'खोजी गरेका ठाउँमा उपस्थित हुनेछु'

|

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डे सार्वजनिक कार्यक्रमहरुमा सक्रिय हुन थालेका छन्। महासंघको ४८ औं साधारणसभाबाट विधिवत रुपमा निर्वाचित भएर अध्यक्ष बनेपछि उनी कानुनी फन्दामा फसेका थिए। अध्यक्षमा निर्वाचित भएको नौ महिनामै कानुनी फन्दामा फसेका पाण्डे कुनैपनि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।

४८ औं साधारणसभाबाट हार व्यहोरेपछि प्रतिस्पर्धीले उनीविरुद्ध हालेको उजुरी सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। ५ फागुन ०७३ मा न्यायाधीशद्वय दीपकराज जोशी र तेजबहादुर केसीको संयुक्त इजलासले उनी निर्दोष रहेको फैसला सुनाउँदै सफाइ दिने निर्णय गरेको थियो।

वर्षौं पुरानो फौजदारी मुद्धा ब्युताउन खोजिएको र जिल्ला अदालत काठमाडौंले सुनावाइ गर्ने मौकासमेत नदिएको अवस्थामा सर्वोच्चले भने निर्दोष रहेको र अन्यायमा परेको उल्लेख गरेको थियो। सर्वोच्चले निर्दोष भएको ठहर गरेसँगै उनी पुन: सार्वजनिक कार्यक्रममा सक्रिय हुन थालेका हुन्। अहिले सञ्चार माध्यमहरुमा समेत पाण्डले आफ्ना विचारहरु व्यक्त गर्न थालेका छन्।

सर्वोच्चको सफाइपछि पूर्वअध्यक्षको कदर गर्दै नेपाल उद्योग वाणिज्य महासंघले गत चैत २८ गते गरेको सम्मानमा भने उनी उपस्थित थिएनन्। शुक्रबारदेखि राजधानीमा आयोजना गरिएको पहिलो बैकिङ एक्स्पोमा उनी अतिथिको रुपमा उपस्थित थिए।

शुक्रबार बैंकिङ एक्स्पोमा पाण्डे

शुक्रबार भृकुटीमण्डपमा बैंकिङ एक्स्पोको आयोजक संस्था मिडिया इन्टरनेसनलले अतिथिको रुपमा निमन्त्रणा गरेपछि पाण्डे एक्स्पोमा उपस्थित भएका हुन्। आयोजक मिडिया इन्टरनेसनलका प्रबन्ध निर्देशक माधव निर्दोषका अनुसार ११:१५ बजेको लागि निमन्त्रणा गरिएकोमा उनी  समय भन्दा अगावै कार्यक्रमस्थल आइपुगेका थिए।

प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर रहेको त्यस कार्यक्रममा पाण्डे नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्दै पूर्व-अध्यक्षको हैसियतले आएका हुन्। अतिथि वक्ताको रुपमा उनी कार्यक्रममा उपस्थित भए तापनि गभर्नरको समय अभावका कारण अन्य वक्ता बोल्ने कार्यक्रम छोट्याइएको थियो। उनी गभर्नरसँगै मञ्चको अगाडिको लाइनमा बसेका थिए। कार्यक्रमको अन्तिम समयसम्म पनि उनी मञ्चमै देखिए। 

'प्रदीपजंग पाण्डे एउटा इमान्दार व्यवसायी र सक्षम नेतृत्व भएको व्यक्ति लाग्छ, केही समय बीचमा हराउनु भएको थियो तर अहिले उहाँलाई महासंघको पूर्व अध्यक्षको रुपमा मैले बोलाएको हुँ सहजै आइदिनुभयो' मिडिया इन्टरनेसनलका प्रबन्ध निर्देशक निर्दोषले थाहाखबरसँग भने।

पूर्वअध्यक्ष पाण्डेले आफू निर्दोष रहँदा रहँदै पनि बीचको एक/ दुई वर्ष सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुन नपाए पनि अब भने आफ्नो खोजी भएका ठाउँमा जाने बताए। उनले आफू निर्दोष भएको र अन्तत: सर्वोच्चले समेत त्यही ठहर गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.