|

बेसीसहर : स्थानीय तहको निर्वाचन नजिकिएसँगै लमजुङका कतिपय पत्रकार पनि आकाङ्क्षी देखिएका छन्। वडाध्यक्षदेखि, गाउँपालिका र नगरपालिका प्रमुखका लागि समेत पत्रकार आकाङ्क्षी देखिएका छन्। 

प्रेस युनियनका पूर्व गण्डकी अञ्चल संयोजक तथा लमजुङ आवाज साप्ताहिक पत्रिकाका प्रधानसम्पादक मिलन शर्मा दनाईंले बेसीसहर नगरपालिकाअन्तर्गत वडा नं. ८ मा कांग्रेसको तर्फबाट अध्यक्षका लागि पार्टीमा उम्मेदवारी दिएका छन्।  प्रेस युनियनका अध्यक्ष तथा नेपाल टेलिभिजनका लमजुङ प्रतिनिधि परमेश्वर अधिकारीले नेपाली काँग्रेसबाट सुन्दरबजार नगरपालिकाको मेयर पदको उम्मेदवारमा आकाङ्क्षा देखाएका छन्। 

यस्तै, प्रेस युनियनका अर्का सदस्य एवं अन्नपूर्ण पोष्ट दैनिकका समाचारदाता दीपक अधिकारीले दोर्दी गाउँपालिका–१ को वडा सदस्यमा टिकट पाइसकेका छन्। प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेलले दोर्दी गाउँपालिकाको प्रमुखमा आकाङ्क्षा देखाएका छन्। उनी हाल रेडियो भोटेओडारको निर्देशक छन्। 

प्रेस सेन्टरका जिल्ला अध्यक्ष तथा रेडियो भोटेओडारको व्यवस्थापक रुद्रहरि ढकालले पनि स्थानीय तह निर्वाचनमा सुन्दरबजार नगरपालिका–८ को वडाध्यक्ष पदको उम्मेदवारका लागि पार्टीमा निवेदन हालेका छन्। परिवर्तन सन्देश पत्रिकाका सम्पादक नारायण पौडेलले नयाँशक्ति पार्टीबाट राइनास नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

परिवर्तन सन्देश पत्रिकाकै कार्यकारी सम्पादक एवं प्रेस सोसाइटी लमजुङका जिल्ला अध्यक्ष वासुदेव थापाले मर्स्याङ्दी गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.