|

लहान : आमाको मुख हेर्ने दिन प्रायः सबै छोराछोरीहरु आफ्नी आमासँग रमाइरहेका बेला सिरहाको गोलबजार नगरपालिका ६ कि एक महिलालाई भने पतिसहित सासु ससुराको कुटपिटका कारण घाइते भएर अस्पताल भर्ना भएकी छन्।

गोलबजार नगरपालिका ६ डोहोटियाकी २२ वर्षीया प्रियङ्का यादवलाई पति, सासु र ससुरा मिलेर वैशाख ११ गतेदेखि तीनदिनसम्म घरमै बन्धक बनाएर कुटपिट गरेको थाहा पाएका छिमेकीहरुले उनलाई उद्दार गरी अस्पताल भर्ना गरेका हुन्। गोलबजारस्थित भूमिजा अस्पतालमा भर्ना गरिएकी उनको अझै राम्ररी होस खुलेको छैन। कुटपिट र यातनाले उनको टाउको, अनुहार, छाती, पिठ्यूँ  सुन्निएको छ भने तल्लो पेटमा चोट लागेकाले रक्तश्राव भइरहेको भूमिजा अस्पतालका चिकित्सक हरि ठाकुरले जानकारी दिए। उनको शरीरभरी बिजुलीको तारले कुटेको निलडाम छ।

किन कुटिइन् प्रियङ्का?

उनलाई पति ओमप्रकाश भनिने दुर्गाप्रसाद यादव, ससुरा हरिनारायण यादव र सासु अमृती यादवले तीन दिनसम्म घरभित्रै थुनी मुखमा कपडा कोचेर कुटपिट र यातना दिएको छिमेकीहरु बताउँछन्। वि.सं. २०६९ सालमा सामाजिक परम्परा अनुसार विवाह गरिएकी उनलाई भनेअनुसार दाइजो नल्याएको भन्दै पति, सासु, ससुराले कुटपिट गरेका उनीहरुको भनाइ छ। विवाहअघि नै काठमाडौंबाट गोलबजारमा एसएलसीको परीक्षा दिन आएकी किशोरीसँग नजिकिएका दुर्गाले विवाहमा एउटा मोटरसाइकलसहित नगद र जिन्सी गरी करिब चार लाख दाइजो लिएका थिए।

‘सामान्य खेतीपातीले जीविका चलाउनुपर्ने भएकाले ऋण कर्जा गरेर छोरीको विवाह गरी अन्माएर पठाएँ’ छोरीलाई अस्पतालमा भेट्न आएका उनकी बाबु रामजुलुम यादवले भने ‘विवाह लगत्तै अष्ट्रेलिया पढ्न जान्छु भन्दै छोरीमार्फत् फेरि तीन लाख रुपैयाँ माग्न थाले। उनले आफूले ४० हजार रुपैयाँ दिएको र त्यही रकमबाट ज्वाईं दुबई गएको बताए। ‘त्यसपछि घरमा  छोरीलाई खान समेत नदिएर लगातार कुटपिट गर्न थालेपछि आफैंसँग लिएर गएँ’ उनले भने।

प्रहरी भन्छ : खोज्दैछौं

कुटपिटका कारण गम्भीर घाइते भएकी महिलाको उपचार भइरहेको सूचना पाए लगत्तै महिलाको प्रारम्भिक वयानको आधारमा प्रहरीले घटनामा संलग्नको खोजी सुरु गरेको छ। घटनाको भोलिपल्ट बुधबार घरमै भेटिएका उनका ससुरालाई नियन्त्रणमा लिइएको भएपनि छोरालाई खोजेर ल्याउने शर्तमा छोडिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए। अहिले  दुर्गा मोवाइल बन्द गरेर फरार भएका छन् भने छोरा खोज्न हिंडेका ससुरा पनि सम्पर्कमा नआएको प्रहरी निरीक्षक उपाध्यायले बताए। घाइते महिलाको बिहीबार गोलबजारस्थित स्वास्थ्य चौकीमा घाउ जाँच गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.