|

दाङ : गत वर्ष मकै खेतीमा रोगप्रकोपबाट पश्चिम दाङमा ५० प्रतिशतले कम उत्पादन भएपछि कृषि प्राविधिकहरुले मकै उत्पादनमा वृद्धि ल्याउन किसानहरुसँग प्राविधिक जानकारी दिन सुरु गरेका छन्। पोहरसाल पश्चिम दाङको बागमारे, पवननगर र शान्तिनगरमा गरी झन्डै २३ सय १५ हेक्टरमा डाँठ कुहिने रोग महामारीका रुपमा फैलिएको थियो।

जसका कारण किसानहरुको मकै उत्पादन दिने समयमा डाँठ कुहेर पूर्ण रुपमा क्षति भएको थियो। कृषि अनुसन्धान परिषद् क्षेत्रीय कार्यालय खजुरा बाँकेको प्राविधिक टोलीले उक्त मकैको अनुसन्धान गर्न दाङ आएको थियो। जिल्ला कृषि विकास कार्यालयको प्राविधिक टोलीले रोग पहिचान गर्न नसकेपछि मकैखेती उत्पादनमा वृद्धि गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले किसानहरुलाई जानकारी गराउन सुरु गरेको छ।

माटो परीक्षण,माटोको उपचार र वैकल्पिक खेती गर्नतर्फ किसानहरुले ध्यान दिन नसकेकै कारण मकै खेतीमा महामारी फैलिएको जिल्ला कृषि विकास कार्यालय दाङका प्रमुख,वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्माले जानकारी दिए। माटो उपचारलाई ध्यान दिनु किसानहरुको लागि अनिर्वाय हो,मानिसको उपचारको ध्यान दिएझै विरुवा तथा माटोको उपचार पनि गर्नुपर्छ वरिष्ठ कृषि विकास अधिकृत शर्माले बताए।

सहभागी किसानहरुले युरिया, डिएपी प्रयोग गर्ने गरेको तर पोटासको प्रयोग किन गर्ने भन्नेबारे चासो राखेको बारेमा उनले माटोको उर्बरा शक्ति बढाउन अत्यन्त महत्वपूर्ण काम पोटासले गर्ने बताए। उनले किसान र कृषि प्राविधिकबीच कृषिसम्बन्धी विषयमा आपसी कुराकानी हुनु पर्ने र प्राविधि जानकारी लिन किसानहरुलाई आग्रह गरे।

कृषि सामाग्री संस्थान उपकेन्द्र तुलसीपुर,जिल्ला कृषि विकास कार्यालय दाङको आयोजनामा बिहीबार सञ्चालन गरिएको १ दिने अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा किसानहरुले प्राविधिहरुबाट पोटास प्रयोगको महत्व,अनुदानमा पोटास उपलब्ध हुन नसकेको,माटो परीक्षणबारे जानकारी हुन नसकेको लगायतका बारेमा कृषि विज्ञहरुको ध्यानार्कषण गराएको थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.