|

पाँचथर : पाँचथर महिला स्रोत केन्द्रले स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारहरुको भौतिक सुरक्षा हुनुपर्ने माग गरेको छ। निर्वाचनको प्रचार-प्रसारका क्रममा महिला उम्मेदवारहरु भौतिक रुपमा असुरक्षित हुन सक्ने भन्दै जिल्लास्थित राजनीतिक दलका अध्यक्षहरुसँग भौतिक सुरक्षाको माग गरेको हो। केन्द्रकी संयोजक सीता थेबे (प्रमिला) नेतृत्वको टोलीले जिल्लास्थित राजनीतिक दलको कार्यालयमा पुगेर भौतिक सुरक्षा नगर्ने हो भने निर्वाचनको प्रचारमा महिला उम्मेदवारहरु निस्कन नसक्ने जनाएको छ।

निर्वाचन वहिष्कार गर्ने भन्दै जिल्लामा केही दलहरु आन्दोलनमा रहेका बेला महिला उम्मेदवारहरुको भौतिक सुरक्षा चुनौतीपूर्ण नै छ। यससँगै केन्द्रले निर्वाचनमा महिला उम्मेदवारका लागि आर्थिक व्यवस्था गर्न,लैंगिक विभेद तथा महिला उम्मेदवारको चरित्रहत्या नगर्न र गर्नेहरुविरुद्ध उजुरी लिने र उजुरीको सुनुवाइ गर्ने पार्टीभित्रै संयन्त्र बनाउन माग पनि गरेको छ।‘निर्वाचनमा लैंगिक हिंसा हुने सम्भावना बढी हुन्छ। यसप्रति राजनीतिक दलहरु निकै संवेदनशील हुनुपर्छ। थेबेले भनिन् भएनन् भने स्वच्छ,निष्पक्ष र भयरहित निर्वाचन हुँदैन।’

 राज्यको हरेक निकायमा अर्थपूर्ण महिला सहभागिताको सवाल उठाउँदै आएको स्रोत केन्द्रले दलीय हित मात्रै नसोची क्षमतावान र विकास निर्माणमा योगदान दिन सक्ने सक्षम महिलालाई उम्मेदवार बनाउन र संविधानको धारा ३८(४) अनुसार समानुपातिक र समावेशी सिद्धान्तका आधारमा तहको वडा सदस्यदेखि प्रमुख तथा /अध्यक्ष लगायतका पदमा उम्मेदवार बनाएका महिलाहरुलाई निर्वाचित गराउन पनि भनेको छ।

केन्द्रकी संयोजक थेबेले दलित महिला उम्मेदवार नभएको अवस्थामा सीमान्तकृत समुदायका महिलालाई उम्मेदवार बनाउन पनि माग दलहरुसँग माग गरेकी छिन्। तर, निर्वाचन आयोगले भने दलित महिला उम्म्देवार नभएको अवस्थामा खाली नै पठाउनुपर्ने जनाएको छ।

यसैबीच, जिल्लास्थित राजनीतिक दलका अध्यक्षहरुले केन्द्रका  माग जाहेज भन्दै सम्बोधन गर्ने बताएका छन्। नेपाली कांग्रेसका सभापति नरेन्द्रकुमार केरुङ,एमाले अध्यक्ष राजकुमार भण्डारी,माओवादी केन्द्रका संयोजक होम जवेगू सूर्यमान,राप्रपा अध्यक्ष प्रेमराज थाम्सुहाङ र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष डि.एम.आङदेम्बेले मागहरुप्रति सकारात्मक भन्दै सम्बोधन गर्ने आश्वासन दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.