|

काठमाडौं : सत्तारुढ दलका सांसद्हरुको लापरवाहीका कारण संविधान संशोधन विधेयक प्रस्ताव बल्लतल्ल संसद्‍मा अघि बढेको छ। विधेयक प्रस्ताव सभामुखले प्रस्तुत गर्नका लागि बैठकमा कुल सांसद्‍ सदस्यको १ चौथाई अर्थात १ सय ४९ जना उपस्थित हुनुपर्ने प्रावधन रहेकोमा १ सय ५१ जनाको उपस्थितिमा विधेयक अघि बढेको हो।  १ सय ५१ सांसद् सदस्य पुर्‍याउनका लागि पनि सभामुखले आधा घण्टाभन्दा लामो समय बैठक स्थगित गर्नुपरेको थियो।

८: ३० बजे सुरु भएको बैठकमा कानुनमन्त्री अजयशंकर नायकले 'संविधान संशोधन विधेयकमाथि विचार गरियोस्' भन्‍ने प्रस्ताव पेश गरेका थिए। मुख प्रतिपक्षी एमालेसहित अन्य दलहरुका सांसद्हरु त्यस प्रस्तावको विपक्षमा देखिएपछि मन्त्री नायकले संशोधन विधेयकलाई राष्ट्रघातका रुपमा लिन नहुने बताए।

त्यसपछि बैठकमा यस प्रस्ताव पेश गर्न सभामुखले अनुमति मागिन्। नेमकिपाका सांसद् प्रेम सुवालले गणपुरक संख्या १ चौथाई नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए। सभामुखले सांसद्को संख्या गन्न थालिन्। एक चौथाई पुग्नका लागि सांसद् सदस्य १ सय ४९ हुनुपर्छ। तर संसद् बैठकमा ३ मिनेटसम्म घण्टी लगाउँदा १ सय २८ जनामात्रै देखिए। सभामुखले संसद् आधा घण्टाका लागि स्थगित गरिन्।

नेपाली कांग्रेसका सांसद्‍ रामहरि खतिवडाले संविधान संशोधन प्रस्तावमा सत्तापक्षका सांसद्हरु गम्भीर नदेखिएको बताए। ' सत्तापक्षका सांसद्हरु संविधान संशोधन विधेयकका सवालमा गम्भीर नभएजस्तो देखियो। यो निकै महत्वपूर्ण विधेयक हो,' संसद् बैठक आधा घण्टा स्थगित भएपछि थाहाखबरसँग कुरा गर्दै उनले भने।

बैठकमा सभामुखले प्रस्ताव  पेश गर्दै-गर्दा  सत्तापक्ष मात्रै नभएर प्रतिपक्षी एमालेका सांसद् तथा शीर्ष नेताहरु समेत अनुपस्थित थिए। महत्वपूर्ण मानिएका कारण राति अबेर बैठक सुरु गरिएपनि प्रमुख पार्टीका शीर्ष नेता तथा अधिकांश नेताहरु बैठकमै उपस्थित भएनन्।

आधा घण्टापछि फेरि बैठक सुरु भयो। सभामुखले प्रस्ताव पेश गर्न लागिन्। यसपटक पनि संसद्‍मा अवस्था उस्तै थियो। नेमकिपाका प्रेम सुवालले फेरि गणपुरक संख्या नपुगेको भन्दै ध्यानाकर्षण गराए। यसपटक गन्दा सांसद् संख्या १ सय ५१ पुग्यो। अर्थात चाहिनेभन्दा २ बढी। अनि बल्लतल्लत अघि बढ्यो संविधान संशोधन विधेयक प्रस्ताव।

अब आइतबार संसद्को अर्को बैठक बस्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.