|
आक्रमणमा घाइते भएका प्रतिपक्षी दलका नेता जोरान जएभ बीचमा। Photo : EPA

नयाँ सभामुखलाई दिइएको मतदानप्रति असन्तुष्टि जनाउँदै मेसेडोनियाको संसद भवनमा राष्ट्रवादी प्रदर्शनकारी प्रवेश गरेपछि बिहीवार भएको झडपमा कम्तीमा १०० जना घाइते भएको मेसेडोनियाका गृहमन्त्रीले जनाएका छन्।

केही नकाबधारी व्यक्तिसहित दर्जनौँ मानिस प्रवेश गरी प्रहरी घेरालाई तोड्दै संसदभित्र प्रवेश गरेपछि भएको झडपमा उनीहरु घाइते भएका हुन्।

राष्ट्रवादी नारा लगाउँदै मेसेडोनियाको राष्ट्रिय झण्डा हातमा लिएका प्रदर्शनकारी राष्ट्रिय गान गाउँदै संसदमा प्रवेश गरेका थिए। उनीहरुले नयाँ सभामुखलाई मतदान गरेको आक्रोसमा संसदमा सांसदविरोधी नारासमेत लगाएका थिए।

झडपका क्रममा खिचिएका र सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका दृश्यचित्रमा दुई समूहबीच संसदको सञ्चार कोठामा मुक्कामुक्की भएको र पार्टीका प्रमुखहरुलाई उनीहरुका स्थानबाट जबरजस्ती उचाली फ्याकिएको देखाइएको छ।

प्रतिपक्षी दल सोसल डेमोक्रेटका नेता भिडियोमा रक्ताम्मे अनुहार र रगतले भिजेको लुगासहित सार्वजनिक दृश्यचित्रमा देखाइएको थियो। प्रदर्शनकारीले एक महिला सांसदलाई कपालमा समाती लतारेको पनि देखाइएको थियो।

मेसेडोनियाका गृहमन्त्रीद्वारा शुक्रबार जारी विज्ञप्तिमा केही महिलासहित १०२ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

गृहमन्त्री अगिम नुहिउले यसपूर्व १० जना सांसद र केही सङ्ख्यामा सञ्चारकर्मी घाइते भएको बताएका थिए।

शुक्रबार संसद भवन वरपरको वातावरण सामान्य भइसकेको छ भने सरकारले थप हिंसा भड्किन नदिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मीलाई परिचालित गरेको छ।

राष्ट्रवादी प्रदर्शनकारीले सोसल डेमोक्रेटिक पार्टी र अल्वानियाली दलको संयुक्त गठबन्धनविरुद्ध प्रदर्शन गरेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.