फिचर

अन्तर्राष्ट्रिय धाविका मीरा राईले सुरु गरिन् कुखुरापालन
SHARES

बैशाख १३, २०७४

    दमक: विश्व प्रसिद्ध अल्ट्रा म्याराथन धाविका हुन् उनी। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको एक दशक लामो सशस्त्र जनयुद्धकी एक योद्धा पनि हुन् उनी। तर लडाकु समायोजनसँगै उनी ‘अयोग्य लडाकु’ घोषित भइन्। 

    समयक्रममा उनी विश्वमै चर्चित धाविका बनिन्। विश्व प्रसिद्ध खेलाडी भए पनि उनले खेल क्षेत्रमा क्षेत्रबाट पैसा कमाउने अपेक्षा भने कहिल्यै गरिनन् रे! ‘खेल क्षेत्रबाट जीवन चलाउन नसक्ने देखेपछि ब्रोइलर कुखुरा पालन व्यवसाय सुरु गरेकी छु’, विश्व प्रसिद्ध अल्ट्रा म्याराथन धाविका मीरा राई भन्छिन्। 

    उनले अहिले झापामा कुखुरा पालन सुरु गरेकी छन्। अहिलेको अवस्थामा जति चर्चित खेलाडीले पनि दैनिक गुजारा चलाउन खेलबाट मुस्किल रहेको उनी बताउँछिन्। ‘खेल क्षेत्रमा त्यो पनि, म्यारथन, यसमा सरकारले लगानी गरेको छैन, खासै कमाइ हुँदैन’, मीरा भन्छिन्, ‘पछिको बाटो हेरेर पनि मैले कुखुरा पालन सुरु गरेकी हुँ।’

    उनी अब झापाकी स्थायी बासिन्दासमेत भएकी छन्। उनले कनकाई नगरपालिका- ३ मा एक कठ्ठा जग्गा किनेर एक तले घर र पोल्ट्री फर्म सञ्चालन गरेकी छन्। उनी आफैँ कृषिको विद्यार्थी भएर पनि कृषि क्षेत्रमा नै लागेको बताउँछिन्। ‘म पनि कृषिकै विद्यार्थी हो, मैले करिब ५ वर्ष अगाडि जेटिए पढेकी हुँ’, उनी भन्छिन्, ‘त्यसैले कृषि पेशामा रमाउन मलाई धेरै मनपर्छ।’ 

    राई विश्व जगतमा आफूले पाएको सफलता पूर्ण नभएको बताउँछिन्। विश्व जगतमा नाम पाए पनि सोचेजस्तो दाम नपाएको र सात जनाको परिवार पाल्नसमेत समस्या हुँदै आएकाले पोल्ट्री फर्म सुरु गरेको उनी बताउँछिन्। आफूलाई कृषि तथा पशुपालनसम्बन्धी विषय मनपर्ने भएकाले बहिनीहरूलाई समेत यही विषय पढाएको बताउँछिन् मीरा। 

    खेल क्षेत्रमा पनि सकुञ्जेल निरन्तरता दिइरहने उनी बताउँछिन्। ‘दौडन नसकेका दिनदेखि घर फर्किएर कृषि पेशामा लाग्नेछु’, मीराको भनाइ छ। 
    उनले झापाको कनकाईमा अरूले दिएको सहयोगबाटै घर बनाएको बताइन्। उनी भन्छिन्, ‘पाँच हजार रुपैयाँदेखि २१ हजार रुपैयाँसम्म रकमले म सम्मान हुँदा यो घर जोडेकी हुँ।’ 

    ‘फार्ममा अहिले पनि दुई सयजति कुखुरा छन्, बेलाबेला आफैं आएर हेर्छु’, उनी भन्छिन्, ‘म नभएको बेला दाजुभाइहरूले हेरिरहनुभएको छ, म पनि खुसी छु।’
    पछिल्लो आठ महिनादेखि दौडमा भाग लिन नसकेको उनी बताउँछिन्। भन्छिन्, ‘देब्रे खुट्टाको नसा चुँडिएर आठ महिनादेखि रेस्टमा छु, आठ महिनाअघि मात्र इटलीमा अप्रेसन गरेको हो।’ 

