|

प्राचीन ग्रिसेली काव्यशास्त्रका विषयमा अरस्तुको ‘पोएटिक्स’को एउटा महत्त्वपूर्ण पाटो इतिहास र कविताको शक्ति र सीमामा केन्द्रित छ। अरस्तु सर्वथा कविताको सर्वोच्चताको पक्षमा वकालत गर्दछन्। उनी भन्छन्, ‘विगतमा के भयो भन्ने कुराको लेखाजोखा गर्नु कविको सरोकारको विषय होइन, तर भोलि के हुनसक्छ, त्यो कविको सरोकारको विषय हो।’ 

हुने कुरा, सम्भावना र आवश्यकताका सिद्धान्तले निर्देशित गर्दछ। इतिहासकार र कवि गद्य र पद्यमा लेख्ने कारणले भिन्न हुने होइनन्। तर, एउटा बितेका कुरा भन्छ, अर्को भावी दिनका कुरा गर्छ। त्यसैले कविता बढी दार्शनिक हुन्छ र इतिहासभन्दा बढी ध्यानयोग्य पनि हुन्छ। कविताले सार्विक कुरा गर्छ, तर इतिहासले विशिष्टीकृत कुरा। कवि तथा गीतकार डा. नवराज लम्सालको महाकाव्य ‘धरा’को एउटा महत्त्वपूर्ण तर्क यही छ, ‘जो इतिहासले गर्न सक्दैन, त्यो कविताले गर्छ।’

उनको हृदयको कोमलता, व्यवहारको सरलता, अध्ययनको गाम्भीर्य र चिन्तनको उच्चताको समागम हो ‘धरा।’ स्वरूपमा लालित्यपूर्ण लोक नेपाली र शास्त्रीय भाष्य र कथ्यमा देश, लम्सालको काव्यसाधनाका दुई विशिष्ट परिचायक रहँदै आएको कुरा उनका अधिकांश पाठकलाई थाहै छ। चाहे ‘पाइलैपिच्छे सगरमाथा’का गद्य कवितामा हुन्, चाहे ‘आगो छोपेर कतिञ्जेल।’ 

काव्यका धरै विलक्षण क्षमतामध्ये एक यसको भविष्यदृष्टि हो, जसले कवितालाई सधैँ दर्शनको नजिक लगेर उभ्याएको हुन्छ। हुनत ‘दर्शन’ भन्नु नै भविष्य दर्शन र पराभौतिक यथार्थको विश्लेषण न हो, जसको क्षमता आधुनिक ग्रन्थहरूमध्ये कविताले जति अरू कुनै विधाका साहित्यले राख्दैन। त्यसैले दर्शनशास्त्रहरू, जो विविध कारणले आममान्छेको पहुँचभन्दा सधैँ माथि रहे, कवितमामै सरलीकृत र तरलित हुँदै आममान्छेको साझा सम्झना र साझा अवचेतनमा अनुदिन भएर बग्दै आएका हुन्। त्यसैले बृहत् सामाजिक प्रभावको हकमा भन्ने हो भने दर्शनशास्त्रले भन्दा कविताले बढी प्रभावित पारेको छ मानवजातिलाई, समयको इतिहासभरि। 

काव्यको उच्चताको अनुष्ठानका लागि यो एउटा बलियो आधार हो। ‘पाइलैपिच्छे सगरमाथा’ र ‘आगो छोपेर कतिञ्जेल’ जस्ता कवितासङ्ग्रह, ‘धूनभित्र धूनबाहिर’ जस्ता छापामा मुद्रित तथा रेकर्डमा सङ्गृहीत सयौँ गीत र ‘कर्ण’ जस्तो महाकाव्यमा यसअघि नै पोखिएका लम्साल स्वभावैले कवि हुन्। कवि वा कविता हुनका लागि ‘स्वाभाविकता’ कुनै ठोस मापदण्ड छैन, तर एक सर्जकलाई कवि हुन र उनको सिर्जना कविता हुनमा कुनै नैसर्गिक लालित्य, स्वाभाविक कोमलता, अतिशय संवेदनशीलता र सार्विक मानवीय चिन्तनको प्राचुर्य अपेक्षित हुन्छ। यी अपेक्षा लम्सालले स्वभावले, कर्मले, चिन्तनले, अध्ययनले र लेखनले सधैँसधैँ पुष्टि गर्दै आएका हुन्। 

