|

कपिलवस्तु : छिमेकीको हत्या गरी फरार भएको अभियोगमा कपिलवस्तुको विजयनगर गाउँपालिका– ५ का ८१ वर्षीय चन्द्र बहादुर श्रीस पक्राउ परेका छन्। श्रीसमाथि गत चैत २८ गते मध्यरातमा ५५ वर्षीय ओम बहादुर गोतामेलाई मुखमा बन्चरो प्रहार गरी फरार भएको अभियोग छ।  

उनलाई प्रहरीले वाणगंगा नगरपालिकाको भलवाडस्थित भर्तापुरबाट पक्रेको हो। घटनाको अनुसन्धान र सोधपुछपछि श्रीसले हत्या अभियोग स्विकारेको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक संजय रिजालले बताए।

'कारण बिनै श्रीस फरार भएको देखियो। उनको घरमा खानतलासी लिंदा बन्चरो र बिंड भेटियो,’ निरीक्षक रिजालले भने। प्रहरीका अनुसार घटना भएको केही बेरमै घर नजिकै बिडबाट बन्चरो निकालेर अलग-अलग ठाउँमा फालेका थिए।

घटना भएको बेला मृतकले मदिरा सेवन गरेको प्रहरीको भनाइ छ। उनी गाउँमा पटक-पटक चोरीका घटनामा संलग्न हुंदै आएको प्रहरी निरीक्षक रिजालले बताए। मृतक गोतामे र श्रीसबीच पनि चोरीका विषयमा १ वर्षअघि विवाद हुँदा झगडा परेको थियो।

घटनाको अनुसंधान भइरहेको र अन्य व्यक्तिहरुको समेत संलग्नता हुनसक्ने रिजालले बताए। प्रहरीले श्रीस विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइ अदालतबाट ७ दिनको म्याद समेत थपेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.