|

चुनाव घोषणा भैसकेको थियो। देशलाई स्वर्ग बनाउने प्रतिस्पर्धामा उम्मेदवार हुने र चुनाव जित्ने रिहर्सल पृष्ठभूमिमा चल्दै थियो। आज भने पर्दापछाडिको रिहर्सल रोकेर घोषणापत्र सार्वजनिक गर्ने उद्देश्यले पर्दाअगाडि पत्रकार सम्मेलन आयोजना गरिएको थियो।

पत्रकार जम्मा भैसकेका थिए। तर नेताको कुर्सी खाली नै थियो। निर्धारित समय कटिसकेको हुँदा पत्रकारहरू सल्बलाउन थालिसकेका थिए। धैर्यको घडी सकियो। मञ्चमा नेता झुल्किए।

‘ताली ताली ताली...’, सम्मेलनको कुनातिर रहेको पाँच जनाजतिकोे कार्यकर्ताको झुण्डले लेघ्रो तान्दै सबैलाई ताली बजाउन निर्देशनात्मक आदेश ग¥यो।
मन नलागी नलागी केही पत्रकारले पनि ताली बजाइदिए। धेरैका हात भने तालीका लागि उठेनन्। 

आफ्नो पार्टीको घोषणापत्र देखाउँदै नेताजी बोल्न सुरु गरे– 
‘पत्रकार महोदय! यो हाम्रो घोषणापत्र। मतलब हाम्रो पार्टीको घोषणापत्र। यसभित्र लेखिएको छ– हाम्रो पार्टी सबैभन्दा गज्जबको पार्टी हो। हामी सबैभन्दा गज्जबका नेता हौँ। हामी गज्जबले चुनाव जित्छौँ अनि हामी गज्जबले देश विकास गर्छौँ। अनि तपाईँहरू सबैलाई गज्जब हुन्छ। तपाईँहरू सबैले गज्जबले जिन्दगी बाँच्न पाउनुहुन्छ। ल भन्नुस् त अब हाम्रो पार्टीको घोषणापत्र गज्जब छैन त? अनि तपाईँहरूले हाम्रो घोषणापत्रको कुरा त गज्जबले बुझ्नु भो नि?’, नेताले नै पत्रकारलाई प्रश्न गरे। 

‘तपाईँका घोषणपत्रका कार्यक्रम त गज्जब नै गज्जबका रहेछन्। घोषणापत्रमा यता पनि गज्जब, उता पनि गज्जब, त्यता पनि गज्जब। बरु तपाईँको पार्टीको नाम पनि परिवर्तन गरेर गज्जब पार्टी राखे हुन्न?’, एक पत्रकारको जिज्ञासा नेताको मथिंगलतिर प्रवेश गर्‍यो।

‘हो, पत्रकार महोदय! गज्जब! गज्जब!! गज्जब!!! सुझाव दिनु भो तपाईँले। अब हामी त्यसतर्फ पनि भविष्यमा गज्जबले सोच्ने छौँ’, नेताको प्रत्युत्तर आयो।

‘तपार्इँहरूको घोषणात्रमा त शिरदेखि पुच्छरसम्म गज्जबै गज्जब मात्र छ। गज्जबबाहेक अरू केही नगर्ने?’, पुनः अर्को पत्रकारको प्रश्न आयो। 

‘गर्ने। सबै गर्ने। गर्न केही बाँकी नराख्ने। सबै काम गज्जबले गर्ने। सबै काम गरेपछि देश गज्जब हुन्छ। हामी गज्जबका मान्छेले काम गरेपछि देश गज्जब बन्छ। यो हाम्रो गज्जबको आइडिया हो। यो आइडिया आयातीत नभएर पूर्ण मौलिक आइडिया हो’, नेताले भने।

‘मतलब विकास निर्माणका कुरा, राजनीतिक निकासका कुरा, नागरिकको जीवनस्तर उठाउने कुरा, देशको अर्थतन्त्रमा सुधार ल्याउने कुरा यस्ता कुरा पो हुनुप¥यो त घोषणापत्रमा त। खै यी विषयमा तपाईँको घोषणापत्रमा केही छैन। जुन पाना हेर्‍यो, गज्जब गज्जब मात्रै लेख्या छ त! गज्जबबाहेक केही कुरा छैन त!’ 

