|

काठमाडौं : हङकङमा भएको २१औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा दक्षिणा शाही ठकुरीले स्वर्ण जितेकी छिन्। काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपअन्तर्गत महिला जुनियर ४२ केजीमुनि दक्षिणाले हङकङकी खेलाडीलाई हराउँदै स्वर्ण जितिन्।

कुमार लामा घिसिङको प्रशिक्षणमा रहेको नेपालले प्रतियोगितामा एक स्वर्ण,चार रजत र ६ कास्य गरी कुल ११ पदक हात पार्‍यो। नेपालका ५ खेलाडीले फाइनल यात्रा तय गरेपनि दक्षिणाबाहेक अन्यले रजतमै चित्त बुझाए।

क्याडेट २९ केजीमुनि सुप्रिमा बजगाँई सडेन डेथमा मंगोलियाकी खेलाडीसँग स्तब्ध भइन्। निर्धारित तीन राउन्डको खेलमा ७–७ स्कोरको बराबरी भएपछि सडेन डेथमा हार बेहोर्दै सुप्रिमा रजत पदकमै सिमित भइन्।
पुरुष सिनियर ७४ केजीमुनिको फाइनलमा विकेस बिडारी रजत पदकमै सिमित भए। महिलाको सिनियर ६२ केजीमुनि लक्ष्मी घले र पुरुष क्याडेट ४५ केजीमुनि सुजन गुरुङ फाइनलमा पुगे पनि रजतमै सिमित भए।

पुरुषतर्फ ५८ केजीमुनि मिसन रासकोटी, ६८ केजीमुनि आकाश पुन,क्याडेट ४५ केजीमुनि सागर तङ्नामी,६३ केजीमुनि अमृत थापा र ५४ केजीमुनि प्रकाश थापाले कास्य पदक जिते। महिलातर्फ सुमित्रा खत्रीले ७४ केजीमाथी कास्य पदक जितिन्।

अप्रिल २२–२५ सम्म भएको उक्त च्याम्पियनसिपमा तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा ग्रेडिङ प्रमुख नोर्बु लामाले निर्णायक भूमिका निर्वाह गरे। नेपाली टोलीको टिम व्यवस्थापकमा राजिव महर्जन र राजु खड्का रहेका थिए।

च्याम्पियनसिपमा १३ खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा हङकङ, ताइवान, मकाउ, चीन, मंगोलिया, सिंगापुर, नेपाल, इन्डोनेसिया, फिलिपिन्स, कोरिया लगायतका राष्ट्रका २१ टोलीका एक हजारभन्दा बढी खेलाडीहरुको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.