|

पोखरा : सत्तारुढ नेकपा माओवादी केन्द्रले पोखरा लेखनाथ महानगरपालिकालाई लक्षित गरी चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। शुक्रबार पोखरामा चुनावी सभा गरी माओवादी केन्द्रले उच्चरीय पोखरा लेखनाथ महानगर सहरी विकास आयोग गठन गरी एक वर्षभित्र कार्यान्वयन गर्नेसहितका विभिन्न योजनाहरु सार्वजनिक गरेको छ।

माओवादी केन्द्रका नेता झलकपाणी तिवारीले विज्ञ समूहसँगको परामर्शमा प्रतिबद्धतापत्र तयार पारेको बताए। विभिन्न २७ शीर्षकमा विभाजन गरिएको प्रतिबद्धता पत्र १६ पृष्ठ लामो छ।

के छन् प्रतिबद्धता?

सहरी विकास तथा पूर्वाधार

  • महानगरको मुख्य केन्द्र र ग्रामीण क्षेत्रबीचको अन्तरसम्बन्ध सुदृढ गर्न ७ वटा वडामा सेटेलाइट सिटी विकास गर्ने। वडा नम्बर ३३ (बाघमारा), ३२ (जनताको चौतारा), ३१ (मोहोरिया), १३ (कसेरी), १९ (पुरनचौर), २५ (हेमजा), १७ (विरौटा) मा सेटेलाइट सिटी विकास गर्ने। ती स्थानमा कृषि, पशुपालन, तरकारी, पहाडी तथा हिमाली जडीबुटि, फलफूल खेतीसँग सम्बन्धित प्रशोधन, प्याकेजिङ र उत्पादन उद्योग स्थापना गरिने। सेटेलाइट सिटीलाई चक्रपथमार्फत जोड्ने र सहरको मुख्य केन्द्रसम्म द्रुत सडकमार्फत यातायात सञ्जालमा जोड्ने।
  • वडा नम्बर २७ (अर्चले), २२ (पुम्दीभुम्दी), १९ (सराङकोट), वडा नम्बर २१ (निर्मल पोखरी) / २६ (पुरानो राखी) लाई पहाडी पर्यटकीय नगरका रुपमा विकास गर्ने।
  • वातावरण मैत्री पोखरा उपत्यका चक्रपथ निर्माण गर्ने। प्रस्तावित चक्रपथबाट कास्की जिल्ला तथा आसपासका अन्य जिल्लासम्म पुग्ने तीन लेनको सम्पर्क मार्ग निर्माण गर्ने। सडक सञ्जालको विस्तार र स्तर वृद्धि गरी चौविसै घण्टा महानगर बस सञ्चालन गर्ने।
  • पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ३ वर्षभित्र सम्पन्न गर्न पहल गर्ने। अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माण गर्ने। विद्युत, सञ्चार, खानेपानी र ढल जस्ता सहरी विकासका पूर्वाधारको भूमिगत रुपमा एकीकृत विकास गर्ने। पहाडी पर्यटन केन्द्रलाई सहरी पर्यटन केन्द्रसँग जोड्ने गरी केबुलकारहरुको निर्माण गर्ने।

उर्जा

  • खोला, नदी र तालजस्ता जलस्रोतको उपयोग गर्दै विद्युत उत्पादन गरी सिचाईँ सुविधा उपलब्ध गराउन पहल गर्ने।
  • सौर्य उर्जाको प्रयोगलाई प्रोत्साहन गरिने।

शिक्षा

  • महानगरपालिकाको हरेक वडामा आधारभूत शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क प्रदान गरिने। हरेक वडामा एउटा मध्यमिक विद्यालय। सरकारी कर्मचारीका सन्तानले आफ्ना सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने व्यवस्था गरिने।
  • आधारभूत तहका विद्यार्थीलाई पोशाक, पाठ्यपुस्तक, यातायात र खाजाको व्यवस्था गर्ने। पोखरा लेखनाथलाई शैक्षिक पर्यटन सहरको रुपमा विकास गर्ने। पोखरा विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयका रुपमा विकास गर्ने। महानगरभित्र प्रदेशस्तरको प्राविधिक विश्वविद्यालय स्थापना गर्ने। पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल गर्ने।
  • दृष्टिविहीन, स्वर, बोलाइ तथा अन्य अपांगता भएका बालबालिकाका लागि विशेष शिक्षाको व्यवस्था गरिने।

स्वास्थ्य

  • स्वास्थ्य चौकी नभएका स्थानमा स्वास्थ्य चौकीको व्यवस्था गर्ने। आवश्यक प्राविधिक र प्रशासनिक जनशक्ति व्यवस्था गरी स्थानीय तहमै आधारभूत सेवा दिने। हरेक स्वास्थ्य चौकीमा जनस्वास्थ्य विज्ञको व्यवस्था गर्ने। आयुर्वेदिक तथा प्राकृतिक अस्पताल स्थापना गर्ने।

