|

  • गोविन्द महतो-

जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टकै क्लिनिक अवैध रहेको पाइएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरीक्षण यादवको कृष्णा नर्सिङ होम दर्ता विना नै दुई दशकदेखि सञ्चालन भइरहेको छ।

यादवले सञ्चालन गरेको नसिङ होमको कुनै रेकर्ड जिल्ला जनस्वास्थ्य कार्यालयमा नरहेको कार्यालयका अधिकृत मुन्द्रिकाप्रसाद ठाकुरले बताए। नर्सिङ होमको मूल गेटमा आर्थिक वर्ष २०५२/०५३ मा स्वास्थ्य सेवा बिभागबाट ६४६ नम्बर दर्ता प्राप्त गरेको लेखिएको भएपनि जनस्वास्थ्य कार्यालयमा भने दर्ताको कुनै जानकारी नै छैन।

सो नर्सिङ होमको बारेमा जिल्ला जनस्वास्थ्य कार्यालयमा कुनै रेकर्ड नरहेको अधिकृत मुन्द्रिकाप्रसाद ठाकुरले दावी गरे। उनले भने 'निजी स्वास्थ्य संस्थाको दर्ता होस् वा नवीकरण, जिल्ला जनस्वास्थ्य कार्यालयले सिफारिस अनिवार्य चाहिन्छ, तर कृष्णा नर्सिङ होमले अहिलेसम्म कुनै सिफारिस लगेको छैन।' उनले जिल्ला प्रशासन कार्यालयको सहयोगमा एक पटक अनुगमन गरेको र फेरि अनुगमन गरी अवैध स्वास्थ्य संस्थालाई कारवाहीको दायरामा ल्याउने बताए।

यादवले भने कृष्णा नर्सिङ होम अवैध नरहेको बताएका छन्। उनले भने 'मेरो नर्सिङ होम दर्ता छ।' उनले जनस्वाथ्य कार्यालयका कर्मचारीहरुले दर्ताको फाइल गायव गरिदिएको उनले आरोप लगाए।

देशभरका सरकारी अस्पतालमा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बहिरंग सेवा अनिर्वाय सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन छ। तर अञ्चल अस्पतालका मेसु डा. रामपरीक्षण यादव दिउँसो १२ बजेदेखि नै आफ्नो नर्सिङ होममा हुन्छन्।  'मेसु यादव विहान ८ देखि १० र मध्यान्ह १२ बजेदेखि २ बजेसम्म नर्सिङ्ग होममा बस्नु हुन्छ'  मेसु यादवले सञ्चालन गरेको नर्सिङ होममा कार्यरत अनमी बबिता कुमारी चौधरीले बताइन्। उनका अनुसार सो समय बाहेक विरामीको चाप बढेमा अधिकांस समय नर्सिङ होममै दिने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.