|

  • रमेश पराजुली 

सिन्धुपाल्चोक : गाउँ होस् या बजार होस्, चौतारो होस् या चियापसल होस् या चोक नै किन नहोस्? सिन्धुपाल्चोकमा अहिले दुईचार जना भेला हुनासाथ चुनावी चर्चा सुरु हुन्छ। वैशाख ३१ गते हुने पहिलो चरणको चुनावको मिति जति नजिकिदो छ, सिन्धुपल्चोकमा चुनावी रौनक पनि उत्तिकै बढ्दो छ।

सिन्धुपाल्चोकमा क्रियाशिल राजनितिक दलहरु यतिबेला आफ्नो पार्टीबाट नगरपालिका र गाउँपालिकाका प्रमुख उम्मेदवार तोक्नमा व्यस्त छन्। विवाद र आकांक्षी धेरै भएकाले उम्मेदवार छनौटका लागि अझै केही दिन कुर्नुपर्ने हुनसक्छ।

ठुला पार्टीका जिल्ला स्तरीय नेताहरुबीच विभिन्न स्थानीय तहमा कसले नेतृत्व लिने भन्नेमा विवाद चर्किदै गएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायत ठुला पार्टीसँगै साना पार्टीहरुले पनि चुनावी अभियान तिव्र बनाएका छन्। 

सबै राजनीतिक दलहरुले आफ्नो पार्टीलाई बलियो बनाउन वडा भेला तथा कार्यकर्तासँग भेटघाटलाई तीव्रता दिन थालेका छन्।  विशेष गरेर ठूला दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्र र राप्रपाका नेताहरु आफ्ना कार्यकर्ताहरुलाई भेट्ने, वडागत भेला गर्ने काममा तल्लिन छन्। ठुला पार्टीका नेताहरु वडाध्यक्ष छनोट गर्ने काममा व्यस्त छन्। ३ नगरपालिका र ९ गाउँपालिका रहेको सिन्धुपाल्चोकमा सकेसम्म आफ्नो पार्टीको पक्षमा बहुमत ल्याउन ठूला दल सक्रिय छन्।

नेपाली कांग्रेसले अगुवा कार्यकर्ताहरुसँग भेटघाट गर्ने काम तीव्र पारेको छ। 'हामी आन्तरिक तयारीमा जुटिसकेका छौं,’ नेपाली कांग्रेसका जिल्ला सभापति विकास लामाले भने,‘नगरपालिका र गाउँपालिका प्रमुखको उम्मेदवार बन्न चाहने आकांक्षी धेरै भएकाले छनौटमा व्यस्त छौँ।'

एमालेले पनि आन्तरिक छलफल, उम्मेदवार चयन तथा रणनीति तयार पार्नमै व्यस्त छ।  यो पटक धेरै नगर र गाउँपपालिकामा नेतृत्व जित्ने रणनीतिका साथ एमाले अगाडि बढेको एमालेका जिल्ला प्रचार विभाग प्रमुख यज्ञ सापकोटा बताउँछन्। ‘जिल्लामा एमालेको जनलहर व्यापक छ,’ उनले भने, ‘धेरै स्थानमा जित हासिल गर्छौ भन्ने आशा छ,' उनले भने। 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सिन्धुपाचोकमा आएर सम्पूर्ण कार्यकर्तालाई चुनावमा लाग्न आग्रह गरेसँगै नेकपा माओवादी केन्द्रले चुनावी माहोललाई उत्साहित ढंगले अघि बढाएको छ।

सिन्धुपाल्चोकका धेरै नगर र गाउँपालिकामा नेतृत्व आफ्नै पोल्टामा पर्ने दाबी माओवादी केन्द्रका युवा नेता माधव सापकोटा ‘सुवोध’ को छ। माओवादीले नेतृत्व आफ्नो पोल्टामा पार्न जनप्रिय उम्मेदवार छनोटमा पनि लागेको छ । ‘हामीले सबै वडामा भेला गरिसकेका छौं,’ नेता माधव सापकोटाले भने, ‘उम्मेदवार छनोटमा मापदण्ड बनाएर निर्वाचन व्यवस्थित गर्न पार्टीले भूमिका निर्वाह गर्नेछ।’

यता राप्रपाले पनि जिल्लाका अधिकांश स्थानीय तहमा आफ्नो पार्टी विजयी हुने दाबी गरेको छ। राप्रपाका जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ भन्छन्,‘बिग्रिएको ठाउँमा निकै सुधार भएको छ,’ उनले भने, ‘पहिलाको निर्वाचनको भन्दा धेरै राम्रो हुने पक्कापक्की भएको छ।’

नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतले वडा तहमा आन्तरिक भेला गरिरहेका छन्। अधिकांश साना दल मिलेर ठूलासँग प्रतिस्पर्धा गर्ने केही दलका नेताको दाबी छ।

जिल्लामा चुनावी स्पर्धामा २० दलले भाग लिनेछन्। त्यसमध्ये चार ठूला दलबीचको समीकरण भने रोचक हुने देखिएको छ। प्रमुख यी चार दलसहित अन्य साना दलले पनि चुनावी माहोल व्यापक तताइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.