|

काठमाडौं: नेपालको जलविद्युत क्षमता ८३ हजार मेगावाट रहेको पत्ता लगाउने डा.हरिमान श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ। रक्तश्राव समस्याबाट पीडित श्रेष्ठको उपचारको क्रममा बिहीबार राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको हो। 

उर्जाविद् रत्नसंसार श्रेष्ठका अनुसार गत शुक्रबार नै स्वास्थ्यमा समस्या देखिए पनि उनी अस्पताल जान मानेका थिएनन्। शनिबार बेहाेश भई लडेपछि उनलाई अस्पतालमा लगिएको थियो। उपाचारको क्रममा बिहीबार दिउँसो १ बजे निधन भएको परिवारले बताएको छ।

को हुन् हरिमान?

डा.हरिमान श्रेष्ठ प्राविधिक विज्ञानमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन्। उनले  सन् १९६६मा नेपालको जलविद्युत क्षमताको विषयमा अध्ययन गरेका थिए। जलस्रोतसम्बन्धी 'रिसर्च'को सिलसिलामा नेपालको जलविद्युत क्षमता ८३ हजार मेगावाट रहेको पत्ता लगाएका थिए। उनले रुसको मस्को इलेक्ट्रिकल इन्जिनियरिङ इन्स्टिच्युटबाट सन् १९६६ मा ‘नेपालको जलविद्युत सम्भाव्यता’ विषयमा विद्यावारिधि गरेका थिए।

उर्जाक्षेत्रमा डा.हरिमान

कसैलाई बिजुली बेचेर नभई त्यसको अधिकतम प्रयोगबाट मात्रै देश समृद्ध हुने मान्यता राख्थे, हरिमान। उनैको भनाइलाई अात्मसात गर्दै उर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले समेत उर्जाको बढी खपत गर्नमा ध्यान जानुपर्ने बताउँदै आएका छन्।

'उहाँलाई नचिन्ने को छ छ र!' हरिमानलाई सम्झिँदै उर्जाविद् रत्नसंसार श्रेष्ठ भन्छन्, 'वास्तवमा मैले उहाँको सिद्धान्त पच्छ्याएको हुँ। जलविद्युतको राष्ट्रिय स्वार्थमा उहाँको र मेरो कुरा मिल्थ्यो'।

हरिमानको निधनसँगै नेपालको जलविद्युत क्षेत्रको ज्युँदो इतिहास मेटिएको बताउँछन्,उर्जा मन्त्रालयका उपसचिव गोकर्ण पन्त।  नेपालको जलविद्युतको क्षमताबारे डा.हरिमानले प्रस्तुत गरेको तथ्यलाई अहिलेसम्म कसैले नकार्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.