|

गोरखा : आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले जिल्लाको ११ वटै तहमा उम्मेदवारको टुंगो लगाएको छ। शुक्रबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरेर जिल्ला इन्चार्ज चुडामणि खड्काले सबै तहमा उम्मेदवार छनोटको काम सकिएको बताएका हुन्। दुई नगरपालिका र ९ वटा गाउँपालिका रहेको गोरखामा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको हो।

जिल्लाको गोरखा नगरपालिकामा माओवादीले हालका नगर इन्चार्जसमेत रहेका कृष्ण रानालाई नगरप्रमुख पदमा उठाउने टुंगो लगाएको छ। गोनपामा उपप्रमुख कसलाई बनाउने भन्नेबारे भने माओवादीले सार्वजनिक गरेको छैन। तर, माओवादी स्रोतका अनुसार कमला नहर्कीलाई उपमेयर बनाउने लगभग सहमति भइसकेको छ। त्यस्तै, जिल्लाको अर्काे नगरपालिका पालुङटारमा प्रमुखका लागि विवश चिन्तन र उपप्रमुखमा पम्फा बसेलको उठ्ने पक्का भइसकेको माओवादी केन्द्र गोरखाका जिल्ला इन्चार्ज खड्काले जानकारी दिएका छन्। 

अजिरकोट गाउँपालिकामा प्रमुखमा दीपक देवकोटा र उपप्रमुखमा अनिता भुजेल उठ्ने इन्चार्ज खड्काले बताए। जिल्लाको तिब्बतसँग सिमाना जोडिएको हिमालपारिको चुमनुब्री गाउँपालिकामा प्रमुखमा लाक्पा डुण्डुप र उपप्रमुखमा कुमारी गुरुङ उठ्नेछन्। धार्चे गाउँपालिकामा प्रमुखमा सूर्य गुरुङ र उपप्रमुखमा आशा गुरुङ चुनावी मैदानमा उत्रने पक्का भएको हो। सुलिकोट गाउँपालिकामा विष्णु भट्ट प्रमुखमा र उपप्रमुखमा सनमाया गुरुङ उठ्नेछन्। आरुघाट गाउँपालिकामा जगन्नाथ खनाल र अमृता लामा क्रमशः प्रमुख र उपप्रमुख उठ्नेछन्।

भीमसेन गाउँपालिकामा लोकप्रसाद बञ्जरा प्रमुख र लीला श्रेष्ठ उपप्रमुख उठ्ने माओवादीले जनाएको छ।सहिद लखन गाउँपालिकाको प्रमुखमा रमेश थापा मगर र उपप्रमुखमा इन्दिरा तिवारीको नाम रहेको छ। गण्डकी गाउँपालिकामा दीपक तिमल्सिना प्रमुख र उपप्रमुखमा पूर्णा थापा चुनावी मैदानमा लड्ने माओवादी केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.