गज्जब! गज्जब!! ल गज्जबको कुरा गर्नु भो पत्रकार मित्रले। हाम्रो घोषणापत्रमा विकास छन्, निकास छन्। अर्थ छन्, अधिकार छन्। सब छ। तर यो सब देख्नलाई हेर्ने आँखा पनि त गज्जब चाहिन्छ नि! तपाईँ अलि गज्जबको आँखाले हेनुस् त, सब देख्नुहुन्छ।’

‘ल भन्नुस त त्यसो भा’, तपाईँको पार्टीको घोषणापत्रमा विकासका केके एजेण्डा छन्?’

‘हाम्रो पार्टीको घोषणापत्रमा विकासका गज्जब एजेण्डा छन्। हेर्नुस् पत्रकार महोदय! हामी अरू पार्टीले जस्तो देशलाई सिंगापुर बनाउने भन्दैनौँ। अरूको एजेण्डा कपी गरेर देशलाई युरोप, अमेरिका बनाउने पनि भन्दैनौँ। हामी त देशलाई थाइल्याण्ड बनाइदिन्छौँ, जो अरूका एजेण्डामा छैनन्। उस्तै परे देशलाई आइल्याण्ड पनि बनाइदिन्छौँ। अनि कुरा पत्रकार मित्र, हामी नसक्ने कुरा गर्दै गर्दैनौँ, सक्ने मात्र कुरा गर्छौँ। हामी कुरा पनि गज्जब गर्छौँ र काम पनि गज्जब गछौँ। बुझ्नु भो?’

‘विकासका स्पेसिफिक एजेण्डा केके छन् तपाईँहरूको घोषणापत्रमा?’, फेरि पत्रकारले सोधे।

‘हाम्रा सबै एजेण्डा स्पेसिफिक छन्। नपत्याए ल घोषणपत्र पल्टाएर हेर्नुस्, पत्रकार महोदय! अब यो बाटो बनाउने, पुल बनाउने, धारा बनाउने, स्कुल बनाउने, अस्पताल बनाउने जस्ता एजेण्डा खोज्नुभएको होला घोषणापत्रमा तपार्इँहरूले। यी सब आउटडेटेड एजेण्डा भए। यस्ता अरू पार्टीले विगतमा उठाइसकेका आउटडेटेड एजेण्डा हामीलाई गज्जब लागेन। त्यसैले हामीले नयाँनयाँ विकासका एजेण्डा राखी घोषणापत्र जारी गरेका छौँ’, नेताजी बोले। 

'हामी त धन नहुनेलाई धन दिन्छौँ, मन नहुनेलाई मन दिन्छौँ। आँखा नहुनेलाई आँखा दिन्छौँ, कान नहुनेलाई कान दिन्छौँ। नाक नहुनेलाई नाक दिने, मुख नहुनेलाई मुख दिने। जजसलाई जेजे अभाव छ, ती सबै हामी दिन्छौँ। हामी दिन्छौँ मात्र, केही लिँदैनौँ। सिर्फ एउटा भोट लिन्छौँ।’

‘केचाहिँँ नयाँनयाँ एजेण्डा छन् तपार्इँको पार्टीको घोषणापत्रमा? अलि क्लेयर गरिदिनुस् न!’

‘हो, गज्जब! गज्जब!! गज्जब!!! जिज्ञासा राख्नु भो तपाईँले। ल ध्यान दिएर सुन्नुस्। सुन्नुस् मात्र होइन, पत्रिकामा लेख्नुस् पनि। कुरा के भने पत्रकार मित्र, हामीले चुनाव जित्यौँ भने गाई नहुनेलाई गाई दिन्छौँ, भाइ नहुनेलाई भाइ दिन्छौँ। आमा नहुनेलाई आमा दिन्छौँ, मामा नहुनेलाई मामा दिन्छौँ। बोका नहुनेलाई बोका दिन्छौँ, डोका नहुनेलाई डोका दिन्छौँ। श्रीमती नहुनेलाई श्रीमती दिन्छौँ र श्रीमान् नहुनेलाई श्रीमानसमेत दिने हाम्रो घोषणापत्रमा छ।’ 