उनको हृदयको कोमलता, व्यवहारको सरलता, अध्ययनको गाम्भीर्य र चिन्तनको उच्चताको समागम हो ‘धरा।’ स्वरूपमा लालित्यपूर्ण लोक नेपाली र शास्त्रीय भाष्य र कथ्यमा देश, लम्सालको काव्यसाधनाका दुई विशिष्ट परिचायक रहँदै आएको कुरा उनका अधिकांश पाठकलाई थाहै छ। चाहे ‘पाइलैपिच्छे सगरमाथा’का गद्य कवितामा हुन्, चाहे ‘आगो छोपेर कतिञ्जेल।’ 

डा. नवराज लम्सालका गद्य कवितामा हुन्, अथवा भनौँ प्रयोगशील ‘कर्ण’ महाकाव्यमै हुन्, लम्सालले कोमल र लालित्यपूर्ण नेपाली भाषाको कलेवरमा देशै लेखे र सधैँ त्यो देश व्यवस्थाले छुन नसकेको आमनेपाली नागरिकको दृष्टिबिन्दुबाटै लेखे। उनले देश भन्नु नै नागरिकहरूको एक समष्टिको रूपमा कल्पना गरे र त्यस समष्टिको पूर्ण अध्ययनलाई आफ्नो काव्यसाधनाको उत्कर्षको रूपमा परिभाषित गरे। त्यसैले उनको कवि र कविताले क्रमशः राष्ट्रिय आकार लिँदै गयो र त्यस राष्ट्रिय आकारको चौघेरामा उभिएर डा. लम्सालले बृहत्तर मानव कल्याणको परिकल्पना गरे। 

कविको यो क्रमिक बिस्तार, उध्र्वगामी चेतना बिस्तार र सततः बिस्फारित दृष्टिविन्दु उनको काव्यसरोवरको निस्सिम बिस्तारको प्रत्याभूति हो। राष्ट्रिय आकार लिएका धेरै कविहरू गणतन्त्र घोषणापछि जात, पात, वाद, क्षेत्र, वर्ग, दल आदिमा खण्डीकृत हुँदै चुह्लो–चौकोमा खुम्चँदै गएको सन्दर्भमा डा. लम्सालको यो क्रमिक बिस्तार र उध्र्वगामी चेतना आफैँमा एक स्तुत्य कुरा हो। ‘धरा’भित्र के छ, त्यो प्रबुद्ध पाठकको सम्यक् पठन र विश्लेषण क्षमताले नै निरूपण गर्नेछ। तर, ‘धरा’ कुन सैद्धान्तिक पृष्ठभूमिको जगमा उभिएको छ र यसले कसरी प्राच्य चिन्तनधारालाई समकालीन पश्चिमी र पूर्वीय विचारपद्धतिको सापेक्षतामा पुनर्पठन गर्छ। त्यसको छलफल यस लेखको विषयवस्तु हो। 

प्रथमतः ‘धरा’ले व्यक्तिको पहिचान र राष्ट्रको पहिचानलाई पृथकमा हेरेको छैन। राष्ट्रको पहिचानभित्र व्यक्तिको पहिचान निहीत भएको तर्क यसको छ। यस अर्थमा राष्ट्रकै हितविपरीत स्थापित कुनै पनि पहिचानका विरुद्ध एक सशक्त काव्यिक हुङ्कार पनि हो, ‘धरा।’ पछिल्लो समय, राष्ट्रिय योजक र मानविन्दुहरूको समिधा बालेर केही राजनीतिक स्वार्थका लागि रचिएको विद्वेषको जगमा आफ्नो पहिचानको डङ्का बजाउने प्रवृत्तिमाथि यो एक कसिलो सैद्धान्तिक र काव्यिक जवाफ पनि हो। कवि लम्सालको बुझाइमा आफू र देशको सम्बन्ध यस्तो छ– कलाकारको कला र रङ जस्तो बाँसुरी र धून जस्तो घाम र किरण जस्तो अद्वैत सम्बन्ध र सीमा जस्तो देश र म, म र देश जस्तो एकत्वभाव र एकाकार जीवन र प्राण जस्तो! 

