|

उर्लाबारी : उर्लाबारी–७ कि ९ वर्षीया मिङ्वा लिम्बूको मृत्यु रहस्यमय बनेको छ। बरगाछीस्थित ठूलोबुवाको घरमा बस्दै आएकी उनको गत आइतबार मृत्यु भएको थियो।

बालिकालाई संरक्षण दिँदै आएका आफन्तले भने मिङ्वाले झुलको डण्डीमा झुण्डिएर आत्महत्या गरेको दाबी गरेका छन्। ९ वर्षीया बालिकाले आत्महत्या गर्नुपर्ने कुनै कारण नरहेको घटना प्रकृतिबाट बुझिने स्थानीयको भनाइ छ। आइतबार दिउँसो १ बजे उनलाई टिभीको रिमोर्टले प्रहार गरी मरणासन्न बनाइएको स्थानीयबासीको आरोप छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान गरिरहेको जनाएको छ। तर, प्रभावकारी रुपमा प्रहरीले अनुसन्धान नगरी घटनालाई ढाकछोप गर्ने कार्य गरिरहेको स्थानीय बताउँछन्। एक स्थानीयले भने, ‘घटना प्रकृति हेर्दा हत्या नै देखिन्छ, तर प्रहरी प्रशासनले गम्भिर लिएको छैन।’

घटना भएलगत्तै संरक्षण दिने बालिकाका ठूलोबुबा उर्लाबारी–७ का वीरबहादुर चोङवाङले अचेत अवस्थामा रहेकी बालिकालाई स्थानीय अरनिको अस्पतालमा पुर्‍याएका थिए। अस्पतालले बालिकालाई मृत घोषणा गरेपछि उनको शव अन्तिम संस्कार गर्ने भन्दै वीरबहादुरले घरमै ल्याएका थिए। बालिकाको शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरी दाहसंस्कारसमेत  गरिसकिएको छ।

तर ताप्लेजुङ मैवाखोलामा रहेका मृतकका बुबा छत्रध्वज चोङवाङले छोरीको मृत्युबारे छानबिन गरी पाउँ भनी इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिएका छन्। प्रहरीले भने अनुसन्धान भइरहेको बताएपनि घटना विवरण के भएको भन्ने गुपचुप नै राखेको छ। प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले भने, ‘पोष्टमार्टम रिपोर्ट नआइ यसै भन्न सकिने अवस्था छैन।' बालिकाका ठूलोबुवा वीरबहादुर चोङवाङले भने बालिका छटपटिएपछि मात्र आफूलाई थाहा भएको जानकारी दिएका छन्।

बाल विशेषज्ञका रूपमा पूर्वमै कहलिएका चिकित्सक डा. लिलासुन्दर श्रेष्ठले भने बच्चाले झुण्डlएर आत्महत्या गर्नु विरलै हुने घटना मध्येमा पर्ने बताए। उनले यस्तो घटना आफूलाई अहिलेसम्म जानकारीमा नआएको बताए।

जेहेन्दार विद्यार्थी रहेकी लिम्बू पशुपति बोर्डिङ स्कुलमा कक्षा प्रथम हुन्। उनको मृत्युले छिमेकमा धेरैलाई आश्चर्यमा पारेको छ। उनीहरुले घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.