|

धादिङ : गल्छी गाउँपालिका वडा नं. २ भूत्याहालाई बेल्खुनजिकै पृथ्वी राजमार्गसँग जोड्ने गरी त्रिशुली नदीमा निर्माणधीन झोलेङ्गे पुलको दोस्रो टावर पनि ढलेको छ। सस्पेन्सन मोडलमा निर्माणधीन पुलको लठ्ठा अड्याउन बनाइएको भूत्याहातर्फको टावर यही वैशाख ९ गते ढलेको थियो। बिहीबार साँझ चलेको हुरीबतासले बेल्खुतर्फको टावर पनि ढालेको हो। दुवैतर्फको टावर ढलेपछि पुल बन्नेमा आंशका उब्जिएको स्थानीय माधव खतिवडा बताउँछन्।

अघिल्लो पटक टावर ढल्दा किचिएर एकजना गम्भीर घाइते भएका थिए। तर, यसपटक टावर त्रिशुली नदीतर्फ ढलेकाले थप क्षति हुन पाएन। अर्कोतर्फ ढलेको भए तुइन चुँडिन सक्थ्यो। सस्पेन्सन पुलमा लठ्ठा अड्याउनका लागि दुवैतर्फ टावर बनाउने गरिन्छ।

तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने नेपाल सरकारको कार्यक्रमअन्तर्गत भूत्याहामा १ सय ५८ दशमलव २० मिटर लामो पुल निर्माणाधीन छ। यो पुल पार्वती-निलगिरी जेवी कम्पनीले निर्माण गरिरहेको छ।

सस्पेन्सन जगमा आएको समस्याका कारण टावर ढलेको सव इञ्जिनियर दुर्योधन रेग्मीले बताए। ‘केही दिनअघि अर्को टावर लडेपछि यो टावर अड्याउन चेन लगाउन लागेका थियौँ, त्यहीबेला हावाहुरीले यसलाई पनि लडायो,’ रेग्मीले भने।

यसक्रममा भएको क्षतिको जिम्मेवार निर्माण कम्पनी नै हुने साइड इञ्जिनियर जनक न्यौपाने बताउँछन्। निर्माणको सम्पूर्ण काम सम्पन्न गरेर लोड टेस्ट गरेपछि मात्र त्यसको जिम्मा नेपाल सरकार र स्थानीय तहको हुने न्यौपानेले बताए। प्रयोग गरिएको सामान गुणस्तरीय नै भए पनि टावर निर्माणका क्रममा आवश्यक सावधानी नअपनाउँदा दुर्घटना घटेको उनको भनाइ छ।

‘टावर अड्याउनका लागि १३ एमएमको लठ्ठा राखिएको भए पनि नाइलनको डोरी प्रयोग गरी टुचन दिएको पाइयो,’ उनले भने, ‘त्यस्तो काम गर्न हुन्न भनेर हामीले चिट्ठी लेखिसकेका थियौँ, तर उनीहरुले त्यसलाई नमानेर हेलचेक्र्याइँ गरे।’ 

१ करोड १४ लाखमा निर्माणाधीन पुलको ड्राफ्ट (नक्सा) हेल्भेटासले तयार पारेको हो भने, जलप नेपाल चितवनले निर्माण सामाग्री उपलब्ध गराउँदै आएको छ। सम्झौताअनुसार आगामी साउन २८ गतेसम्ममा पुल निर्माण भइसक्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.