|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक : जुगल गाउँपालिका बराम्चीका भरत नेपालीको घर भूकम्पले निमेषमै ढाल्यो। अनुदानले घरको जग राख्न नसकेकाले टहरामा कष्टकर जीवन बिताइरहेका छन्। ‘बर्षा, चिसो र हावाहुरीको सामना गर्दै बालबालिका र वृद्दवृद्धालाई जोगाउनै मुश्किल पर्छ’ उनले भने। स्थायी आवास पुनःनिर्माणका लागि सरकारले दिएको ५० हजार रुपैयाँ अनुदानले घर बनाउँन नसक्दा टहराको बासमा दुई बर्षसम्म कटाइरहेका छन्। 

५० हजारले घर बनाउन नपुग्ने हुँदा सिन्धुपाल्चोकका अधिकांश भूकम्पपीडित टहरोमा बास बस्दै आएका छन्। आर्थिक स्थिति बलियो हुनेले सरकारको अनुदानबाहेक आफ्नै खर्च गरेर भएपनि घर बनाएका छन्।  तर न्यून आर्थिक अवस्था भएका भूकम्पपीडितले अझै पनि सरकारको अनुदान पर्खाइमा छन्।

‘सरकारले दिएको पहिलो किस्ताको रकमले जग समेत निर्माण गर्न पुग्दैन’ भरतले भने ‘अनुदानको पहिलो किस्ता रकम दशैं मनाउन खर्च भएकाले कतिपय पीडितहरुले जग बसाउन नसकेका धेरै उदाहरण छन्।’

दुई र्ष १० प्रतिशतको मात्र घरको पुनर्निर्माण 

भूकम्प गएको दुई वर्षसम्म सिन्धुपाल्चोक जिल्लाका १० प्रतिशत भूकम्प पीडितले घरको जग राख्न सकेका  छन्। राजनैतिक अस्थिरता र सरकारी अन्यौलताले गर्दा पीडितहरुले घरको जग राख्न नसकेको सहरी विकास तथा भवन डिभिजन कार्यालर्यका प्रमुख युवराज पौडेल बताउँछन्। घरको जग राखेपछि पीडितहरुले दोस्रो किस्ताको रकम कसरी, कस्तो घर बनाउँदा पाउने हो भन्ने आयौलताले गर्दा पुनर्निर्माण प्रक्रियाले गति नलिएको हो ।  

यस्तो थियो भूकम्प विवरण

वैशाख १२ गते र २९ गतेको भूकम्पमा सिन्धुपाल्चोकका तीन हजार ५ सय ७० जनाले ज्यान गुमाए। १५ सय ६५ जना घाइते भएका थिए भने ८ जना अझै बेपत्ता छन्। भूकम्पले ६६ हजार चार सय ४८ घरधुरी मध्ये ६२ हजार एक सय ४५ घर ध्वस्त भए। ५ सय ४७ विद्यालय पूर्ण रुपमा क्षति भएका छन्।

भूकम्प गएको २ वर्ष पुरा हुँदासमेत विद्यालय पुनर्निर्माण हुन सकेको छैन। अहिले सम्मपनि अस्थायी टहरामा नै पठन पाठन सञ्चालन भइरहेको छ। ७५ स्वास्थ्यचौकी, १९५ किमी सडक, १३ पुल र ६९१ खानेपानी आयोजना पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला दैवी प्रकोप उद्दार समितिले उल्लेख गरेको छ।

ऐतिहासिक र पूरातात्विक महत्वका कयौं मठमन्दिरहरु ढलेर ध्वस्त भए। त्यसको पुनर्निमार्णमा अहिलेसम्म सुरु गरिएको छैन। देशभर झण्डै ६ लाख बढी भौतिक संरचनाहरु ध्वस्त भएको विनाशकारी भूकम्प गएको दुई वर्ष पूरा हुँदासमेत पुनर्निर्माण कार्य गति लिन सकेको छैन।

जनशक्तिको चरम अभाव

पुनर्निर्माण गर्नका लागि ग्रामीण भेगमा चरम जनशक्तिको अभाव देखिएको छ। गाउँमा एकै पटक धेरै घरहरु निर्माण गर्नुपर्ने भएकाले जनशक्ति अभाव भएको हो। ‘घर बनाउन थाल्ने भनेको खै, काम गर्ने मान्छे अझै पाउँन सकिएको छैन’ चौतारा साँगाचोकगढी नपरपालिकाका नारायण सापकोटाले भने ‘सरकारले ५० हजार दिएको छ। त्यसले कसरी जग राख्नु, मान्छे पाउँदैन पाएको मान्छेले एक हजारभन्दा धेरै ज्याला भन्छ।’

आपराधिक घटना बढ्यो

भूकम्पपछि सिन्धुपाल्चोक जिल्लामा आपराधिक घटना बढेको छ। भूकम्पपछि सिन्धुपाल्चोकमा ३ सयभन्दा धरै महिला हिंसाका घटना दर्ता भएको महिला तथा बालबालिका कार्यालको निमित्त प्रमुख नानिमैयाँ बस्नेत बताउँछिन्। भूकम्प लगत्तै बढेको आपराधिक घटना पछिल्लो वर्षमा केही कमी आएको जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्र केसी बताउँछन्।

भूकम्पछि विदेशिधेरै

सिन्धुपाल्चोक जिल्लामा एक वर्षमा ९ हजार जनाले विदेश जानको लागि जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिस लिएका छन्। भूकम्पपछि सिन्धुपाल्चोक जिल्लामा राहदानी लिनेको संख्यामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पिताम्बर पाण्डे बताउँछन्। सबैभन्दा महिला विदेश जाने जिल्ला पनि सिन्धुपाल्चोक हो। अवैधानिक तवरले महिला विदेशी भूमिमा पुग्नेको संख्यामा कमी आएको भएपनि वैधानिक तवरले सिन्धुपाल्चोकको महिला धेरै विदेशिएका छन्।

एनजिओको मनलाग्दी

भूकम्प गएको २ बर्ष भइसक्दा समेत सिन्धुपाल्चोकमा भित्रिएका संघसंस्थाले कुन शीर्षकमा कति खर्च गरे भन्ने तथ्याङ्क जिल्लाका सरकारी निकायसँग छैन। भूकम्पपछि आकस्मिक राहतको नाममा मात्र संघसंस्थाले गरी भूकम्पपीडितका लागि ४ अर्ब खर्च गरेको प्रशासनसँग तथ्याङ्क छ। तर कुन काममा कति खर्च भयो भन्ने छैन। ‘हामीले संघसंस्थाको कामको राम्रो निगरानी गर्न सकेनौं, त्यसैले पीडितको नाममा संघसंस्थाले कति खर्च गरे भन्ने खर्च विवरण निकाल्न सकेका छैनौं' सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.