डा. लम्सालको यो तर्क फेरि पनि प्राच्य चिन्तनको अद्वैत चिन्तनपद्धतिको एउटा सुन्दर र काव्यिक अभिव्यक्ति हो, जसको जग हामी विभिन्न प्राचीन ग्रन्थमा पाउँछौँ। ‘अथर्ववेद’को बाह्रौँ काण्डको एउटा ठूलो हिस्सालाई ‘भूमिसूक्त’ भनिएको छ, किनकि त्यसले भूमि र नागरिकको अन्योन्याश्रित सम्बन्धको बिस्तृत चर्चा गरेको छ। यसैमा भनिएको छ ‘सा नौ भूमिर्विसजतां माता पुत्राय मे पयः’ अर्थात् ‘मातृभूमि! म पुत्रका लागि दूध आदि शक्तिप्रदायी पदार्थ प्रदान गर।’

यो नागरिक र राष्ट्रबीच माता–पुत्रको सम्बन्धको परिकल्पना हो। यसैमा भनिएको छ, ‘माता भूमिः, पुत्रो अहं पृथिव्याः’ अर्थात्, ‘यी भूमि मेरी आमा हुन् र म उनको पुत्र।’  ‘यजुर्वेद’कै दशौँ अध्यायमा मातृभूमिको वन्दनामा भनिएको छ, ‘पृथ्वी मातर्मा हिंसार्मा अहं त्वाम्।’ अर्थात्, ‘हे मातृभूमि! न तिमी हामीमाथि हिंसा गर्न सक्छ्यौ, न त हामी तिमीमाथि हिंसा गर्न सक्छौँ।’ 

देश र नागरिकको सम्बन्ध माता–पुत्रको भएपछि त्यसमाथि गरिने कुनै पनि तर्कको खासै अर्थ हुँदैन। ‘धरा’ले यस विशिष्ट र वात्सल्यपूर्ण सम्बन्धको परिकल्पना गरेको छ। व्यक्ति स्वयं देशभित्र एकाकार भएपछि व्यक्तिगत स्वार्थ र पहिचानका कुराहरू राष्ट्रिय स्वार्थ र पहिचानभित्र निहीत हुनु सर्वथा स्वाभाविक कुरा हो। परिकल्पना यो हो, राष्ट्र भूगोल मात्रै होइन। भूगोल पनि हो र त्यस भूगोलका नागरिकले निर्माण गरेको त्यो अमूर्त जीवनपद्धति र अधिरचना पनि हो, जसमा चिन्तन, दर्शन, इतिहास, धर्म–संस्कृति, एक वृहत् वाग्धारा र एक विशिष्ट विश्वदृष्टि पर्दछ, जसको जगमा नै यसका नागरिकहरू परिभाषित हुन्छन्। 

भूगोल हुनु, नागरिक पनि हुनु, तर यो अमूर्त अधिरचना नहुनु, वा त्यसमाथि नागरिकको आस्था नहुनु कुनै पहिचानै नहुनु पनि हो। राष्ट्रको त्यो अमूर्त अधिरचना साझा आस्था र प्रयासबाट निर्मित हुने हो र त्यसको निर्मिति नै नागरिकको राष्ट्रिय पहिचानको निर्मिति हो। साझा राष्ट्रिय सङ्कल्पनाको डोरीमा उनिएका विशिष्ट र निजी पहिचानका रङ्गहरूको इन्द्रेणी हो त्यो राष्ट्रिय पहिचान, जसभित्र हरेक विशिष्टतालाई उत्घाटन गर्ने क्षमता हुन्छ। तर खण्डखण्डमा विभक्त नागरिकहरूका आआफ्ना बेताल दावीहरू न आफ्नै हितमा हुन्छन्, न त देशहितमा। धरा भन्छ–  पाइला–पाइलामा खण्डहर भएर बाँच्ने मान्छे कतै काम लाग्दैन देशलाई पनि र मान्छे स्वयंलाई पनि।

