|

भारतका चर्चित उपन्यासकार चेतन भगतमाथि बौद्धिक चोरीको आरोप लागेको छ। भगतको नयाँ उपन्यास 'वन इंडियन गर्ल' बौद्धिक चोरीको आरोपमा फसेको हो। यस उपन्यासलाई अदालतले १ जुनसम्म बिक्रीमा रोक लगाएको छ।

लेखिका एवं अनुसन्धाता अन्विता बाजपेईले भगतमाथि बौद्धिक चोरीको आरोप लगाउँदै बैंगलोरको एक अदालतमा मुद्दा दाखिला गरेकी थिइन्। भगतविरुद्ध परेको मुद्दामा अदालतले अन्विताको पक्षमा फैसला सुनाएको छ।

भगतको उपन्यास 'वन इंडियन गर्ल'मा आफ्नो पुस्तक 'ऑड्स एंड एंड्स' को एक छोटो कथा मिलेको अन्विताको आरोप छ। उनले यो किताब सन् २०१४ मा प्रकाशित गरेकी थिइन् भने भगतले सन् २०१६ मा उपन्यास 'वन इंडियन गर्ल' लेखेका थिए।

'कुनै पनि दुईओटा कथामा यति धेरै समानता हुनै सक्दैन', अन्विताले बीबीसीसँग भनेकी छन्, 'चेतन भगतको उपन्यासको कथा मेरो पुस्तकको कथा जस्तै छ।'

लेखिका एवं अनुसन्धाता अन्विता बाजपेई

चेतन भगतले भने अन्विताले लगाएको आरोप अश्वीकार गरेका छन्। भगतले अन्विताको आरोप झुठा भन्दै फेसबुकमा लेखेका छन्, 'म नित्तान्त मौलिक कथाहरु लेख्छु, उपन्यास 'वन इंडियन गर्ल' पनि नित्तान्त मौलिक कथा हो, चोरीबारे म सोच्नसम्म सक्दिनँ।'

अदालतले भने अन्विताको भनाइमा सत्यता रहेको निष्कर्ष निकालेको छ। उसले भनेको छ, 'निवेदक बाजपेईको आरोपमा दम छ। यदि 'वन इंडियन गर्ल'को बिक्रीमा अस्थाई रोक नलाउने हो भने यो मुद्दाको किनारा लगाउन मुस्किल हुनेछ र बाजपेईलाई भर्पाई दिन नसकिने क्षति हुनसक्छ।' उक्त मुद्दाको अर्को सुनुवाई १ जुनमा तोकिएको छ।

बाजपेईले भनेकी छन्, 'मेरो कथाकी मुख्य  पात्र एक महिला छ जसका तीन केटासाथी हुन्छन्। अन्तत: उसको विवाह तेस्रो केटासाथीसँग हुन्छ र अन्य दुई केटासाथी पनि विवाहमा आउँछन्। चेतन भगतको उपन्यासमा महिलाको नाम आलियाबाट बदलेर राधिका राखिएको छ, अरु कथा उस्तै छ।'

चेतन भगतले भने यो मुद्दामा प्रकाशकको कानुनी टोली काम गरिरहेको बताएका छन्। उनले भनेका छन्, 'म र पाठकबीच विश्वासको सम्बन्ध रहेको छ। जुन सम्बन्धसँग म कहिले पनि सम्झौता गर्न सक्दिनँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.