|

एउटा आकृति पलभरमै आँगनमा आइपुग्यो र बोल्न थाल्यो, ‘देउती, सन्चइ छेस्, बिर्सेकी त छइनस् नि मलाई?’

बोल्न खोज्थी देउती तर वाक्य गलामै अड्केझैँ हुन्थ्यो। किलकिलेसम्म त आउँथ्यो तर त्यहाँबाट बाहिर निस्कनै मान्दैनथ्यो। थुक सुकेर जिब्रो फट्कारिँदै फट्कारिएन। आँखाबाट बरर्र आँसु झर्‍यो। कुद्दै गएर आकृतिका पाउमा परी। आँसुले आकृतिको पाउ चुर्लुम्म भिज्यो, बूढी औँला र माइली औँलाका चेपबाट बगेको आँसुले एक मुठी माटो भिजायो। आकृतिले पनि आफूलाई सम्हाल्न सकेन। उसका पनि परेला भिजे र आँसुको ठूलो ढिका पिठ्युँमा बजारियो। ढाड होइन देउतीको मन भिज्यो। जुरुक्क उठी र भिजेका आँखामा हतारहतार हात दलेर ओभाइदिई। गम्ल्याङ्ग अँगालो हाल्दै आकृतिका ढाडमा धमाधम मुड्की बजार्न थाली!

‘काँ जानु भ’को थ्यो, एतिका वर्ष, मेरो याद आ’न तपइँलाई, निस्ठुरी!’ अघिदेखि थुनिइराखेको वाक्य फुत्त बाहिर आयो र तुरुन्तै हावामा विलीन भयो!

देउतीको प्रश्नले आकृति हडबडायो र पानीको इसारा गर्दै थ्याच्च भुइँमा बस्यो। आलुको पत्र खुइलिएजसरी ओठको छाला उक्किएको थियो। देउतीले भित्रबाट ढलोटको लोहोटाभरि पानी ल्याइदिई र ट्यास्स अगाडि राखिदिई।

‘मस्तकी तरुनी पो भइछेस् नि देउती?', आकृतिको अनुहारमा बिहानीको उज्यालो छायो। यता देउतीका चिसा ओठमा यौवनको मादकता थोपरियो। गालामा क्रमशः अवीर रङ चढ्दै गयो। आँखामा प्रेमको इन्द्रेणी छायो र मुखबाट अनायास वाक्य आयो, ‘तिमी पनि त बुडा भएछउ नि!’

भलिभाँती पोखिन मन थ्यो, मुखमा आइसकेको जवाफ ओठले समेटी देउतीले। नाक खुम्च्याउँदै फरक्क मुन्टो के फर्काएकी थिई, आकृतिले उसलाई हात तानेर बस्न अनुरोध गर्‍यो। पिठ्युँको कुम्लो अघिल्तिर ट्यास्स राख्यो र फुकाउन थाल्यो।

‘ला! बनारसी गुन्यु। सुन् त, एसभित्र गयाको कोसेली रातो जुत्ता पनि छ हइ!', आकृतिले कुम्लाभित्त्रको पोको थमायो। देउतीको अनुहारमा ढिकीबाट धान फलेर फर्किएजस्तो चहक छायो। लुगा, जुत्ताको पोको छातीमा अठ्याउँदै गहभरि आँसु पारी! ‘कति माया गर्नुन्छ हइ? म पो पापिनी रहेछु, दस्थोक् सोचेर बसिरकी थेँ!', आमा त भन्नुहुन्थ्यो नि ‘तरुनी स्वास्नी सम्झेर पनि एक्दिन् कान्छो फर्केर आउँछ!’ देउती नाके स्वरले बोली! हुनसक्छ उसको आवाजमा आँसुको थोपा मिसिएको थियो!

‘ला यो अर्को पोको। एस्मा अलिकति पइसा छ। कसइले था' नपाउने गरी राख् हइ!’

देउतीको अनुहारमा थामिनसक्नुको खुसी देखियो। दौडँदै माथि चोटामा पुगी। दुवै पोको काठको सन्दूसभित्र राखी र बाहिरबाट कब्जा लगाई। अझै मनले मानेन, त्यसमाथि भोटेताल्चा पनि झुन्ड्याई। सोची, ‘सासूले ताल्चा ला'र सम्पति लुका'को रएछ भन्ने हुन् कि?', मनैले जवाफ दिई, ‘आ... भने भनुन् आफ्नइ सम्पति राखेको हो क्यारे!’ देउती भर्‍याङ बजार्दै तल झरी। फलैँचामा आई र आकृतिका काखमा टाउको राखेर लाडे पल्टिई, ‘जुँगा त उस्तइ रएछ नि! पर्देस्मा काम्ले फुर्सद् नपाउँदा काट्न भ्याउनु भ’न हगि?’

‘मलाई बिजाउँछ। मेरा लागि त छोट्याउनु होला नि!’

मुसुमुसु हाँस्दै आकृतिले खोकिलाबाट एक्कासि हात बाहिर निकाल्यो र आकाशमा बिजुली चम्किएको शैलीमा छातीमा दौडाउन थाल्यो।

‘छ्या... कस्तो पात्तिनुभएछ तपइँ त, गाउँलेले देखे भने ?’ फुत्त हात हुर्‍याइदिई देउतीले!

‘तँ त चोखइ रइछेस् देउते!’

