|

 

१. सङ्लो प्यार पिएर प्रेम रसमा आमा कलाकार हौ
सारा सृष्टि प्रपञ्च यो जगतकी आधार हौ धार हौ
बग्छौ स्नेह बनेर रक्त धमनी सर्लक्क धारा ममा
औँसीमा पनि जून झल्मल तिमी आमा तिमी पूर्णिमा।

 

२. आशीर्वाद तिमी तिमी तिमिरकी नौलाख बत्ती तिमी
सारा ज्ञान विवेक वैभव चुली आकाश धर्ती तिमी
माया वा ममता मता र समता गन्तव्य पुग्ने गति 
रोगीका मनरोग रोग सबमा आमा तिमी औषधी।

 

३. आमा साँझ सबेर दूध थुनमा चारा बचेरा तिमी
लोरी गुन्गुन गाउने सुरसुधा सङ्गीत धारा तिमी
साराका घरबार सार सुखको गार्हस्थ्य सारा तिमी
साथै छौ तर छैन झैँ नजिकमा हे दूर तारा तिमी।

 

४. तिर्खा टक्क अडिन्छ गृष्म वनमा आमा बगेको जल
बर्खा माग्दछ मेघ झम्झम झरी आमा तिमी वादल
त्यै बर्खा जब बिघ्न पर्छ बटुवा आमा तिमी ओत हौ
के हो कारण कल्पवृक्ष जननी संसारकी स्रोत हौ?

(लम्सालको भरखरै प्रकाशित नयाँ महाकाव्य ‘धरा’बाट)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.