लहान : तत्काल उपचार नपाए डसेको २० मिनेटभन्दा कम समयमै मानिसको ज्यान लिने गोमन सर्प देख्दा मात्र होइन, नाम लिँदा पनि जोसुकैको आङ नै सिरिंग हुन्छ। त्यस्तो विषालु र खतरनाक गोमन सर्प नै मानिसको जीविका चलाउने सहारा बनेको छ भन्ने सुन्दा सायद धेरैलाई पत्यार नलाग्न सक्छ तर, सिरहाको लहान नगरपालिका २० ब्रह्माण गोरछाडी गाउँका ४५ वर्षीय फुल मोहमद नटको जिन्दगी चलाउने सहारा नै त्यही विषालु गोमन सर्प बनेको छ।
पछिल्लो एक वर्षदेख मिर्गाैला रोगले थालिएका सुकुम्बासी नटको सम्पत्तिको नाममा ऐलानी पर्ती जमिनमा ओत लाग्ने छाप्रो र विषालु दुई वटा गोमन सर्प छन्। योबाहेक उनीसँग केही छैन छ त केवल बिरामी शरीर। गाउँ बस्तीहरुमा सर्प देखाएर नै ११ जनाको परिवारको जीविका चलाइरहेका उनको आयआर्जनको अन्य स्रोत नहुँदा थलिएको शरीर तङ्ग्रिन सकेको छैन। सर्प देखाउँदै गाउँघरमा मागेको अन्न अनाज र रकमले हातमुख जोड्नुका साथै सामान्य उपचारसमेत गरिरहेका छन्।
नटको पुख्र्यौली पेसा सहर बजारमा सर्प नचाएर गुजारा गर्ने सपेरा भएकाले नटका ६५ वर्षीय बाबु ताहिर अन्सारीले आफ्नो पुख्र्यौली पेसा छोडेका छैनन् । बुढ्यौली उमेरमा पनि अन्सारी गाउँ गाउँमा सर्प देखाउने गरिरहेका छन् । ‘पुख्र्यौली पेशा सपेरा भएपनि सर्प देखाउने सानैदेखि मन परेको थिएन’ उनले भने ‘पाखुरामा बल हुञ्जेल सपेराको काम गरिनँ बरु पसिना चुहाएर तातो घाममा लहान बजारमा रिक्सा चलाएँ।’ स्थानीय बजारमा विद्युतीय सिटी रिक्साहरु नभएकाले रिक्सा चलाएर दैनिक एक हजार रुपैयाँसम्म कमाइ हुँदा परिवारको गुजार राम्रो चलेको उनी बताउँछन्।
मिर्गाैला खराब भएर थलिँदा वृद्ध बाबुको मात्र कमाइले परिवारको बिहान बेलुकाको छाक टार्न नै मुस्किल पर्न थालेपछि आत्महत्या गर्नेसम्म सोचेको उनले सुनाए। पछिल्लो मंसिरमा छिमेकी गाउँ लहान मटियर्वामा लक्ष्मी चौधरीको घरमा गोमन सर्प पसेको गाउँभरि हल्ला सुनेपछि त्यहाँ पुगेका उनले ‘सर्प देखाएर माग्न त हुन्छ’ भन्ने सोचले ज्यानको बाजी लगाएर सर्प पक्रेको उनी बताउँछन्।
‘सामान्य मानिसका लागि सर्प दुष्ट भए पनि यो मेरो लागि बाँच्ने सहारा बनेको छ’ उनले भने। काठको बाकसमा दुईवटा गोमन सर्प बोकेर गाउँ गाउँ डुलेर सर्प देखाउँदा दैनिक चार सयदेखि पाँच सय रुपैयाँसम्म कमाइ हुने र त्यही कमाइले बिहान बेलुका चुलो बल्ने गरेको उनी बताउँछन्।
पछिल्लो छिमेकी कटहा गाउँमा अर्को गोमन सर्प पक्रेपछि अहिले बाबु छोराको दुई÷दुई वटा गरी चारवटा सर्प छन्। उनीहरु बाबु छोरा सर्प देखाउन र पक्रन उदयपुरको कटारी, गाईघाट, बेलटार, सप्तरीको कदमाहा, शिशुवारी, कल्याणपुर, कठौना, सिरहाको गोलबजार, धनगढी, मिर्चैया, धनुषाको धारापानी, ढल्केबर, लालगढ सम्मको गाउँ गाउँमा जाने गर्दछन्।
सरकारले मिर्गौला, क्यान्सर, कुष्ठ रोग जस्ता जटिल रोगको निःशुल्क औषधि उपचारको व्यवस्था गरे पनि सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका अस्पतालमा उपचारको लागि जाँदा चिकित्सकले उपचार नगरेपछि निजी क्लिनिकमा उपचार गर्ने गरेको बताउँछन्।
नट जातिको सम्पत्ति नै सर्प
सिरहाको सिरहा, बलकवा, सारश्वर, कल्याणपुर, धनगढी, निमचोक, लगायतका ठाउँमा गरी एक सय २५ घरको हारहारीमा रहेका मुसलमान समुदायका नट अल्पसंख्यक जाति हुन्। फिरन्ते जीवन बिताउने यो जातिको मुख्य पेसा भनेको महिलाहरुले खोदा (टाटु) भर्ने र पुरुषहरुले सर्प, बाँदर, भालु नचाउनु हो। सप्तरी खोजपुरका उसमान मियाँ सपेरा जातिमा जसको सर्प बढी छ, उ नै आफ्नो समुदायमा धनी कहलाउने बताउँछन्।
दाइजोमा सर्प
अन्य जातिमा विवाह हुँदा छोरीलाई दाइजोमा धन दौलत, सुन चाँदी पैसा दिने गरिन्छ नटहरु छोरीको विवाह गर्दा अनिवार्य रुपमा दाइजोमा सर्प दिनुपर्ने चलन रहेको लहानका उल्फत हुसैन बताउँछन्। सप्तरी कुसहा गाउँका नसिम राइन पहिले यस्तो चलन भए पनि अहिले नट जातिले सपेरा पेसा छाड्दै गएको र नट जातिमा पनि चेतनाको विकास हुँदै गएकाले दाइजोमा सर्प दिनुपर्छ भन्ने छैन, सर्प नहुनेले सुन चाँदी दिने गरेको बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।