|

धादिङ : आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच धादिङमा चुनावी तालमेल गर्ने सहमति अन्तिम समयमा आएर भाँडिएको छ।

जिल्लाका १३ स्थानीय तहमध्ये ७ वटा काँग्रेस र ६ वटा माओवादीले लिने सहमति भए पनि कांग्रेसभित्र आन्तरिक विवाद चुलिएपछि तालमेलको सम्भावना टर्दै गएको हो। कांग्रेससँग तालमेलको सम्भावना टरेको माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवम् पूर्वजिल्ला इञ्चार्ज पुष्पविक्रम मल्लले बताए।

एक सातायता धादिङमा कांग्रेस र माओवादी चुनावी तालमेलका लागि निरन्तर छलफलमा थिए। बिहीबार नै पत्रकार सम्मेलन गरेर तालमेलको औपचारिक घोषणा गर्ने तयारी थियो।

नेपाली कांग्रेसभित्रकै असन्तुष्टिका कारण भइसकेको सहमतिसमेत कार्यान्वयन नहुने अवस्था आएको माओवादी धादिङका नेता विजय बुर्लाकोटीले बताए।

'कांग्रेसले २ नगरपालिकासहित ७ र माओवादीले ६ वटा गाउँपालिका लिने सहमति भइसकेको थियो,' बुर्लाकोटीले भने, 'तर कांग्रेसले आफ्नै कार्यकर्ता व्यवस्थापन गर्न नसकेपछि हामी छलफलबाट बाहिरियौँ।'

स्रोतका अनुसार माओवादीले एक्लै जित्ने बताउँदै आएको नेत्रावती गाउँपालिकामा कांग्रेसले अन्तिम समयमा आएर दाबी गरेपछि सहमति भाँडिने अवस्था आएको हो। माओवादी नेताहरु अब तालमेल हुन सक्दैन भनेर छलफलबाट बाहिरिएका थिए।

'साथीहरुको असन्तुष्टिकाबीच पनि हामीले धुनीबेसी नगरपालिका कांग्रेसलाई दिने कि भन्ने विषयमा लचकता अपनाएकै थियौँ, त्रिपुरासुन्दरी गाउँपालिका पनि उनीहरुले नै लिने अनि नेत्रावती पनि चाहिन्छ भनेपछि हामीले छलफल गरिराख्नु उचित ठानेनौँ,' माओवादी धादिङका एक नेताले थाहा खबरसँग भने।

छोटो प्रतिक्रियाका लागि उपलब्ध भएका कांग्रेस जिल्ला सभापति रमेश धमलाले तामेलमेलका विषयमा छलफल चलिरहे पनि सम्भावना कम बन्दै गएको बताए।

माओवादीसँगको छलफल भाँडिएपछि कांग्रेसको बैठक बसेको थियो। बैठकमा सभापति धमलाले तालमेलमा लेनदेन हुने भन्दै मिलेर जानुपर्नेमा जोड दिएको एक नेताले बताए। माओवादीले लचकता प्रस्तुत गरे पनि आफूहरुले नै कार्यकर्ता व्यवस्थापन गर्न नसकेको उनको स्वीकारोक्ति छ। 'आन्तरिक समस्या पार्टीभित्रैबाट हल गर्नुपर्ने थियो,' ती नेताले भने, 'त्यसो हुन सकिरहेको छैन।'

लामो समयपछिको छलफल भाँडिएपछि माओवादीले तालमेलको विषयलाई थाति राखेर चुनावी मैदानमा उत्रिन स्थानीय कमिटीहरुलाई निर्देशन दिएको छ। कांग्रेससँगको छलफलबाट बाहिरिएपछि माओवादीका जिल्ला अध्यक्ष जम्कट्टेल गजुरीतर्फ लागेका छन्। जम्कट्टेलको घर सोही गाउँपालिकामा पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.