|

काठमाडौं : ‘मेरो वर्ष अभियान २०७४’  आगामी २१ गते देशैभरि मनाइने भएको छ। स्वास्थ्यमन्त्री गगनकुमार थापाले ‘मेरो वर्ष अभियान २०७४’ घोषणा गरेको २१ दिनपछि सबै जिल्लामा मनाउन लागिएको हो। स्वास्थ्य शिक्षा सूचना तथा सञ्चर केन्द्रका निर्देशक बद्री बहादुर खड्काले स्वास्थ्य मन्त्रीको निर्देशनअनुसार वैशाख २१ मा ७५ जिल्लामै मेरो बर्ष अभियान मनाउन लागिएको बताए।

नयाँ वर्षको अवसर पारेर वैशाख १ गते ‘म स्वस्थ–मेरो देश स्वस्थ’ भन्ने मूल नारासहित अभियान घोषणा भएको थियो। खड्काले भने, ‘एक वर्षे अभियान अन्तरगत केन्द्रमा बैशाख १ गते सुरु भएको छ। जिल्लाहरुमा कार्यक्रम भएका छैनन्। सोहीअनुसार अभियानलाई प्रभावकारी बनाउन २१ गते सबै जिल्लाहरुमा कार्यक्रम गर्ने निर्णय भएको हो।’

व्यक्ति र परिवार स्वस्थ रहन सके मात्रै देश स्वस्थ हुन सक्छ भन्दै १ बैशाख नयाँ वर्षको दिन पारेर मा प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्य मन्त्री गगन थापाले रगंशालाबाट मेरो वर्ष अभियानको सुरुवात गरेका थिए। सोही कार्यक्रमअन्तरगत जिल्लाहरुमा जनतालाई सचेतना जगाउन कार्यक्रम गर्न लागिएको खड्काले जानाकारी दिए।

नसर्ने रोगहरुको न्यूनीकरण गर्नको लागि गाउँबाटै अभियान थाल्नुपर्ने देखिएको हुदा मन्त्रीको निर्देशनमा जिल्ला र गाउँ केन्द्रित कार्यक्रम राखिएको खड्काले बताए। धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन, अत्यधिक मदिरा सेवन, अस्वस्थकर खानपान, व्यायामको कमी र वायु प्रदूषणका कारण नेपालमा नसर्ने रोगका विरामीहरुको संख्या बढिरहेको चिकित्सकहरुले बताउने गरेका छन्। कार्यक्रमका लागि सबै जिल्ला जनस्वास्थ्य कार्यलयमा शुक्रबार नै परिपत्र गरिसकिएको स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।

बदलिँदो जीवनशैलीका कारण नसर्ने रोगहरुको प्रकोप बढिरहेको बेलामा जनतालाई रोगबाट  बच्न र स्वस्थ्य जीवनशैली अपनाउनको लागि 'म स्वस्थ, मेरो देश स्वस्थ' भन्ने नाराका साथ स्वास्थ्य मन्त्रालयले ' मेरो बर्ष अभियान २०७४' सुरु गरेको छ। हाल नेपालमा कुल मृत्युको ४४ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ।

५ वटा प्रतिबद्धतालाई नागरिकले आफ्नो जीवनशैलीमा लागू गर्न सके जोखिमयुक्त दीर्घरोगसँग बच्न सकिने हुँदा सबैलाई नयाँ वर्ष २०७४ लाई आफ्नो स्वास्थ्यको बर्ष बनाउन सहयोग पुगोस् भनी मन्त्रालयले मेरो वर्ष अभियान २०७४ सुरु गरेको हो।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.