नागरिक–राष्ट्र ऐक्यको यो जग ‘धरा’ को एक बलिष्ठ वैचारिक जग हो। यस जगमा टेकेर आफूले बाँचेको जमिनको समग्रतालाई इतिहास, धर्म, दर्शन, समाज, श्रम, सीप, गीत, सङ्गीत, संस्कृति र परम्परामार्फत् पहिचान गर्नु, सिँगार्नु, उठाउनु, प्रवद्र्धन गर्नु र आफ्नो भूगोललाई गौरव गर्नलायक भूमि बनाउनु ‘धरा’ले परिकल्पना गरेको राष्ट्रध्येय पनि हो। कविलाई हेक्का छ, पुर्खाले आफ्नो पौरख, पराक्रम, सीप र कलाले यस देशलाई नसिँगारेका होइनन्। यस देशसँग आफ्नो एउटा प्राचीन गौरव नरहेको होइन। हिन्दू, बौद्ध, किरात र अनेकन प्रकृति उपासकका धर्मको जग हो यो भूमि, जसका बलिष्ठ अभिलेख यहीँ रचिएका वेद, पुराण, उपनिषद्, त्रिपिटक, मुन्धुम र अन्य दार्शनिक ग्रन्थहरू हुन्। तिनीहरूले समेटेको परा–अपरा ज्ञानधारा यस देशको प्रचीन गौरवको ज्ञानकोश हो। परा वेद र पुराणहरूले कल्पना गरेको ज्ञानधारा हो, जसमार्फत् व्यक्तिले यस भौतिक जगत्को ज्ञान हासिल गर्दछ।

भूगोल, नागरिक–निर्मित अधिरचना, जीवनपद्धति र ज्ञानधाराले उठाउने अन्तिम उत्कर्ष भनेको मानिसको चेतना हो। जबसम्म चेतना उठ्दैन, देश उठ्दैन भन्ने तर्क ‘धरा’को सबैभन्दा बलिया तर्कहरूमध्ये एक हो। काव्यकारको तर्क छ, ‘नागरिकको चित्त नसङ्ली सङ्लिन्न कुनै देश।’

अपरा उपनिषद्, विशेषगरी छान्दोज्ञ उपनिषद्ले कल्पना गरेको त्योे ज्ञानधारा हो, जसबाट पराभौतिक र आत्मिक ज्ञान बटुल्दै मान्छे ब्रह्मतत्त्वमा उत्घाटित हुनसक्दछ। महामृत्युञ्यमा कल्पना गरिएको ‘मृत्योर्मुक्षियमामृतत्’ अर्थात् जन्म र मृत्युको बन्धनबाट मुक्त हुने अमृतको व्यावहारिक बाटो प्राचीन नेपाली धर्मग्रन्थले यिनै परा–अपरा, विशेषगरी अपरा ज्ञानधारामा निहीत रहेको तर्क गरेका छन्। भन्नुको तात्पर्य, यस देशको मौलिक चिन्तनपद्धतिमा त्यो उच्चता छ, जसले मान्छेलाई मोक्षको बाटोसम्म पनि निर्देशित गरिदिन सक्दछ। 

आखिर, संसारभरका दर्शनको कसरत यही पाटो पत्ता लगाउनुमा छ। संसारमा अन्यन्त्र एउटै कोक्रोबाट उठेका धर्मका हिमायतीबीच सधैँ धर्मयुद्ध र काटमार हुँदै आएको हामीले देखेका छौँ। अधिकांश पाश्चात्य धर्महरूको हकमा आज पनि सम्बन्ध चिसो नै छ। तर नेपालमा हुर्केका हिन्दू, बौद्ध, किरात र अनेकन प्रकृति उपासकहरू आज पनि एक ढिक्का छन्। देवी–देउता र चाडपर्व साटासाट गरेर बसेका छन्, एकअर्काका देवी–देउतालाई अवतार स्वीकार गरेर बसेका छन् र साझा नेपाली चिन्तनधारामा ज्ञानगङ्गाको अघ्र्य चढाइरहेका छन्। यसको कारण पनि यो हो, नेपालमा हुर्केका अधिकांश धर्मदर्शन एउटा साझा जगबाट उठेका छन् र त्यो जग नेपालको मौलिक दार्शनिक जग हो, जसलाई ‘सनातन’ नाम दिन सकिन्छ। यो कुनै पनि धर्मभन्दा माथिको एक सर्वसमावेशी र साझा नेपाली परिकल्पना हो। 

