८ सालभन्दा अगाडि उदयपुर जिल्लाको सदरमुकाम हालको पञ्चावती गाविसमा पर्ने त्यही उदयपुरगढीमा थियो। पछि सदरमुकाम गाईघाटमा सारिएको हो।        

समुद्री सतहबाट करिब १३ सय सय मिटरको उचाइमा अवस्थित यो ठाउँ भौगोलिक रुपले बिकट भए तापनि प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। जनजाति, क्षेत्री, ब्रह्माण, दलित लगायतको सघन बसोबास रहेको उदयपुरगढी गाँउपालिकामा ३० हजार ७ सय जनसंख्या छ। सञ्चारको क्षेत्रमा नेपाल टेलिकम र एनसेल मोबाइलको टावर गढीमा बनेका छन् ।

गढीमा होमस्टेको स्वागत

सदरमुकाम गाईघाट आउने प्रमुख जिल्ला अधिकारीदेखि कार्यालयप्रमुख समेत एकपटक उदयपुरगढी पुग्ने गर्दछन्। यसरी सरकारी कार्यालय प्रमुखहरु पुग्न थालेपछि जिल्लामै पहिलो पटक दुई पर्यटकीय क्षेत्रमा होमस्टेको सुरुवात छ भएको छ।

पहिलो उदयपुरगढी र दोस्रो रौतामाई पोखरीमा हो। उदयपुरगढी क्षेत्रमा खान र बस्न होटल तथा रेस्टुरेन्ट नभएकाले गाउँका महिलालाई होमस्टे लगाइएको हो। पञ्चावती सामुदायिक होमस्टेकी अध्यक्ष इन्द्रकुमारी राई भन्छिन्, ‘गाउँमा आउने पाहुनालाई सजिलो होस् भनेर हामीले नौ घरमा होमस्टे चलाएका छौं।’

तीन वर्षअघि सुरु गरिएको होमस्टेमा अहिले छिमेकी जिल्ला सिरहा, सप्तरीलगायत गाईघाट, बिराटनगरबाट सर्वसाधारण उदयपुरगढीमा गर्मी छल्न पुग्न थालेका छन्।

उदयपुरगढीका समस्या

गढीमा मुख्य रुपमा खानेपानी, बिजुली र सडकको छ। सडक छ हिउँदमा चल्छ तर, वर्षमा बन्द हुन्छ। गुणस्तरीय सडक नहुँदा हिउँदमा पनि धुलाम्य हुने गर्छ। उदयपुरगढीमा ठूलो समस्या भनेको खानेपानी हो। धारा बनेका छन् पानी आउँदैन १५ वर्षअघि डुम्रेबाट ल्याइएको खानेपानी अहिले आउन छाडेको छ।

उदयपुरगढी गाँउपालिका ५ वा वडा सचिव खिलराज कार्कीले धारामा पानी नआएकाले गाउँले खोला र कुवाको दूषित पानी खान बाध्य भएको बताए।

‘गढीदेखि झन्डै २२ किलोमिटर उत्तरमा रहेको खानेपानीको पुरानो योजनाको मुहान अझसम्म पनि मर्मत भएको छैन’ सचिव कार्कीले भने, ‘आधुनिक तरिकाले पानीको मुहान तथा इन्टेक निर्माण ठूलो धनराशि चाहिने भएकाले मर्मत नभएको हो।’

खानेपानीको अभावलाई तत्काल हटाउन पटक–पटक गरिएको आग्रह सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयको आरोप छ। यसैगरी बिजुलीसमेत छैन। बत्तीको लागि घरमा घरमा स्थानीयले सोलार जडान गरेका छन्। ‘नेपालटार लगायतका बजारमा बिजुली ल्याउनको लागि धेरै वर्षदेखि निरन्तर लागिपरेको बाल्न नसकेको आँपटार नेपालटार विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष केश्वकुमार कार्कीले बताए। ‘नेपालटार बिजुली बलेपछि गढी पु¥याउन सजिलो हुनेछ,’ कार्कीले भने, ‘विद्युत् प्राधिकरणले नेपालटार–उदयपुरगढी पोल विस्तार गरिरहेको छ।’ कुशल नेतृत्वको खोजीमा गढी

३० हजार ७ सय जनसंख्या उदयपुरगढी गाउँपालिकामा १२ हजार ५ सय ७७ मतदाता छन्। मुख्य नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रको वर्चस्व छ। त्यसमा निर्णायक भोटको रुपमा संघीय समाजवादी फोरम तथा नेकपा क्रान्तिकारी माओवादीको पनि उपस्थिति रहेको छ।

सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको स्वच्छ छवि भएको नेतृत्व गाउँपालिका आउने सकेमा मात्र उदयपुर गढीको विकास हुने गढी गापा १ का स्थानीय रामबहादुर खत्रीले बताए। ‘पुरानो सदरमुकामको साख जोगाउनु अहिले अपरिहार्य छ।’ खत्रीले भने, ‘त्यसको लागि सक्षम र कुशल नेतृत्व गढीले मागिरहेको छ।’

नेकपा एमालेको तर्फबाट गढी गाउँपालिको अध्यक्षमा सिफारिस भएका बोधकुमार घिमिरेले भने, ‘त्यसको सम्पूर्ण विकास गर्न मैले पनि एमालेबाट इच्छा जाहेर गरेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • गढी उदयपुर र सिङ्गो रास्ट्र को इतिहास हो र यसको बिकास गरिनु पर्छ दुइ मत छैन गढी द्वारा उत्पादित ब्याक्तित्व नै बिकास का लागी काफी छ अभाब छ त इच्छाशक्ति को.....