    आफ्नो पुख्र्यौली थलो भोजपुर भए पनि झापालीहरूको माया असाध्य धेरै पाएर झापाली चेली हुन आएको उनी बताउँछिन्। उनी अरू नेपाली चेलीहरूलाई पनि धावक बनाउने योजनामा रहेको सुनाउँछिन्। ‘नेपाली खेलाडी प्रतिभाहरूको विकासका लागि केही गर्ने योजना छ’, मीरा भन्छिन्, ‘मेरो सफलता त्यति बेला मात्रै सार्थक हुन्छ, जतिबेला म थुप्रै नेपाली चेली मीराहरू जन्माउन सक्छु।’ 

    मुस्ताङ, मनाङ, काठमाडौँलगायतका ठाउँमा आफूले खेल प्रतिभाको विकासका लागि विभिन्न चरणमा विभिन्न प्रतियोगिता र अभ्यासहरू गराइरहेको बताउँदै उनले विश्व प्रतिस्पर्धामा उत्रिन सक्ने खेलाडीहरू उत्पादनमा आफूले ध्यान दिने बताइन्। विदेशी खेलाडीहरुलाई ल्याएर नेपालका जिल्लाहरूमा प्रतियोगिता आयोजना गर्न सके नेपाली खेल र पर्यटन दुवै क्षेत्रको विकास सम्भव हुने पनि उनको बुझाइ छ।

    विदेशका खेलाडीको जस्तो भविष्य नेपालका खेलाडीमा नभएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘विदेशतिर त खेलाडीलाई सबै सरकारले नै व्यवस्था गर्छ, उनीहरूलाई सरकारले नै सेटल गराउँछ तर यता धेरै गाह्रो छ संघर्ष गर्न।’ 

    उनी अहिले २८ वर्षकी भइन्। भन्छिन्,‘ म अहिले २८ वर्षकी तर ५० वर्षसम्म दौडन सक्छु भन्ने आत्मविश्वास उनमा बाँकी नै छ। मीरा नेशनल जियोग्राफिक च्यानलको साहसी वर्ष २०१७ की विजेतासमेत हुन्।

    अयोग्य लडाकु मीरा

    शान्ति प्रक्रियामा आएपछि सेना समायोजनका क्रममा उनी माओवादीकी अयोग्य लडाकु ठहरिन्। सानै उमेरबाट केही गर्नुपर्छ भन्ने सोचकी मीरा कक्षा सातमा पढ्दै गर्दा माओवादीमा लागेकी थिइन्। ‘सानैमा माओवादीमा लागेँ, पहाडमा महिलाले सधैँ मेलापात गर्नुपर्ने, बाहिर कहीँ जान नपाउने’, मीरा भन्छिन्, ‘म यस्तो कुरा चिर्न चाहन्थेँ र माओवादीमा प्रवेश गरेँ।’ भोजपुरबाटै माओवादीमा लागेको र त्यहाँ गएर धेरै कुरा सिकेको उनी बताउँछिन्।

    लडाकु हुँदा आफ्नो काम बन्दुकको सुरक्षा गर्ने रहेको उनी सुनाउँछिन्। भन्छिन्, ‘त्यतिबेला मेरो काम बन्दुकको सुरक्षा गर्ने थियो, म धेरै खुसी थिएँ किनकि मेरो शाखा सन्तानले नचलाएको बन्दुक मैले चलाउन पाएकी थिएँ।’ उनी सेना समायोजनका क्रममा अयोग्य हुँदा धेरै दुःख लागेको बताउँछिन्। ‘त्यतिबेला सबै साथी सेना भएर गए, हामी अयोग्य भएर फर्कनुपर्‍यो, धेरै नराम्रो लाग्यो’ मीराले सुनाइन्।