भूगोल, नागरिक–निर्मित अधिरचना, जीवनपद्धति र ज्ञानधाराले उठाउने अन्तिम उत्कर्ष भनेको मानिसको चेतना हो। जबसम्म चेतना उठ्दैन, देश उठ्दैन भन्ने तर्क ‘धरा’को सबैभन्दा बलिया तर्कहरूमध्ये एक हो। काव्यकारको तर्क छ, ‘नागरिकको चित्त नसङ्ली सङ्लिन्न कुनै देश।’ चित्त भन्नु र चेतना भन्नु एकै हो, यस सन्दर्भमा। र यो चेतनाको सङ्ल्याइ त्यो ईश्वरीय प्राप्ति हो, जसमा मान्छेले आफू स्वयंको, देशको र अरूको हित एकाकार भएको पाउँछ।

चेतनालाई ‘श्रीमद्भगवद गीता’ले ईश्वररूप मानेको छ र विभूति योगमा कृष्णले प्राणीहरूमा ईश्वररूप भनेको उसको चेतना भएको कुरा अर्जुनलाई बताएका छन्– वेदानां सामवेदोऽस्मि देवानामस्मि वासवः इन्द्रियाणां मनश्चास्मि भूतानामस्मि चेतना।। (अध्याय १०, श्लोक २२) यसको अर्थ हो, वेदहरूमा श्रेष्ठतम म (ईश्वर) सामवेद हुँ, देवतामा देवराज इन्द्र हुँ, इन्द्रियहरूमा म मन हुँ र प्राणीमा म चेतना हुँ। यहीँबाट स्थापित हुन्छ, प्राणीको सर्वोच्च सत्ता चेतनसत्ता हो र त्यो ईश्वररूप हो। 

डा. लम्सालले आफ्नो खोज र काव्यिक साधनाको साक्षी एउटा चौतारोलाई बनाएका छन्, जसलाई उनले ‘चित्तचौतारो’ भनेका छन्। पुनः उनको ‘चित्तचौतारो’ चैतन्य स्वरूप समाधिको स्थल हो, जहाँ सत्यबाहेक अरू केही कुरा पनि उद्घाटित हुँदैनन्। त्यस चित्तचौतारोमै आफ्ना भ्रम, विभ्रम, अज्ञान र खोजहरूको निरूपण खोज्नु आफैँमा त्यस उच्च चेतनसत्ताको काव्यिक अनुमोदन हो। यसमा एक खास्सा कुरा पनि छ, त्यो चित्तचौतरोको परिकल्पना पीपलको रूखमुनि गरिएको छ। पुनः एकपल्ट भागवत् दर्शनमा तानिएको छ ‘धरा’, जसले संसार र चेतनाको सम्बन्ध पीपल र त्यसको जराको सम्बन्ध जस्तो परिकल्पना गरेको छ। 

श्रीमद्भगवद् गीतामा भनिएको छ, ऊध्र्वमूलमधः शाखामश्वत्थं प्राहुरव्ययम् छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित्। (अध्याय १५, श्लोक १) अर्थात्, संसार त्यो पीपल हो, जसको सृष्टिको स्रोत अर्थात् जरा माथि हुन्छन् र त्यसका वेद र सृष्टिरूपी शाखा तल हुन्छन्।

जसले यस ब्रह्मसत्यलाई बुझ्यो, वेदवेत्ता पनि उही हो। यस अर्थमा र धेरै अरू अर्थमा पीपललाई सृष्टिको प्रतीक मानिएको छ। त्यसै पीपललाई आफ्नो काव्यसाधना र खोजको साक्षी बनाएर डा. लम्सालले आफ्नो काव्यलाई पुनः एकपल्ट प्राचीन पौरस्त्य चिन्तनसँग जोडेका छन्। यस यथार्थको बोधतिर लाग्नु पर्ने बेलामा मान्छे पीपलको सतही ज्ञान र शोषणप्रति लागेकोमा कविको उग्र असन्तुष्टि छ–

