|

ओखलढुंगा : ओखलढुंगामा एक महिलाले मफलर टोपी बुनेर मासिक १५ हजार बढी आम्दानी गरेकी छन्। ओखलढुंगाको सिद्धिचरण नगरपालिका गोरूमारेभञ्ज्याङमा ढाका कपडा उद्योग सञ्चालन गर्न थालेको छोटो अवधिमै विमला विश्वकर्मा ढाकाको सफल उद्यमी बनेकी छन्। २०६४ सालमा घरेलु तथा साना उद्योग विकास समिति ओखलढुंगाले सञ्चालन गरेको ढाकासम्बन्धी तालिम लिएकी विश्वकर्माले २ लाख लगानी गरेर लोभलाग्दो आम्दानी गर्न थालेकी हुन्।

एउटा तानबाट विश्वकर्माले सुरू गरेको पूजा एन्ड प्रज्वला ढाका कपडा उद्योग अहिले आम्दानी र रोजगारीको स्रोत बन्न थालेको छ। ‘एउटा तानबाटै हाफसल, रूमाल, मफलर र टोपी बुनेर यो उद्योग थालेकी हुँ,’ विश्वकर्माले भनिन्, ‘ढाका कपडाबाटै मासिक १५ हजारभन्दा बढी कमाउँछु।’

श्रीमान्ले वैदेशिक रोजगारीबाट कमाएको पैसाले उनले उद्योगका लागि करिब डेढ लाखको टहरो निर्माण गरेका थिए। त्यसपछि उद्योगका लागि तान र आवश्यक कच्चापदार्थ पनि किनेका विश्वकर्माले अहिले ६ वटा तान जोडिसकेका छन् भने २ जना महिलालाई रोजगारी समेत दिन सफल भएकी छन्।

विश्वकर्माले अहिले आफ्नो उद्योगबाट आफैं प्रशिक्षक बनेर तालिमसमेत दिन थालेकी छन्। पहिले ऊन, धागो ल्याउन समस्या हुने भए पनि अहिले सहज हुन थालेपछि उनी धेरै खुसी छन्। विश्वकर्माका उद्योगबाट उत्पादित ढाकाका सामग्री ओखलढुंगास्थित ‘कोशेलीघर’ बाट बिक्री हुने गरेको छ। विश्वकर्मा भन्छिन्, ‘बजारका लागि समस्या छैन’ ‘सधैंभरि यही पेसामा लागिरहन्छु।’

 ढाका उद्यमबाटै उनी सम्मानित पनि भएकी छन्। उद्योग मन्त्रालयले गत असारमा उत्कृष्ट महिला उद्यमीको रूपमा सम्मान गरेको थियो। ओखलढुंगामा व्यावसायिक रूपमा ढाका कपडा उद्योग सञ्चालन गर्ने थोरै महिलामध्ये उनी पहिलो नम्बरमा गनिन्छन। ओखलढुंगामा धेरै महिलाले ढाकाका कपडा बुन्ने गरेका भए पनि आम्दानी राम्रो हुँदाहुँदै व्यावसायिक निरन्तरता दिन सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.