|
फोटो : नेपाली कांग्रेसको फेसबुक पेजबाट

काठमाडौं : नेपाली कांग्रेसले ५२ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गर्दै आफ्ना भावी योजना सार्वजनिक गरेको छ। कांग्रेसको घोषणापत्रमा विगतमा भएका उपलब्धिहरु समेत समावेश छ। 

आर्थिक–सामाजिक उपलब्धिहरु 

गत २५ वर्षमा गरिबीको रेखामुनि रहेको जनसंख्या आधा घटेर अहिले २१ प्रतिशतमा झरेको कांग्रेसको दाबी छ। उसले ७२ हजार थान मात्र फोन भएको नेपालमा आज मुलुकको जनसंख्याभन्दा पनि धेरै, अर्थात् २ करोड ८० लाख मोबाइल फोन प्रत्येक नेपालीको हात–हातमा रहेको उल्लेख गरेको छ। 

सबै नगरपालिकामा १५ शैयाको अस्पताल निर्माण गरिने

कांग्रेस नेतृत्वको सरकारले मुटु, मृगौला, सिकलसेल एनिमिया, क्यान्सर, पार्किन्सन तथा अल्जाइमर रोग लागेका वृद्ध तथा विपन्नलाई निःशुल्क स्वास्थ्य उपचारका लागि सरकारी सहयोगको व्यवस्था गरेको दाबी घोषणा पत्रमाा गरिएको छ। मातृ स्वास्थ्यको क्षेत्रमा सबै नगरपालिकाहरुमा १५ शैयाको अस्पताल निर्माण गर्ने घोषणा गरिएको छ।

२५+२५+५० कार्यक्रम 

युवा जाँगर र उद्यमशीलता प्रयोग गर्न १६ देखि ४५ वर्षसम्मका युवाहरुलाई लक्ष्चित गरी २५+२५+५० को सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याइनेछ । यो वित्तीय लगानी कार्यक्रममा २५ प्रतिशत अंश युवा उद्यमीको आफ्नै लगानी, २५ प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत सहुलियतपूर्ण ऋण सहायता रहनेछ । 

प्रत्येक वडामा बैंकिङ्ग सुविधा 

कांग्रेसले गाउँपालिकाका प्रत्येक वडाहरुमा बैंकिङ्ग सेवा-सुविधा पुर्‍याउने महत्वाकांक्षा अघि सारेको छ। १६ वर्ष नाघेका सबै नागरिकहरुको बैंक खाता खोल्ने आश्वासन कांग्रेसले दिएको छ।

फ्लाइओभर, टनलमार्ग र आकाशेपुलको निर्माण एवं संभाव्यस्थलमा मोनो रेलको निर्माणद्वारा ट्राफिक जाम र भीडको व्यवस्थापनसँगै सहरी प्रदूषण नियन्त्रण गरिने जस्ता महत्वकांक्षी योजना पनि घोषणा पत्रमा उल्लेख छ।

स्थानीय विकास परियोजनाहरु 

वित्तिय संघीयताको मूल मर्म अनुसार नेपाली कांग्रेसले संघीय बजेटको ५० प्रतिशत भन्दा बढी हिस्सा (आगामी आर्थिक वर्षमा करीब ६०० अर्ब रुपैयाँ) सिंहदरबारबाट प्रदेश, गाउँ र नगरपालिकाहरुमा सोझै पठाउने घोषणा पत्रमा उल्लेख छ। 

आधारभूत र माध्यमिक शिक्षा 

प्रत्येक गाउँ र नगरपालिकामा माध्यमिक तहसम्म पूर्ण निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा सर्वसुलभ उपलब्ध गराइने घोषणा पत्रमा उल्लेख छ। १२ कक्षाको अन्तिम परीक्षामा सहभागी भएका युवालाई लक्षित गरी तरूण सीपवृत्ति योजना अन्तर्गत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने कार्यक्रममा संलग्न गरिने र यस कार्यक्रममा देशभरीका न्यूनतम एक लाख युवालाई संलग्न गराइने उल्लेख छ।

प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्ने गरी कार्यक्रम सञ्चालन गरिने कांग्रेसले जनाएको छ। पाँच जना सम्मको एउटा परिवारले वार्षिक रु. २५०० योगदान रकम तिररे सदस्य बनेपछि स्वास्थ्य उपचार आवश्यक पर्दा एक वर्ष भित्रमा रु. ५० हजार सम्मको सेवा पाइने कार्यक्रमलाई देशभर संचालन गरिने घोषणापत्रमा उल्लेख छ। 

प्रत्येक गाउँपालिकामा एउटा एकिकृत ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना गरिने, यी आश्रमहरु सफा, सुविधासम्पन्न र ज्येष्ठ नागरिकको एक्लोपनाको समस्यालाई सम्बोधन गर्ने गरी सम्मानजनक बनाइने, आश्रममा ज्येष्ठ नागरिकलाई आवास, भोजन, स्वास्थ्य, आध्यात्मिक सत्संग, मनोरञ्जन र भ्रमण लगायतका सबै सेवा निःशुल्क उपलब्ध गराइने कांग्रेसको घोषणपत्रमा उल्लेख छ।  ज्येष्ठ नागरिक आश्रमका लागि खडा गरिने कोषमा गरिने नगद योगदान (चन्दा) मा आयकर छुट हुने व्यवस्था गरिनेछ।

सूचना तथा संचार 

स्थानीय समुदायको स्तरमा जनतालाई विभिन्न सूचना, मनोरञ्जन र उपयोगी सीप तथा ज्ञान प्रवाह गर्नका लागि स्थानीय सरकारले एफ.एम.लाई महत्वपूर्ण माध्यमका रुपमा उपयोग गर्नेछ। १०० वाट सम्मका एफ.एम. संचालनको अनुमति दिने, नवीकरण गर्ने र नियमन गर्ने कार्यद्वारा स्थानीय स्तरमा एफ.एम. प्रणालीको बिस्तार गरिनेछ। 
भूकम्प प्रभावित क्षेत्र वा भूकम्प नगएका ग्रामीण क्षेत्रमा भूकम्प प्रतिरोधात्मक घर बनाउन कम्तिमा ५० हजार रुपैयाको प्रोत्साहन अनुदानको व्यवस्था गरिनेछ।

पुरै घोषणापत्र यहाँ पढ्नुहोस् : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.