कहाँसम्म पुगेको छ पीपल वृक्षको जरा 
जरा बिर्सी सधैँ देख्छु पात गन्ने परम्परा। 

अर्थात्, मूल बिर्सेर अभिव्यक्तिमा मात्रै रमाउने परम्परामाथि उनी रुष्ट देखिन्छन्। यस चित्तचौतारोलाई सच्चिदानन्द स्वरूप भगवानसँग जोडेर पुनः डा. लम्सालले अर्को पौराणिक मान्यताको अध्ययनका लागि पनि पाठकलाई झक्झक्याएका छन्। पुराणहरूमा त्यस सच्चिदानन्द भगवानको कल्पना गरिएको छ, ‘सच्चिदानन्द रूपाय विश्वोत्पत्यादि हेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नुमः।’ अर्थात् जसको स्वरूप सच्चिदानन्द छ, जो यस समस्त विश्वको उत्पत्ति, पालन एवं संहार गर्दछन्, जो आफ्ना भक्तका लागि तीनै तापको विनाश गर्दछन्, हामी ती कृष्णलाई नमन गर्दछौँ।’

सच्चिदानन्द हुनमा सत् अर्थात् नित्य, चित अर्थात् चैतन्य, आनन्द अर्थात् परम सुख तथा विश्व उत्पत्तिका लागि तीनै ताप अर्थात् आध्यात्मिक, आधिदैविक एवं आधिभौतिक तापको विनाश गर्ने श्री कृष्ण हुन्। त्यसैले डा. लम्सालले कल्पना गरेको सच्चिदानन्द स्वरूप चित्तचौतारो सम्पूर्णतामा भगवानको स्वरूपमा निर्मित सम्पूर्ण सृष्टिको एक रूपक अलङ्कार हो। 

‘धरा’को खोज देश हो। यसको आत्मऊर्जा कविको आफ्नै चेतनाको उपल्लो तह हो। पत्रकारिता र साहित्यको हुट्हुटीले देशका कुना कन्दरा पुर्‍याइएका लम्सालले हिमाल, पहाड र तराईका शक्ति, सामथ्र्य र विपर्यासहरूलाई राम्रैसँग देखेका छन्, र पर्गेलेका छन्। ती ठाउँहरूमा विकसित सभ्यता र संस्कृतिका सुन्दर पक्षहरू हेरेका छन् र त्यहाँका मान्छेहरूको हृदय पढेका छन्। ती निर्दोष जनताका सपनाको व्यापार गरेर यस देशको अस्मितामाथि धावा बोल्ने कुटिल शासकहरूको कर्तुत पनि बुझेका छन् र क्रमशः खोक्रो बनाइँदै गरेको यस देशको करुण–क्रन्दन पनि सुनेका छन्।

उनले गरिमामण्डन गरेका प्राचीन वैभव र उनले आज आएर छामेको देशबीच एउटा भयावह खाडल छ। त्यो खाडल कसरी पुर्न सकिन्छ र नेपाल ज्ञान र विकासको वैभवमा पुनः कसरी पुलकित हुन सक्छ, त्यो सूत्रको खोजी उनको प्रमुख खोजी हो जस्तो लाग्दछ। देशले के दियो भन्नेहरूलाई उनको बलियो झापड छ। देशले सबैसबै दिएको छ तर देशकै चीरहरण गर्नेहरूले यसलाई आजको यस विद्रूप अवस्थामा पुर्‍याएका हुन्। उनी लेख्छन्–

देश दोषी हुँदै हुन्न दोषी हुन् देशका अरू 
हल्लाले देश हाँक्ने वा दोषी छन् जनताहरू।

आमजनता कर्तव्यबोध, आफू हुनुको गौरवबोध, आफ्नै इतिहासप्रतिको अज्ञानता आदिका कारणले दोषी छन् भने शासकहरू विरासतमै आएको विराट सभ्यतालाई ध्वस्त पारेका कारणले दोषी छन्– 

देशले नदिने के छ के रोक्छ देशले कहाँ 
छेक्ने शासक हुन् जान के छेक्छ देशले यहाँ? 

लाग्छ, डा. लम्सालको सबैभन्दा ठूलो गुनासो तिनीहरूप्रति छ, जसले प्राचीन शौर्य र वैभवको दुन्दुभी बजाइरहे तर आफूले आफ्नै सीप, कौशल र सामर्थ्ले त्यस गौरवपूर्ण इतिहासको निर्मितिमा एउटा इँट्टासम्म थपेनन्। बरु त्यसलाई ध्वस्त पारे, विद्रूप बनाए र मदोन्मत्त भएर राष्ट्रकै उपाहासमा जुटिरहे। उनलाई पितृ ऋणको हेक्का छ, उनलाई माटोप्रतिको कर्तव्यबोध टड्कारो छ। त्यसैले, शासनसत्तामा पुगेर पनि यस देशको अस्मितालाई अक्षुण्ण राख्न नसक्ने शासकप्रति उनको तीव्र आक्रोश पनि छ– 

