|
सांकेतिक फोटो

विराटनगर : कटहरी–१ स्थित आदर्श टोलमा गत चैत ४ गते भएको सासु–बुहारीको हत्या हुनुमा पैसा, यौन सम्बन्ध र रोमान्स मुख्य कारण रहेको प्रहरीले ठहर गरेको छ।

इन्द्रचन्द्र डाँगाको श्रीमती दीपा निरौला र छोरा राम डाँगाकी श्रीमती अस्मिता भट्टराईको निधारमा गोली प्रहार गरी हत्या भएको थियो। प्रहरीका अनुसार इन्द्रचन्द्र डाँगाको परिवारसँग मिटर ब्याज रकम लिने र क्यासिनो र सेक्समा रमाउने गरेका कारण विष्णु दिन दुई गुणा रात चौ गुणा ऋणमा डुब्दै गए।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार भारतीय कागजात देखाउँदै नेपालका विभिन्न क्यासिनोमा गएर जुवा खेल्ने विष्णुले इन्द्रचन्द्रसँग लिएको पैसाको सावा तथा ब्याज तिर्नै नसक्ने अवस्थामा पुगेको थियो। यद्यपी विष्णुले कति पैसा तिर्न बाँकी थियो भन्ने कुरा भने प्रहरीले खुलाउन चाहेको छैन।

विष्णु धेरै वर्षदेखि बाहलमा बस्दै आएका थिए। उनका पिताले घरायसी समस्याका कारण करिव चार महिनाअघि विष सेवन गरि आत्महत्या गरेका थिए। विष्णु तीन महिना जति मलेसिया बसेर आएपछि विराटनगर–१२ मा घर खरिद गरेका थिए।

आफूले विदेश गएर कमाएर ल्याएको पैसाले ८२ लाखमा किनेको घर–जग्गा ६१ लाखमा बेचेर पनि उनले पैसा तिर्न सकेका थिएनन्। प्रहरीका अनुसार विष्णुले घर बेचेको ६१ लाखमध्ये २० लाख मात्रै इन्द्रचन्द्र डाँगालाई तिरेका थिए भने अरु पैसा पुनः क्यासिनोमा जुवा खेलेरै सकेका थिए। यसरी दिनदिनै जुवाले घरबारबिहीन बनेका विष्णुलाई इन्द्रचन्द्रको परिवारले समेत पैसा तिर्न दबाब दिँदै आएको थियो।

‘दबाब खेप्न नसकेपछि उनले अपराधिक योजना बनाए,’ प्रहरी प्रमुख भण्डारीले भने, ‘पैसा, सेक्स र रवाफका कारण उनले आफूसँग भएको सबै सम्पत्ति सकेको देखिन्छ।’ प्रहरीका अनुसार कसैलाई पक्राउ नगरी प्रमाण संकलन गरेर अत्यन्तै मेहनत साथ गरिएको उक्त घटनाको अनुसन्धानबाट एकातिर घरबारबिहीन हुनु र अर्कोतिर तिर्नै नसक्ने गरी ऋण लागेपछि विष्णु (आफ्नै भतिज)ले अर्को विकल्प देखेनन्, परिणाम इन्द्रचन्द्र डाँडाकी श्रीमती र बुहारीको हत्या गर्ने योजना बनाए। विष्णुकुमार इन्द्रचन्द्रका भतिजा नाताका हुन्।

उनले आफ्ना साथी शुभम् लखोटियालाई लिएर भारतको फारविसगंज नजिकैको सरायगढ पुगेर पेस्तोल, गोली र म्यागजिन लिएर आएको र विष्णुले आफ्नै घरमा राखेका थिए। केही दिनपछि विष्णु र शुभम्ले हत्या हुनुभन्दा अघिल्लो दिन घरको ‘रेकी’ गरेका थिए। हत्या गर्नुअघि विष्णुले मृतक बुहारी अस्मितालाई एसएमएस गरेर बाहिर बोलाएर शुभमसँग अल्मल्याएको र भित्र गएर सासु दीपालाई गोली हाने र पुनः भित्र बोलाई अस्मितालाई पनि गोली हानेको प्रहरीले दाबी गरेको छ।

हत्यामा संलग्न भएका विष्णु र शुभमलाई मंगलबार जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ। हत्यामा प्रयोग गरिएको पेस्ताल र मृतकको मोबाइल विष्णुको घरमा लुकाएको अवस्था प्रहरीले उतिबेलै फेला पारेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.