‘त्यति मात्र हो र पत्रकार महोदय! हामी त धन नहुनेलाई धन दिन्छौँ, मन नहुनेलाई मन दिन्छौँ। आँखा नहुनेलाई आँखा दिन्छौँ, कान नहुनेलाई कान दिन्छौँ। नाक नहुनेलाई नाक दिने, मुख नहुनेलाई मुख दिने। जजसलाई जेजे अभाव छ, ती सबै हामी दिन्छौँ। हामी दिन्छौँ मात्र, केही लिँदैनौँ। सिर्फ एउटा भोट लिन्छौँ।’

‘ओहो! वाफरे वाफ! तपार्इँको घोषणापत्रले त यो देशलाई रामराज्य बनाउने रहेछ। यी सब कुरा उपलब्ध हुन्छन् चाहिँ कसरी? यस्ता उडन्ते आश्वासन दिएर कसरी पूरा गर्नुहुन्छ?’ 

‘नो, नो, नो! पत्रकार महोदय! तपाईँले के कुरा गर्नुभा’को? हामी कसैलाई उडन्ते अश्वासन दिँदैनौँ। हामी हाम्रो घोषणा पूरा गर्ने योजनाका साथ आएका छौँ। हेर्नुस् पत्रकार महोदय! हाम्रो पार्टीले चुनाव जित्यो भने हामी देशभर उद्योगधन्दा खोल्छौँ। गाई चाहिनेका लागि गाई उत्पादन कारखाना खोल्छौँ, भाइ चाहिनेका लागि भाइ उत्पादन कारखाना खोल्छौँ। कान चाहिनेका लागि कान बनाउने कारखाना स्थापना गर्छौँ, नाक नहुनेका लागि नाक बनाउने कारखाना खोल्छौँ।

यस्तै श्रीमान् बनाउने कारखाना, श्रीमती बनाउने कारखाना, आमा बनाउने कारखाना, मामा बााउने कारखाना, छोरा बनाउने कारखाना, छोरी बनाउने कारखाना, सबका सब बनाउने कारखाना हाम्रै देशमा हुनेछन्। धन नहुनेका लागि धन उत्पादन कारखाना र मन नहुनेका लागि मन उत्पादन कारखाना र बुद्धि नहुनेका लागि बुद्धि उत्पादन कारखाना पनि अब हामी देशभित्रै स्थापना गर्नेछौँ।

जजसको लागि जेजे आवश्यक छ, ती सबै उत्पादन गर्ने कारखाना स्थापना गर्ने हाम्रो योजना छ। अब हामी कुनै कुरामा विदेशीको भरपर्दैनौँ। बरु हामी देशमा नाक, कान घाँटी, आमा, मामा, श्रीमती, श्रीमान्, छोरा, छोरी, धन, मन, बुद्धि सब उत्पादन गरेर विदेशमा निर्यातसमेत गर्छौँ।’ 

‘पत्रकार महोदय! हाम्रो देशमा अब कसैले पनि रुनुपर्दैन। किनकि अब हामी टोलटोलमा हाँसो र खुसी उत्पादन कारखाना खोल्छौँ। पाइपबाट घरघरमा पानी र ग्याँस पुर्‍याउने कुरा धेरै पुरानो एजेण्डा भयो। हामी त्यस्ता थोत्रा एजेण्डा समातेर बस्दैनौँ। हामी त अब घरघरमा पाइपबाट हाँसो र खुसी पुर्‍याउँछौँ र हरेकका घरमा ढल जोडेर ढलमार्फत् दुःख पीडा र आँसुहरू बाहिर निकाल्छौँ। भन्नुस् त पत्रकार महोदय! कस्ता छन् हाम्रा घोषणापत्र। गज्जब छैनन् त!’

पत्रकार जिल्लिए। थप प्रश्न गर्ने हिम्मत भएन।

गज्जबको पार्टीको गज्जबका नेताले बनाएको गज्जबको घोषणापत्रले गज्जबको चुनावमा गज्जबले नै चर्चा पायो। चुनावचाहिँ कसले जित्ला? आगे जनताको इच्छा! 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.