‘मत्लब् तपइँचाइँ बिटुलिइसक्नुभो’, देउतीले आश्चर्यभाव प्रकट गरी र नमीठोसँग आकृतिको अनुहार नियाली। आकृतिको अनुहारको प्रचण्ड तेज ओझेल परिसकेको थियो र पीडा सलबलाउन थालेको प्रतीत हुन्थ्यो।

‘देउती आमा खइ त?’

जीउमा अनौठो काउकुती लागिरहेको थियो। बिथोलिई देउती!

‘उ त्याँ हुनुन्छ!', देउतीले इन्द्रावतीको बगर देखाइदिई र भनी, ‘जानुस् खोज्न, ठुटाठुटी बाँकी होलान्!’

‘मत्लब् आमा बित्नुभो!, भगवान्, म कस्तो अभागी रएछु! मर्ने बेलाँ' आमाको मुख्समेत हेर्न पाइनँ! आमाको दुद्को भारा अब के गरि तिर्नु?’, आकृति भित्तामा मुन्टो ठोक्काउँदै रुन थाल्यो। देउती हेरेको हेर्‍यै भई, अनुहारमा शून्यता छायो।

‘कस्तो पत्याएको, खोरियामा स्याउला लिन जानुभा’छ! आउनेबेला हुनलाग्यो। कान्छो छोराको मुख नहेरी जान्थ्यो सास काहीँ!’

आकृतिको अनुहारमा सलहजसरी खुसी फिँजियो। देउतीलाई आफूतिर तान्यो र गालामा ओठ दल्न थाल्यो! असिना पग्लिएजसरी पानी–पानी भई।

‘धत् कस्तो नराम्रो सपना देखेँ! पीडाले त गाँज्यो गाँज्यो, अब त सपनाले नि दिउँसइ लखेट्न थाल्यो!', झल्याँस्स भई देउती। शरीर पसिनाले चुर्लुम्मै भिज्यो! दुई अम्खोरा पानी खानु जस्तो खरो भयो देउतीलाई! सम्झना बालख जस्तै हुँदोरहेछ, निद्रा तन्द्रा जहाँ पनि बिथोल्न नछाड्ने!

प्रत्येक हिउँदले लोग्नेको याद गाढा बनाउँछ। पाखामा जब वनचरी कराउँछ, देउतीको अनुहारमा सन्नाटा छाउँछ र आँखा अघिल्तिर लोग्नेको सम्झना सिरुपाते सिरेटोझैँ तीखो बन्छ। ‘भालेले छाडेको कपोत् झइँ अलपत्र पो भएँ म! एति लामो जिन्दगी कस्को आश्मा बिताउनु?', झँल्यास्स हुन्थी देउती। बालखै हुँदा त मन सम्हालिँदोरहेछ– ‘कसो नआउलान् त एक्दिन्! शरीराँ' एउवन् चढ्न थालेसि पो मन् अत्तालिन थाल्यो– कदाचित् बाउन् फर्किएनन् भने के गर्ने होला, सर्वथा एक्ली हुन्छु म!’

‘देउती तँ अभागी रहिछेस्, मलाई पनि दम निस्किहालो! बाहुन फर्केला जस्तो छैन, यति लामो जिन्दगी कसरी बिताउँछेस् तैँले? साह्रै चिन्ता लाग्न थाल्यो तेरो।’

सासूले यसरी कहिल्यै हरेस खाएको देउतीलाई थाहा थिएन। केही दिनदेखि कोइराल्नी अनौठा कुरा गर्न थालेकी थिई, ‘कान्छालाई काँसी पठा'र अपराद् गरेँ। मेरइ जबर्जस्तीले उमेराँ' लोग्नेको काख् पाइनस् देउती तइँले, सारइ नकाम् गरेँ मइले। कसरी प्रायश्चित्त गरुँ यो अपराद्?’

हुन पनि छोराको शोकले कोइराल्नी अनुहारको तेजस्वी कान्ति गुमनाम थियो। प्रौढ पनि नकट्दै कपाल काँसझैँ फुलेको थियो। दुई पाइला सार्नेबित्तिकै सास बढेर स्याँ.. स्याँ.. हुन्थ्यो।

‘कोइराल्नी गाँस् घटेछ तिम्रो, सारइ शोक परेजस्तो छ तिम्लाई। रातोदिन् मन्मा कुरा खेलाएर नबस! बरु आऊ गाउँतिर टपरी गाँस्न', अस्ति जिम्माल्नीले पनि सम्झाएर गइन्। अनुहार केरा पाकेजस्तो देखिएको छ। सासूको अवस्था देख्दा देउतीलाई उदेक लागेर आउँथ्यो र आफैँलाई धिक्कार्न मन लाग्थ्यो। उसै त पतझड मौसममा नाङ्गिएको पाखा जस्तो फुङ्ग उडेको थियो अनुहार। त्यसमाथि पीडा थपिएपछि दयनीय देखिन थालेकी थिई कोइराल्नी! 

‘कम्तिमा सासूको उज्यालो मुख हेर्न पाए त दुक्ख बिर्सने बहाना मिल्थ्यो!’

वरिपरि टम्म तुवाँलो लागेको छ। पारि डाँडा होइन, वरिपरिका पातपतिङ्गर, कीरा-फट्याङ्ग्रा पनि धमिलो देखिन्छन्। नियतिले कस्तो झटारो हान्यो? ‘बाआमाले देउतीको सट्टा दुखी राखिदिनुपर्ने मेरो नाउँ! न सुख्ले छाड्ने, न त दुक्खले नइ आँखा गाड्ने चिन्ता, कति आनन्द ऊ माथिकी देउती मातालाई! म अभागिनी तेस्ती काँ हुनु?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.