|

रुपन्देही : रुपन्देहीको शुद्धोधन गाउँपालिका सौ–फर्साटिकरमा रहेको टाइगर ब्रुअरी ईण्डष्ट्रिज प्रालिमा बिहीबार आगलागी भयो। विद्युत् भोल्टेजका कारण कम्प्रेसर मेसिन र जेनेरेटर मोटर सर्ट हुँदा बिहान १० बजेतिर आगलागी भएको थियो। त्यसको २ घण्टापछि आगो नियन्त्रणमा आयो।

आगलागी भएलगत्तै नियन्त्रण गर्न नजिकै दमकल थिएन। बुटवलबाट दमकल पुग्दा आगोले उद्योगका उपकरणहरु छोइसकेको थियो। जसका कारण टेन्सवर्ग र टाइगर बियरका केही उपकरणहरु जलेर नष्ट भएको सञ्चालक तेजेन्द्र खड्का बताउँछन्।

दमकल समयमा भएको भए आगो सजिलै निभ्न सक्थ्यो। बुटवलमा रहेको दमकल त्यहाँ पुगुन्जेल आगो निभाउन पनि सकिन्थ्यो र क्षति कम हुन्थ्यो। तर चाहिएजति र चाहेको ठाउँमा दमकल छैनन्।

१ उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिका रहेको रुपन्देहीमा ५ वटा मात्रै दमकल छन्। अग्नि नियन्त्रकहरु भन्छन्–एउटा नगरपालिकामा कम्तीमा २ वटा दमकल आवश्यक पर्छ। समस्या यतिमात्रै हैन, चाहिएजति कर्मचारी पनि छैनन्।

१६ वटा स्थानीय तह रहेको जिल्लाको बुटवल उपमहानगरपालिकामा २ वटा, सिद्धार्थ नगरपालिकामा २ वटा र लुम्बिनी सांस्कृतिक नगरपालिकामा एउटा मात्र दमकल रहेका छन्। बाँकी नगरपालिका र गाउँपालिकामा  दमकल छैनन्। जति छन्, तिनलाई पनि भ्याई नभ्याई छ। ‘कहिलेकाँही त कपिलवस्तु र नवलपरासीसम्म पुग्नुपर्छ’ बुटवल उपमहानगरपालिकाको वारुणयन्त्र शाखाका इन्चार्ज गोकर्ण भट्टराई भन्छन्।

बुटवलका २ वटा दमकलका लागि १३ जना कर्मचारी छन्। ‘यो उपमहानगरले सबैतिर हेर्नुपर्ने अवस्था छ, तर एउटा दमकललाई चाहिने कर्मचारीले २ वटा दमकल चलाईरहेका छौं' उनी भन्छन् 'बिदा बस्ने भन्ने नै छैन।’   बुटवलमा अर्को एउटा दमकल रहेपनि त्यो जीर्ण भइसकेको छ।

सिद्धार्थनगर नगरपालिका भैरहवामा रहेका २ वटा दमकलका लागि २२ जना कर्मचारी खटिन्छन्। सिद्धार्थनगरका लागि यो पर्याप्त छैन। कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी भन्छन् ‘यी दमकल पर्याप्त छैनन्, कहिलेकाँही आसपासका क्षेत्रमा पनि जानुपर्ने भएकाले समस्यै छ।’ 

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकामा दमकल छ तर कर्मचारी छैनन्। एउटा चालकको भरमा दमकल चलिरहेको नगरपालिकाका सूचना अधिकारी आलोक अग्रहरिले जानकारी दिए। त्यस्तै जिल्लाका सैनामैना, देवदह नगरपालिकामा दमकल छैनन्। यी नगरले बुटवलको सहयोग माग्छन्। अर्को नगरपालिका तिलोत्तमामा भने दमकलको विषयमा मुद्दा चलिरहेको छ।

दमकल खरिदको टेन्डर प्रक्रिया पश्चात् तोकिएको समयमा सम्झौता भएको संस्थाले दमकल उपलब्ध नगराउँदा रकम फ्रिज भएको भन्दै नगरपालिकाले सम्झौता तोड्न खोज्दा सो संस्थाले नगरपालिकालाई मुद्दा दायर गरेको हो।

नगरपालिकाले मुद्दा जितेमा या हारेमा नगरपालिकामा दमकल आउने तिलोत्तमा नगरपालिकाका सूचना अधिकारी तथा लेखा अधिकृत रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार अहिले बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगरपालिकाको दमकलको सहयोग मागेर काम चलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.