नालापानी पढिरहेछौँ, टिस्टा र काँगडा पढिरहेछौँ, गाइरहेछौँ गीत मुक्ति र गौरवको, हिमवत्खण्डको शिरमा छ हाम्रो वीरध्वजा, सगरमाथासँगै उभिएर उचाइ हाँक बाँडिरहेछौँ– माथि चन्द्रमालाई र तल समुद्रलाई। यो सत्य हो तर आफ्नै उचाइ बढ्ने काम कति गर्‍यौँ? र लाज नमानी भन अग्ला मान्छेहरू हो– कति जोगाउन सकेका छौ जङ्गे पिल्लरको दसगजा? 

इतिहास, विगतको गौरव र धरतीप्रति कृतघ्न देशवासीहरूप्रतिको आक्रोश र सांस्कृतिक र बौद्धिक जगमा नयाँ जागरणको अपिलसहित आएको ‘धरा’ले थप अध्ययनका लागि केही महत्त्वपूर्ण पाटाहरूको उद्घाटन पनि गरेको छ। प्रथमतः कवितामा स्थानीय विषयको घनीभूत खोजी भइरहेको पछिल्लो साहित्यिक सन्दर्भमा विश्वकै लागि ‘धरा’ एउटा नवीन पाठशाला हो, जसले उद्घाटन हुन बाँकी नेपाली इतिहास र संस्कृतिका मिहिन पक्षहरूलाई सतहमा ल्याइदिएको छ। दोस्रो, नवइतिहासवादी अध्ययनले उठाउने गरेको किनाराको इतिहासको अध्ययनलाई ‘धरा’ले टेवा पुर्‍याएको छ। ‘धरा’मा तर्क गरिएको छ–

इतिहास खोज्नेहरू शासककै मात्र खोज्छन्, खोज्छन् तिनकै तिथिमिति र राजपाटका कथा तर किन खोज्दैनन् यही ढुङ्गामा कुँदिएका जानताका पाइला–डाम?

‘धरा’ले वातावरण अध्ययनका लागि पनि धेरै बाटाहरू खोलेको छ। पूर्वीय र पश्चिमी जीवन दर्शनको तुलनात्मक अध्ययनका लागि पनि ‘धरा’ एक उर्वर कृति हो। अनेकन सूक्तिमय हरफहरूले ओतप्रोत छ ‘धरा’, जसले मान्छे र धरतीका बारेमा स्मरणयोग्य थुप्रैथुप्रै सुन्दर अभिव्यक्तिहरू पस्केको छ।  उदाहरणका लागि हामी तलका केही सूक्तिहरूलाई लिन सक्छौँ।

यसमा डा. लम्सालको काव्य क्षमता र चिन्तनको उच्चता एकैचोटि उद्घाटन भएको पाइन्छ– ‘अनुहार र हृदयको सम्बन्ध छिनेपछि/कहाँ बल्छ मानवताको दियो?’, ‘डाँडाले उचालेको घाम साँझ परेपछि आफैँ अस्ताउँछ’, ‘बटुवाले पिएन भन्दैमा कुन नदी बग्न छोड्छ र?’, ‘जीवनको प्यास त मायाले पो मेट्छ/तर के थाहा हृदय सुकाएर रस खोज्नेहरूलाई?’, ‘सपनाहीन मान्छे कसरी जिउँदो हुनसक्छ?’, ‘गाउँमा मान्छे बस्न छोडेपछि/गाउँ विकासको परिभाषा कसरी गर्छ योजना आयोग?’, ‘व्यक्ति निदाउँदैमा कसरी निदाउँछ समय?’, ‘हिंस्रक विद्रोह हत्या हो/शान्त विद्रोह स्वाभिमान हो’ आदि।  

‘धरा’मा डा. लम्सालले ‘नवराज लम्साल’ नै शीर्षक राखेर एउटा पूर्ण सर्ग राखेका छन्, जसका केही आयामिक प्रयोजनहरू छन्। पहिलो, यो महाकाव्य परम्परामा एउटा प्रयोग हो। महाकाव्यमा ‘सेल्फ पोट्रेट’ यसअघि कतै पनि यसरी आएको देखिएको छैन। दोस्रो, लम्सालले आफैँलाई कविताको विषय बनाएर आफ्नो स्व, आफ्नो अहं र आफ्नै ब्रह्मलाई नागरिक इजलासमा राखेका छन् र गम्भीर आत्मसाक्षात्कार गरेका छन्।

