|

चितवन : लामो कसरतपछि नेकपा (माओवादी केन्द्र)ले चितवनका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ।

यसक्रममा भरतपुर महानगरपालिकाको प्रमुखमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डकी छोरी रेणु दाहाल उम्मेदवार बनेकी छन्। उनी माओवादी केन्द्रकी पालिटब्यूरो सदस्यसमेत हुन्।

महानगरमा रेणुका अलावा प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार एवम् पूर्वसभासद् नारायण दाहाल, अर्का नेता तथा पूर्व जिल्ला इञ्चार्ज सुर्य सुवेदी पथिक, हालका सह–इन्चार्ज घनश्याम दाहाल ‘अविनास’, ठाकुर ढकाल, व्यवसायी मित्रराज दवाडी र नारायणसिंह कुँवरको नाम चर्चामा थियो।

यस्तै उपप्रमुखमा सुरेन्द्र गुरुङले टिकट पक्का गरेका छन्। उपप्रमुखमा ईश्वर सापकोटा र यमबहादुर परियार पनि आकांक्षी रहेका थिए।

प्रमुख र उपप्रमुखको उम्मेदवारसम्बन्धी अन्तिम निर्णय बिहीबार भएको पार्टीका महानगर संयोजक ईश्वर सापकोटाले जानकारी दिए। दाहाल संविधानसभा निर्वाचन २०७० मा काठमाडौं क्षेत्र नम्बर १ मा पराजित भएकी थिइन्।

यसैगरी रत्ननगर नगरपालिकाको प्रमुखमा पूर्ण अम्गाईँ र उपप्रमुखमा संगिता भट्टराईलाई उम्मेदवार बनाइएको छ। 

खैरहनी नगरपालिकाको प्रमुखमा एकराज डल्लाकाेटी र उपप्रमुखमा रेवती उप्रेती, माडी नगरपालिकाको प्रमुखमा ठाकुर ढकाल र उपप्रमुखमा सरिता महतो, कालिका नगरपालिकाको प्रमुखमा रामध्वज डल्लाकोटी र उप्रमुखमा सविता लामा तथा राप्ती नगरपालिकाको प्रमुखमा रामचन्द्र पाठक र उपप्रमुखमा कल्पना लामालाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला संयोजक यमबहादुर परियारले जानकारी दिए। 

यता इच्छाकामना गाउँपालिकाको अध्यक्षमा प्रताप गुरुङ र उपाध्यक्षमा सावित्रा सिलवाल उम्मेदवार बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.