|

मणिकुमार श्रेष्ठ-

    इटहरी : इटहरी उपमहानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि दलहरुले घरदैलो अभियान कार्यक्रम सुरु गरेका छन्। तराईको मुख्य सहरसमेत मानिएको इटहरी उपमहनगरमा अहिले गर्मीको जति चाप बढेको छ। त्यति नै राजनीतिक सरगर्मी पनि बढेको छ।

    इटहरीको गल्ली, चोक तथा बजार पसलमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने गरेको छ। सरकारले एक नं. प्रदेशको निर्वाचन दोस्रो चरणमा गर्ने निर्णय गरे तापनि स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु भने निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त भइरहेका भेटिन्छन्।

    सुनसरीको २ नं. क्षेत्रमा पर्ने इटहरी पहिलेदेखि नै नेकपा एमालेको पकड क्षेत्रको रुपमा मानिँदै आएको छ। साबिकको इटहरी नगरपालिकामा पकली, बकलौरी, खनार र हासपोसा गाविसलाई गाभेर इटहरी उपमहानगरपालिका बनेको हो।

    एक नं. प्रदेशको राजधानीसमेत बनाउने चर्चा चल्ने गरेको ८७ वर्ग किलोमिटर क्षेत्रफल भएको इटहरीमा १ लाख ४२ हजार आठ सय एक जनसख्या र ७६ हजारभन्दा बढी मतदाता रहेका छन्। यतिवेला सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरे पनि इटहरीको भावि उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख तथा वडाध्यक्षहरु को होलान् भन्ने विषय सबैको चासोको विषय भएको छ।

    राजनीतिक विश्लेषक तथा जनता क्याम्स इटहरीका लेक्चर मोहन तिम्सिना चुनावी सरगर्मी निकै तातेको छ भन्दै उनी भन्छन्, ‘राजनीतिक दलहरु घरदैलो अभियानमा गइरहेका छन्। इटहरीको स्थानीय तहको चुनावको करा गर्दा हिजोदेखि नै एमालेले वर्चस्व कायम गरेको ठाउँ हो यो। एमालेले इटहरीको चुनाव जितिन्छ भन्ने अति विश्वास रहेको छ। सायद त्यही भएर होला अन्य राजनीतिक दलहरु मोर्चाबन्दी गर्न लागेजस्तो देखिन्छ।’

    स्थानीय चुनाव भनेको व्यक्तित्व हेरिने भएको हुँदा यसमा पार्टी अलिक गौण हुन सक्ने उनी बताउँछन्। तिम्सिना भन्छन्, ‘यो ठाउँमा जतिवटा निर्वाचन भए प्रायः सबै निर्वाचन एमालेले जितेको छ। यसपटक पनि दलहरु एक्लाएक्लै चुनावी मैदानमा आए भने एमालेले जित्ने निश्चित छ।’

    कस्ता छन् नगरप्रमुख–उपप्रमुखका आकांक्षीहरु

    चुनावी माहोल बढ्दै जाँदा दलहरुले आ–आफ्ना उम्मेदवारहरु सार्वजनिक गरिरहेका छन्। सबै दलहरुले उम्मेदवारहरु सार्वजनिक नगरे पनि आकांक्षीहरु भने आफू प्रमुख तथा उपप्रमुखको उम्मेदवार भएको बताइरहेका छन्।

    इटहरीको प्रमुख बन्ने दौडमा अहिले चार दलका विभिन्न नेताहरु चर्चामा रहेका छन्। नेपाली कांगे्रसले प्रमुखको उम्मेदवार सार्वजनिक नगरे पनि उसका इटहरी उपमहानगरसभा पनि हेमकर्ण पौडेलको नाम अग्र पङ्क्तिमा आउँछ। उनी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका विश्वास पात्र हुन्। यसैगरी कांग्रेसमा उनीसँगै क्षेत्रीय सभापति मणिराम श्रेष्ठ र कांग्रेस नेता रोहित प्रसार्इं पनि उम्मेदवार बन्ने कसरतमा रहेका छन्। उनीहरु दुवै जना पार्टी सभापनि देउवा निकटका हुन्। प्रसार्इं सुनसरी उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष हुन् भने मणिराम श्रेष्ठ पार्टी भित्रका इमानदार नेता मानिन्छन्। यसैगरी, उपप्रमुखमा कांग्रेस नेत्रीहरु गीता श्रेष्ठ, विमला सिवाकोटी र रुपा कार्कीको नाम चर्चामा छ।

    यता, आफ्नो पकड क्षेत्र मान्दै आएको नेकपा एमालेले पनि उम्मेदवारको नामवली टुंगो लगाउन सकिरहेको छैन। एमालेभित्र जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी प्रमुखको उम्मेदवार बन्ने दौडमा अग्रपङक्तिमा रहेका छन्। पार्टी अध्यक्ष ओलीनिकट मानिएका उनी थारू समुदायको भएकाले पार्टीले उनलाई नै प्रमुखको उम्मेदवार बनाउने चर्चा पनि भइरहेको छ।