नेपाली जनजीवन र राष्ट्रिय जीवनको दार्शनिक, ऐतिहासिक र सांस्कृतिक आधारको अध्ययन नभएकाहरूका लागि ‘धरा’ त्यति सहज पाठ्यवस्तु भने नरहन पनि सक्छ। यसै कारण ‘धरा’ पढ्न नसक्नुले पाठकलाई आफू उभिएको आँगनकै बारेमा न्यूनतम कुरा पनि थाहा नपाएको लघुताभासको बोध गर्नुपर्ने पनि हुनसक्छ।

अचेल देशका सम्पूर्ण विकृतिलाई शासन र सत्तामा आरोपित गरेर आफूलाई पवित्र चन्दन जस्तो निर्मल दावी गर्ने कविहरूको भीड बढिरहेको बेला लम्सालले राष्ट्रको अधोगत अथवा उध्र्वगामी सबै प्रकारको विकासयात्रामा आफूलाई पनि एक हिस्सेदार बनाएका छन् र दोष बोक्नुपर्ने समयमा दोषी पनि बनाएका छन्। यस अर्थमा यो सर्ग उनको इमान्दारीको दस्तावेज हो र उनको दृष्टिविन्दु हो, जहाँ उभिएर आफ्नो अध्ययन र अनुभवका आधारमा देशको चित्रण गरेका छन्। यो सर्ग उनको शक्तिको पनि र सीमाको पनि इमान्दार आत्मप्रतीती हो। स्वनिर्मित र बाह्य प्रतिकूलताको उल्झनमा आफू कहाँनिर उभिएका छन्, त्यसको चित्रण उनी यसरी गर्छन्–

धारले रेट्न तम्सन्छन् तार बेरेर तारले 
तँलाई कसरी रेट्यो ठ्याक्कै तेरो मुहारले? 

नेपाली जनजीवन र राष्ट्रिय जीवनको दार्शनिक, ऐतिहासिक र सांस्कृतिक आधारको अध्ययन नभएकाहरूका लागि ‘धरा’ त्यति सहज पाठ्यवस्तु भने नरहन पनि सक्छ। यसै कारण ‘धरा’ पढ्न नसक्नुले पाठकलाई आफू उभिएको आँगनकै बारेमा न्यूनतम कुरा पनि थाहा नपाएको लघुताभासको बोध गर्नुपर्ने पनि हुनसक्छ। त्यो दिन आफ्नो पहिचानको चैतन्यबोधले आफ्नै स्वमाथि व्यङ्ग्य पनि गर्न सक्नेछ। आफू चिन्नु भनेको माटो चिन्नु हो र माटोको सर्वोच्चतालाई यसरी स्वीकार गर्नु पनि हो– 
पहिलो माटो, दोस्रो आमा, संस्कृतिको काम तेस्रो, चौथो म हुँ, पाँचौँ मेरो जिन्दगीको परिवेश हो। 

नेपाली महाकाव्य परम्परामा निकै लामो खाडलपछि बृहत्तर आयतनमा ‘धरा’को आगमन गणतन्त्रको घोषणापछिको नेपालको एक दुर्लभ प्राप्ति हो। आधुनिक नेपाली काव्य परम्परामा यो कृति नेपाललाई सम्पूर्ण शक्ति र सीमाका साथ हेर्ने एउटा आँखीझ्याल पनि हो। देश बुझ्न बृहत्तर भूगोलमा बिस्फारित चेतना चाहिन्छ। त्यस चेतनाको एउटा सुन्दर प्रकटीकरण हो, ‘धरा।’ यो महाकाव्य कवि तथा गीतकार डा. नवराज लम्सालको काव्यिक उत्कर्ष पनि हो।

(डा. लम्सालको हालै प्रकाशित महाकाव्य ‘धरा’बाट। यस महाकाव्यमाथि बैशाख १६ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा विशेष अन्तर्क्रिया तथा काव्यवाचन हुँदै छ।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.