|

रोयल क्यासल, एक निकै पुरानो प्रेमको वस्ती, एउटा युगल प्रेमगीत बज्ने घर। उच्छवासका घण्टहरू बजिरहने, मोहक अत्तर मौलाइरहने, पुरानो टेपरिकार्डरमा सुनाइरहने ज्याज, बजिरहने सितारको धून बादलमा झुल्किरहेको थियो।

लेखक प्रेमी आफ्नी प्रिय प्रेमिकाका लागि लामा–लामा उपन्यास र कथा लेखेर सुस्ताएपछि कविता हुँदै अहिले हाइकुतिर झरेको थियो। प्यासका लागि कुवा अनौठो लाग्न थालेपछि जल बोतलमा थुनिएर आएको थियो। गौरीशंकरबाट निर्झर तपतपाइरहेको मीठो कुवाको पानी पिउँदै युगल जीवनको माया उप्किरहेको थियो।

पूर्वी नेपालको मस्तीको थलो धरान बजारलाई प्रसिद्ध बनाउने कुन्ती मोक्तानको गीत र युवकको आदिम प्रेमको नवीन संस्करण समकालीन दस्तावेज हुन् जस्तो लाग्छ।

सरिता जस्तै निर्मल भइ बहिरहेका 
आदि अनादिकालदेखि
सुसाइरहेका, साउती मारिरहेका 

सरिता प्रवाह दुर्गम पहाडी छिद्र खोपेर निस्कियो। गल्छी हँुदै समथरमा पुग्यो। लाम्चो थियो, चौडा भयो। समुद्रमा गएर पनि उस्तै रह्यो, घोलिन मञ्जुर भएन। स्वभावलाई बाँकी राख्यो। सहस्र तत्त्वबोध एकै हुने अवस्थामा विचरण गरिरहँदा नदीको आदिमताबारे घोत्लिन थाले। 

मानव सभ्यता हेर्ने हो भने सबै कोणबाट नदी किनारामा विकसित भएको देखिन्छ। झरना, ताल, नदी, समुद्र सबै पानीका स्रोतहरू मानवीय जीवन मात्र नभई प्राण भएका सबैका लागि अनिवार्य धाम र धर्म बनेका छन्।

क्रमशः फस्टाउँदै गएको प्रेमको अंकुरण सरिता प्रवाहमा बढ्दै गयो। बेलीमा चमेली बसाउन थाल्यो। अनायास घटेका यी कुराहरू डाँडामा छुटेको पाथी जस्तो, रूखका बोक्रामा लेखेको नाम जस्तो, समयको लेपले विभिन्न आयामहरूमा बाँडिदिएको थियो, टालिदिएको थियो।

विश्रामको खोजीमा कहीँ जाने इच्छा नभई रुमल्लिरहेका बेला बजेको धून नदीको छाया पाएर समुद्रतर्फ लागेको थियो। आफ्नो कुनै लक्ष्य थिएन। पहिले बतासको बेगमा हिँड्ने युवक, अहिले नदीको तालमा तैरिरहेको थियो। अन्तिम सत्य समुद्र होइन भन्ने थाहा उसलाई थियो। परिवारको दलदलमा कमल फुल्न नसक्नु ऊ मात्र कारण थिएन। जंगलमा बादल र प्रकाशको सम्मिश्रण बखत जन्मने रूखविहीन, जराविहीन, बीजविहीन च्याउ पट्यौलालाई देखेर लालाबालाको तृष्णा पलाएको थियो। जंगलका चर्चा जंगलमै उठे र उतै बिलाए। आँतसम्म पसेको प्यास अज्ञातवस नदीमा होमिएको थियो। कामेच्छाको मलिन धागो केवल संसार चलाउनलाई कसरी भन्न सकिन्छ? 