    समाजमा माओवादीमा लागेको र अयोग्य भएको थाहा भएन

    पहाडी गाउँ भोजपुरको पहाडी गाउँबाट उनी माओवादीको सशस्त्र जनयुद्धमा होमिएकी हुन्। उनी सानै उमेरदेखि घरबाहिर बस्ने गर्थिन्। त्यतिबेलाको समयमा मोबाइल फोनसमेत नभएकाले आफू माओवादीमा लागेको र अयोग्य लडाकु भएको कसैले थाहा नपाएको उनी बताउँछिन्। ‘लडाकु भएर आएपछि धेरैलाई गाउँमा सेटल हुन गाह्रो भयो रे, तर मलाई त्यस्तो भएन’, उनी भन्छिन्, ‘म माओवादीमा लागेको गाउँका छिमीकीलाई थाहा नै भएन।’ 

    सेना समायोजना अयोग्य भएपछि पढाइलाई निरन्तरता दिएको बताउँछिन्। ‘सेना समायोजनमा अयोग्य भएपछि फेरी ८ कक्षादेखि पढ्न सुरु गरेँ, त्यसपछि गाउँबाट एसएलसी पास गरेँ’, मीरा भन्छिन् ‘अनि गाईघाटमा गएर जेटिए पढेँ।’

    यसरी भइन् अल्ट्रा म्याराथन धाविका

    सेना समायोजनका क्रममा अयोग्य भएपछि उनी जस्तै अरू साथीहरूसँग सिन्धुली गइन्। त्यहाँ उनले कराते सिकिन्। खेल क्षेत्रमा सानैदेखि झुकाव राख्ने भएकाले उनले करातेमा पनि उत्कृष्ट प्रदर्शन गरिन्। उनलाई प्रशिक्षक ध्रुवविक्रम मल्लले राम्रो दौडने भएकाले म्याराथनतर्फ लाग्न सल्लाह दिए। उनलाई काठमाडौँमा खानेबस्ने व्यवस्थाका साथै उनकै घरमा बस्ने व्यवस्था मिलाए र प्रशिक्षण पनि दिए। त्यसपछि उनी अल्ट्रा म्याराथन धाविका बनेकी हुन्। 

    उनलाई बेलायती नागरिक रिचार्ड गुल्डले समेत खेल क्षेत्रमा लाग्न सहयोग गरेको उनी बताउँछिन्। सन् २०१४ को सेप्टेम्बरमा इटलीमा भएको प्रतियोगिता उनको जीवनको पहिलो अन्तर्राष्ट्रियस्तरमा भाग लिने अवसर बन्यो। त्यहाँ उनले विश्व विजेता हुँदै रेकर्ड नै तोडिन्। यस्तै मीराले फ्रान्समा भएको ८२ किलोमिटरको म्याराथनको उपाधिसमेत हात पारिसकेकी छन्। 

    उनले हङकङ, फ्रान्स, बेलायतलगायत देशमा समेत प्रथम, द्वितीयलगायतका स्थान हात पार्दै देशको नाम उच्च बनाउन सफल भएकी छन्। आफूले अहिलेसम्म खेलेका खेलबाट अनुभव समेट्न सफल भएकाले अबको दिन अझ खेललाई सुधार गर्ने कार्यमा लगाउने उनी बताउँछिन्।

    काठमाडौंमा मीराको डेरा छैन

    उनी झापा भन्दा पनि धेरै समय काठमाडौँ बस्ने गर्छिन्। तर उनको अहिलेसम्म डेरा छैन। उनले डेरा लिने सोच पनि बनाएकी छैनन्। उनी खेल क्षेत्रमा लाग्न आफूलाई प्रेरणा दिने गुरु ध्रुवविक्रम मल्लकै घरमा बस्दै आएकी छन्। उनी भन्छिन्, ‘सानैदेखि ध्रुव गुरुकैमा बसेँ, अझै पनि त्यहीँ बस्दै छु।’ कहिलेकाहीँ साथी कराते खेलाडी अनुपमा मगरको डेरामा पनि बस्छिन् मीरा। ‘उहाँहरू भन्दा टाढा जान मनलाग्दैन त्यसैले डेरा नलिएको हो’, मीरा भन्छिन्।

चिरञ्जिबी घिमिरे

पत्रकार घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]