|

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन दुई चरणमा गर्न प्राविधिक समस्या रहेको बताएका छन्। बालुवाटारको सर्वदलीय बैठकमा प्रचण्डले घुमाउरो पारामा एकै चरणमा निर्वाचनको प्रस्ताव गरेका हुन्।

प्रचण्डले जेठ ३१ मा एकै चरणमा निर्वाचन गर्न घुमाउरो शैलीमा प्रस्ताव गरेका बैठकमा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका नेता अनिल झाले जानकारी दिएका छन्।

स्रोतका अनुसार बालुवाटारमा अाज बसेको सर्वदलीय बैठकमा आगामी स्थानीय तहको निर्वाचन एकै पटक गर्ने वा चरणवद्ध भन्ने  विषयमा छलफल भएको छ। सोही क्रममा प्रधानमन्त्री दाहालले जेठ ३१ गते एकै पटकमा निर्वाचन सम्पन्न गर्न प्रस्ताव गरेका हुन्। 

प्रधानमन्त्रीको प्रस्तावअनुसार गर्नका लागि सबै दललाई मान्य हुने गरी संविधान संशोधनको अर्को प्रस्ताव पुन: पेस गर्ने विषयमा पनि अहिले छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ।

यसैबीच संघीय समाजवादी फोरम नेपालले भने एकै चरणमा चुनाव गराउनुपर्ने माग गरेको छ। फोरमले चुनावमा सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध पनि गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा सेनालाई देशको आन्तरिक मामलामा प्रयोग गर्दा सेनाको गरिमा र प्रतिष्ठामा आँच पुग्ने बताइएको छ।

विज्ञप्तिमा नेपाली सेना जस्तो व्यावसायिक संगठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा सेनाको गरिमा, प्रतिष्ठा र वर्षौंदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्ने भएकोले सेनाको भूमिकालाई विवादित हुन नदिन स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको छ।

यसरी नै चरण चरणमा निर्वाचन गर्दा पहिलो चरणको निर्वाचनको प्रभाव दोस्रोमा पर्ने हुँदा एकै पटकमा मत गणना हुने गरी एकै चरणमा निर्वाचन गिरनुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.