कविमन सुसाउँछ। लालीगुराँसको छायामा राता फूलका पातहरू बटुल्दै मोहोनी काव्य सृजना गर्छ।

म ढल्न सकिनँ यो जगमा
या मञ्जुर भएन जगले मलाई ढाल्न
तामा खान रोपेको बाँसले
अन्त्यहीन यात्राका लागि बोलाइरहँदा पनि 
उठ्न अल्छी गरिरहेको छ
केही छुटेको छ उसको
केही बोकेको छ उसले 
नीलो दहको डिलमा 
अक्सर मान्छेहरू बल्छी लिएर बस्छन्
ऊ मनका भावहरू फिसिङ गर्न 
साउती मारिरहेको छ।

आइरन लेडी कुनै बलिई स्त्रीको नाम होइन, ऊ त बचेरासँग हुर्किरहेकी आमाको अवतार हो। प्रिय शब्द आमा आदिमकालदेखि आत्मीय रहँदै आएको छ। हुनसक्छ, यी शब्दहरूको जननी पनि आमा हुनुपर्छ अन्यथा आमाको शब्द उच्चारण गर्दा आउने साउण्ड र इफेक्ट उत्पत्तिबखतको ओमकार परिवार सदस्य लाग्छ। सुकिला आँखा, फुर्किलो मन, फरफराउँदो यौवनको रङ, सिँगार्नलाई पर्याप्त छन्। जाँघले जंघार तर्दा ट्रेकिङ बन्नपुग्छ। बेतालमा ताल वरिपरि पदयात्रा गर्दा वाकिङ बन्छ, प्रेमको नगरीमा फुसफुसाइरहँदा सन्तानहरू जीवनलाई पुनःसंस्करणमा बाचइराख्न जन्मेका जस्तो। कर्म गर्दागर्दै चहराइरहेको मधुरो मर्ममा मह्लम लगाउन सुफीबर्फी धर्म गाउने भन्दै ईश्वरको नाममा भजन गाउँदै हिँडिरहेका छन्। 

ऐनाको अस्तित्वपहिले आँखा नै ऐना थियो सायद वा जलराशि। माछाहरूमार्फत् उधारो सौन्दर्य लिएका मत्स्यकन्याहरू, जलपरीहरू मोहक शरीरको छायामा हासिरहेका छन्, बडेमानको पुरुष वृक्षको ओतमा अनायास मौलाएका लहरा लतिकामा अल्झिएका छन्। जगमा देखिनु, देखाउनु नै स्त्रीको केन्द्रीय रुचि मान्नेहरू एकतारा लिएर घरघरमा सुनाइरहेका छन्, गोरोपनाको रहस्य, दह्रोपनाको रहस्य, सिलिकन भ्यालीमा फुलेको प्याउली फुलाडम्बर, भक्कु बिकेका छन्।

शक्तिको आवश्यकता त्यतिबेला पर्छ, जब कसैको अहित गर्नु छ। नत्र जगतमा त सबै कुरा पाउनका लागि प्रेम नै पर्याप्त छ। जुन प्रेम आदि शिवनादबाट चुहियो, जुन प्रेम कृष्णको संगीतमा भरियो, जुन प्रेम बुद्धको ललाटमा पोतियो, जिससको क्षमामा देखियो, हरेक जागरुक प्राणीमा देखियो। प्रेम वास्तविक स्वभाव हो, तर चुक्यौँ हामी अहंकारले गर्दा सधँै अरूको विनय सुन्ने लोभ बौरिएर आयो। 

हिँडिरहे यी गोडाले
गन्तव्य एक दिन पाउनेछन्
अन्धकारसँग लडिरहे
प्रभात पक्कै झुल्कनेछ
यदि सोच्यौ कि लक्ष्य समाई बढ्नु छ
ए पथिक! कहिल्यै नथाक, केवल हिँडरहे
एक दिन धु्रवसत्य समय 
तिम्रो आडमा उभिनेछ।

महत्त्वको मेमोरी एल्बममा घरपरिवार र आफ्नाहरूको पहँुच हुन्थ्यो, लाटा तस्वीरहरूको बाठो यात्राले डिजिटल एल्बमसम्म ल्याइपु¥याएको छ। अब त साझा झमेला बनेको छ सबैका लागि। संसार चिहाउने आँखीझ्याल बनेको प्राविधिक सन्निपात जीवनशैलीको एक अनिवार्य हिस्सा भइसक्यो। एक जोर फूलदानी आँखा पनि यसमै लडेका छन्, कोही टाढा बसेर अड्न खोजिरहेका छन्, कोही नजिकै रहेर चिप्लिरहेका छन्।