     उनीसँगै प्रमुखको उम्मेदवार बन्ने होडमा रहेका सर्वध्वज सावा इटहरीमा पूर्वमेयरसमेत हुन्। पार्टीको प्रदेश कमिटी सदस्य रहेका उनलाई फेरि उम्मेदवार बनाउने सोचमा पार्टी नरहेको नेताहरु बताउँछन्।

    अर्का प्रत्यासी रामप्रसाद चौलागार्इंको नाम पनि चर्चामा छ। पार्टीको इटहरी उपमहानगर समितिको इन्चार्ज रहेको उनी मध्यमार्गी धारका हुन्। सामाजिक रुपमा राम्रा मानिएको र जनसम्पर्कसमेत राम्रो भएको उनको पार्टीभित्र बलियो पकड हुन नसक्दा पार्टीले उनलाई टिकट दिने सम्भावना कम रहेको विश्लेषकहरु बताउँछन्। एमालेबाट उपमेयरका लागि लक्ष्मी गौतम, अमला श्रेष्ठ, लीला राई, र विष्णु शर्मामध्ये एकजना उम्मेदवार बन्ने चर्चा चलिरहेको छ।

    केही दिनअगाडि पत्रकार सम्मेलन गरी जानकारी दिएको नेकपा (माओवादी केन्द्र) ले भने दुई जना महिलामध्ये एकलाई प्रमुखको उम्मेदवार बनाउनका लागि जिल्ला समितिमा सिफारिस गरेको छ। माओवादी केन्द्रले पोलिटब्युरो सदस्य तथा निर्वाचन परिचालन समिति इटहरीका इन्चार्ज सरस्वति पोखरेल (सारदा) र केन्द्रीय सदस्य विरता किरातीलाई सिफारिस गरेको हो। सारदा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शिवकुमार डाँगीका पत्नी हुन् भने किराती पार्टीको नगर इन्जार्च बहादुरसिंह तामाङको श्रीमती हुन्।

    यसैगरी, माओवादी केन्द्रले उपप्रमुखमा भने पार्टीको केन्द्रीय सदस्य तथा नगरका संयोजक भीमप्रसाद सुवेदी (सागर) लाई सिफारिस गरेको छ। उपमेयरमा सिफारिस गरिएका सागर इटहरीमा विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहनुका साथै उनी नगरविकास समिति इटहरीका अध्यक्षसमेत भइसकेको छन्।

    इटहरी उपमहागरपालिकामा चौथो शक्ति मानिएको राप्रपाले मेयरमा रोहितबहादुर कार्की र उपमेयरमा माया रायमाझीलाई उठाउने तयारी गरेको छ।

    इटहरीको चुनावमा कस्तो समीकरण हुन सक्छ?

    मतदाताको हिसाबले शिक्षितदेखि पैसाको भरमा तथा सामन्य खान दिएको भरमा मत दिने मतदाता इटहरीमा रहेका छन्। नागरिक समाज इटहरीका सचिव राजु केसी भन्छन्, ‘राजनीतिक दलहरु अहिलेको चुनावमा तालमेल गर्ने तयारीमा रहेको छन्।’ उनका अनुसार ‘यहाँका दलहरु एमालेलाई बाहिर राखेर तालमेल गर्न खोजिरहेका छन्।

    अहिले संसद्मा रहेका दलहरुमध्ये नेकपा एमालेबाट रेवतीरमण भण्डारीले यस क्षेत्रमा प्रत्यक्ष जितेका हुन्। पूर्वभूमिसुधार मन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बा पनि यसै क्षेत्रका हुन्। यसैगरी, माओवादीबाट जाकिर हुसेन र विजय गच्छदार नेतृत्व तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद कल्पना चौधरी पनि इटहरी उपमहानगरपालिकामा स्थायी बसोवास भएका नेता हुन्। 

    चुनावी तालमेलको कुरा गर्दा एमाले बाहेकका कांग्रेस–माओवादी केन्द्र–राप्रपा बीचको समिकरण हुन सक्ने सम्भावना रहेको छ। यसैलाई मध्यनजर गरेर माओवादीले प्रमुखमा महिला उम्मेदवार उठाएको बताउन थालेको छन् स्थानीय वुद्धिजीवीहरु। यदि इटहरीमा कुनै पनि दलहरुबीचमा तालमेल नहुने हो र सबैदलले आ–आफ्नो उम्मेदवार लिएर चुनावमा गएको खण्डमा एमालेले नै जित्ने नागरिक समाजका सचिव केसी बताउँछन्।

    तालमेलबारे माओवादी केन्द्रका पोलिटब्युरो सदस्य डम्बर सुवेदी     (हिमाल) ले सम्भावना भएसम्म तालमेल गरिने बताए। एमाले भने कुनै तालमेल नगरी जित्ने अभियानमा छ। विगतको इतिहासलाई कायम राख्नका लागि एमाले लागि परेको छ। यदि कांग्रेस माओवादी र राप्रपा बीचमा तालमेल हुन नसके माओवादी र अन्य साना दलहरुबीचमा तालमेल भएको खण्डमा समेत एमालेलाई असर पर्ने विश्लेषण हुन थालेको छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.