|

लहान : दलालको फन्दामा परेर परिवारबाट तीन वर्ष बिछोडिएका सिरहाका एकजना बालकलाई उद्धार गरी भारतको बिहारको मुझफ्फरपुरस्थित बाल गृहसँगको समन्वयमा सम्बन्धित परिवारको जिम्मा लगाइएको छ। सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका २ सोठियाइनका १२ वर्षीय सञ्जयकुमार सदायलाई बुधबार लहानमा सम्बन्धित परिवारको जिम्मा लगाइएको हो। उनलाई बाबु जगदेवसदाय र आमा डोमनी सदायले जिम्मा लिएका छन्।

‘छोरा फर्किएला भन्ने आशा थिएन, संस्थाले छोरा खोज्न सहयोग गरेर जिम्मा लगाउँदा सपना जस्तो लागेको छ’ सञ्जयका बाबु जगदेवले आँसु झार्दै भने। उनले गरिब विपन्न परिवारका भएकाले कृषि मजदुरी गर्न गाउँबाहिर गएका बेला दलालले फकाएर भारत पुर्‍याएका छोरालाई तीन वर्षसम्म भेट्न नपाउँदा फर्किने आशा मारिसकेको सुनाए।

सोठियाइन गाउँकै जमिर मियाँमार्फत दक्षिण भारतको मुम्बईमा पुर्‍याएर निकृष्ट श्रममा लगाइएका उनलाई मुम्बई प्रहरीले उद्धार गरी स्थानीय बाल गृहमा राखेर तीन महिनाअघि भारतको मुझफ्फरपुरस्थित बालगृह सिकन्दरपुरमा पठाएपछि जिल्ला बाल–कल्याण समिति सिरहा र लहानस्थित दलित संरक्षण अभियान मञ्चको समन्वयमा सदायलाई सिरहा ल्याएर परिवारको जिम्मा लगाइएको हो।

उनलाई काठमाडौंस्थित छोराछोरी नेपाल नामको संस्थामार्फत् नेपाल ल्याएर समिति र मञ्चलाई बुझाइएको कार्यक्रम संयोजक सूर्यनारायण रामले जानकारी दिए।मञ्चले जिल्ला बाल–कल्याण समितिसँग समन्वय गरी गत भदौमा पनि मुझफ्फरपुरस्थित बालगृह सिकन्दरपुरबाट चारजना बालकहरुलाई सिरहा ल्याएर सम्बन्धित परिवारको जिम्मा लगाएको थियो।

स्थानीय बाल गृहको पत्र देखाउँदै रामले भने ‘भारतको मुम्बई, चम्पारण, बैंगलोर, पटना, सीतामढी लगायतका ठाउँमा निकृष्ट बाल श्रमको काम गर्न बाध्य बनाइएका नेपालका २२ जना बालकहरुलाई भारतीय प्रहरीले उद्धार गरी सिकन्दरपुरस्थित बालगृहमा राखेको पाइएको छ। उक्त बालगृहमा रुकुम, कालिकोट, नवलपरासी, बाँके, दार्चुला, पर्वत, काभ्रे, सिन्धुपाल्चोक, दैलेख, रौतहट, धनुषाका बालकहरु रहेको स्थानीय बाल गृहलाई उद्धृत गर्दै रामले बताए।

महिला तथा बालबालिका कार्यालय सिरहाकी प्रमुख तथा जिल्ला बाल–कल्याण समितिकी जिल्ला बाल–कल्याण अधिकारी अनिता तामाङले चालु आर्थिक वर्षको चैतसम्म नौ महिनाको अवधिमा केन्द्रीय बाल–कल्याण समिति, महिला तथा बालबालिका मन्त्रालयको समन्वयमा सिरहाका १४ जना बालबालिकाको उद्धार गरी सम्बन्धित परिवारको जिम्मा लगाइएको छ।

‘राम्रो कमाइ हुन्छ’ भन्दै आर्थिक प्रलोभन दिएर दलालले सीमा कटाएका जिल्लाका बालबालिकाहरुको संख्या यकिन भन्न नसकिने जानकारी दिँदै तामाङले त्यसका लागि आभिभावकहरु नै सजग नभएसम्म संघ–संस्था, सरकारी निकाय र प्रहरील मात्र बालबालिका ओसारपसार नरोकिने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.