जीवन सरिता सहज आभामा धार लागिरहेको छ। खोलामा निरन्तरको धारको मारमा परेको धारिलो ढुंगाले आफ्नो आङमा खुसीका कृतिहरू कुँदेको छ। कुवाको मुखमा मन थामेर बसेको अचल शिलादेवको पिठ्युँमा कोमल डोरीले कन्याइदिएका डामहरू छन्। प्रवाहमा बहनेहरूका लागि देखाउने कुरा हुँदैनन्, किनकि उनीहरू पहिले नै छर्लंगै हुन्छ्न। प्राकृतिक पारदर्शी पहिरन उनीहरूको स्वभावमा टाँसिएको छ।

प्रियतमाका सबै फर्माइसहरू पूरा गर्न सकिँदैन। लेखक पति, लेखक पिता र लेखक छोराको भूमिकामा नाच्ने प्रेमिका निम्ति के घर के डेरा जस्तो देखिएका भेटिएका सबै आफ्ना लाग्छन्। राजखलकको स्वभाव बोकेर आएपछि सबैलाई सानो देख्ने समान आँखाद्वारा काव्यको वर्षा गराइरहेका छन् उनी।

कालीदासको मेघदूतमा वर्सने बादललाई जितेर, जयदेवको गीत गोविन्दम् गाउनलाई गन्धकुटी अर्थात् दरबारमा निम्त्याएका छन्, समकालीन समयका उस्ताद राहफत्तेबहादुरलाई। तबलाले सुर समाउँदा, कार्पेटमा आगोको लप्का निकाल्ने सुरवीरको कामरागिनीमालालाई मल्हार रागमा श्रवण गरिरहेका छन्।

प्रायः सबैजना वसन्त ऋतुको प्रतीक्षा गर्छन्, उनी वसन्तको बिदाइका लागि दिन गनिरहेका छन्। आउने समय राम्रो, भएको समय हाम्रो। व्यावहारिक दर्शन मीमांसा मूलज्ञानमा भुलभुल गरिरहेको छ। दिल्लीको पुग नपुग ४५ डिग्री खाएर काठमाडौँको उष्णता भंग गर्न खोज्ने परपीडकहरू छाउरा छाउरीहरू नेता रङको खरानी दलेर हिँडिरहेका छन्।

देशमा बसेर देशभक्तिको कुरा गर्ने तर देशको शेष नरहोस् भन्ने देशवासीहरू जब परदेश जान्छन्, मातृभूमि संझेर अनेकौँ व्यञ्जनाहरू जन्मदेशमा पठाउँछन्, भावना लुकेको, सम्प्रति यातनाको सुखी ढोकामा बसेर देशको गजुरतर्फ आँखा लगाइरहेका छन्। 

वर्षौंपहिले पंक्षी आकाशमा फट्फटाउँदा फुत्केर उडेर आएको सम्बन्धको प्वाँख पृथ्वीको तलमा हातले बुनेको पंखामा छुटेको थियो। उसबेला कुँदेको फूलबुट्टा र खन्याएको मायाको सुर्को बलियो गरी बाँधिएको छ। चरा उडेर कहाँ गयो होला? सायद कैयौँ जन्म लियो होला, खरानी उड्यो वा नयाँ प्राण भर्न अर्को शरीर रोज्यो। मायाको भुलभुलैयामा उस्तै नाम गरेर झुक्याउन आउने, पारखी हातगोडा, मनचोला उघ्रँदा सम्बन्धको पानोरमिक दृश्य देखिन्छ। 

रिभ दि सल, यही बेलाको प्रेमगीत हो। दुई अलग धारमा बसेर, हाँगामा गाइरहेको सुगाको गीत, मैना चरीको गीत, परेवाको गीत। प्रेमका जोडीहरू सधैँ सँगै नै रहन्छन्। दूरीको हिसाब प्रेमइतरकाले गर्दै गरुन्, तर प्रेम प्रेम बनेर घटिरहेको हुन्छ। हिँडिरहेको हुन्छ। उडिरहेको हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.