|

मणिकुमार श्रेष्ठ-

    सुनसरी : एक नं. प्रदेशको व्यस्त सहर धरानमा ट्राफिक व्यवस्थापन गर्न समस्या पर्दै गएको छ। सडकको अवस्था जस्ताको तस्तै रहेको तर  सवारी साधनको चाप र   पैदलयात्रीहरुले जथाभावी बाटो काट्दा सवारी व्यवस्थापन तथा ट्राफिक व्यवस्थापन समस्या हुँदै आएको छ। पूर्वी पहाडी जिल्लाको प्रवेशद्धार मानिएको धरानमा सवारीको चापअनुसार सडकको क्षमता हुन नक्दा यस्तो समस्या भएका सवारी यातायात व्यवासायीहरु बताउँछन्। 

    यसरी सवारीको चाप र पैदलयात्रीको चापको कारण धरानको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। पैदलयात्रीहरुलाई सडक सचेतना पनि  कम हुँदा उनीहरुले जेब्रा क्रसिङ भएको ठाउँबाट मात्र नभई जहाँ पायो त्यहीँबाट बाटो काट्ने गरेका छन्। व्यस्त सडकबाट पैदल यात्रुलाई बाटो काट्नका लागि सजिलो होस भनेर जेब्रा क्रसिङको व्यवस्था गरिएको छ। 

    यात्रुहरुले जथाभावी बाटो काट्ने र सडकको अवस्था जहाँको त्यहीँ रहेकाले  ट्राफिक व्यवस्थापनमा चुनौ थपिदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान, सुनसरीका प्रहरी सहायक निरीक्षक इन्द्रदेव सिंह बताउँछन्। उनका अनुसार ट्राफिक प्रहरीले बारम्बार पैदल यात्रुका साथै सावारी साधनका धनीहरुलाई पनि सवारी नियमबारे जानकारी गराउँदा समेत समस्या समाधान नभएको बताए।

    धरानको मुख्य बजारबाहेक सडकको पेटीमा रेलिङ (बार) नभएको कारण पनि यात्रुहरुले जहाँ पायो त्यहीँबाट बाटो काट्ने गरेका छन्। यात्रुहरुलाई त जेब्रा क्रसिङको बारेमा जानकारी भएन तर यातायाय व्यवसायीहरु तथा कर्मचारीहरु समेत जेब्रा क्रसिङको उपयोगमा लापरबाही गर्ने गरेका छन्। मकालु यातायात धरानका इन्चार्ज रुपेश तामाङ आफूले पनि हतार परेको बेला जेब्रा क्रसिङको प्रयोग नगर्ने गरेको बताउँछन्। उनले यदि कडा नियम बनाइएको खण्डमा जेब्रा क्रसिङको प्रयोग बढ्ने बताए।

    यसैगरी पूर्वाञ्चल बस व्यवसायी संघ धरानका शिवराज चाम्लिङले सवारीसाधनमा बढी प्रतिस्पर्धा गर्नुपर्ने हुँदा जेब्रा क्रसिङमा खासै ध्यान दिन नसकेको बताए। आफूले देखेको समयमा यात्रुहरुलाई जेब्रा क्रसिङबाट बाटो काट्न लगाउने गरे तापनि आफूलाई हतार परेको समयमा  अन्य ठाउँबाट समेत बाटो काट्ने गरेको बताए।

    बस व्यवसायी तथा बसका कर्मचारीहरु तोकिएका ठाउँबाट बाटो काट्न नभ्याउने गरेको बताइरहँदा बस चालक राजेन्द्र ढकालले भने जेब्रा क्रसिङबाटै बाटो काट्ने गरेको बताए। उनले भने, ‘धरानमा अब आकाशे पुलको आवश्यक्ता छ। यहाँको सवारी चाप र यात्रुको चापअनुसार आकाशे पुलको निर्माण गर्न जरुरी भइसको छ।’

    यसैगरी, धरानको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको बताउँदै संयुक्त बस व्यवसायी संघ धरानका सचिव रत्न शाक्यले धरानको सडकको स्तरोन्नति गर्नु जरुरी रहेको बताए। नगरपालिकाले सडकको छेउमा बार लगाउनुपर्ने साथै नगरपालिकाले समेत धरानको ट्राफिक व्यवस्थापनको लागि चासो दिनुपर्ने शाक्यले बताए।

    उनी भन्छन्, ‘बसको संख्या वृद्धि भएको भएकै छ। सरकारले यसको लागि विशेष योजना नै ल्याउनुपर्छ।’ सडकको चौडाइ बढाउनेतर्फ ध्यान दिन आवश्यक रहेको बताउँदै उनले आपूmहरुले पनि ट्राफिक व्यवस्थापनका लागि सचेतना कार्यक्रम गरिरहेको बताए।

    यता, धरान उपमहानगरपालिकाले भने आकासे पुल तथा मूल सडकको स्तरउन्नति र त्यसको चौडा व्यवस्थापन गर्ने जिम्मा सडक विभागको भएको बताएको छ। उपमहानगर भित्रका अन्य सडकहरुको स्तरउन्नति तथा त्यसको व्यवस्थापनका लागि उपमहानगरपालिका खटिरहेको धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले बताए।

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.