खानेपानी तथा सरसफाई

  • खानेपानी प्रशोधन गरी अन्तर्राष्ट्रिय स्तरको खानेपानी उपलब्ध गराउने।
  • पर्याप्त मात्रामा सार्वजनिक शौचालय निर्माण गर्ने। सार्वजनिक घुम्ती शौचालयहरु स्थापना गर्ने।
  • महानगरभित्रका मूलको संरक्षण र व्यवस्थापनका लागि नीतिगत निर्णय गरी आवश्यक कानुन तथा नियम बनाउने।

श्रम तथा रोजगारी

  • गरिवी निवारण कोषको परिचालन, युवा स्वरोजगार कार्यक्रम र एक टोल एक उत्पादन कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरी रोजगार प्रवर्द्धन गर्ने।
  • मजदूरको सामाजिक न्याय र सुरक्षा सुनिश्चित गर्न न्यूनतम ज्याला र संस्थागत रोजगारीको ग्यारेन्टी गर्ने।

कृषि

  • कृषिलाई आय आर्जन र रोजगारीको आधारमा रुपमा विकास गर्न कृषि क्षेत्रको दिगो, व्यावसायिक र आधुनिक विकासद्वारा रोजगार प्रबर्द्धन गर्न कृषिमा आधारित उद्योग स्थापनाको आधार तयार गर्ने। मल, बीऊको अभाव हुन नदिने। कृषिजन्य वस्तुको विक्रीको व्यवस्था गर्ने। वडा नम्बर २८ (माझठाना) मा आधुनिक कृषि उत्पादन केन्द्र स्थापना गर्ने।
  • पशुपालनको विकास र प्रवर्द्धन गर्न पशु स्वास्थ्य केन्द्र, नश्ल सुधार र दक्ष पशुस्वास्थ्यकर्मीको व्यवस्था गर्ने। गाई-भैंसी, भेडा-बाख्रा, हाँस-कुखुरा, बंगुर लगायत विशेष उत्पादन क्षेत्र विकास गर्ने।

सहकारी

  • गाउँ गाउँमा सहकारी स्थापना गरी सहकारी मार्फत कृषिजन्य उत्पादन र स्थानीय उद्यौगिक उत्पादनका वस्तु खरिद गरी सुलभ रुपमा विक्रीको व्यवस्था मिलाउने।

पर्यटन व्यापार

  • पहानगरका पहाडी टाकुरा टाकुरास्थित प्राचीन कोटहरुलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने र वरीपरीका गाउँलाई होमस्टेका रुपमा विकास गर्ने।
  • महानगरको प्रकृति र सांस्कृतिक विविध गन्तव्य पहिल्याउँदै पर्यटन उद्योगको विकास र विस्तार गर्ने।

महिला र बालकालिका

  • बालबालिकाको हेरचाह तथा स्वास्थ्य र शिक्षाको विकास गर्न हरेक टोलमा वालविकास केन्द्रको स्थापना गर्ने। केन्द्रमा बालबालिकाको लागि आवश्यक सामग्री, पौष्टिक आहारको व्यवस्था गरिने।
  • महिलालाई ५० प्रतिशत विशेषाधिकार।

आदिवासी जनजाति

  • आदिवासी जनजातिहरुको भाषा, लिपि, संस्कृति र पहिचानको प्रवर्द्धन र विकास गरिने। उनीहरुको लोकसंस्कृति र पहिचानलाई पर्यटन उद्योगको विकाससँग जोडी ग्रामीण पर्यटन र सांस्कृतिक पर्यटन उद्योगको रुपमा विकास गरिने। आदिवासी जनजातिको परम्परागत सीप, ज्ञान र प्रविधिको अनुसन्धान र व्यावसायिकरण गरिने।

प्राकृतिक र सांस्कृतिक सम्पदा

  • सेती नदी र यसका सहायक नदीका किनाराहरुमा ‘ग्रिन बेल्ट’ को मापदण्ड निर्माण गरी भूक्षय नियन्त्रण गर्न सार्वजनिक वाटिका र पैदल मार्गको विकास गरिने। नदी किनारमा रहेका मठमन्दिरको संरक्षण गरी घाटहरुलाई व्यवस्थित गरिने।
  • महानगरपालिकाभित्रका ९ वटा तालको संरक्षण, विकास र उपयोग गर्न अधिकारसम्पन्न ताल विकास प्राधिकरण गठन गर्ने। तालहरुको वरीपरी आन्तरिक र बाह्य पर्यटकको लागि पैदलमार्ग निर्माण गरी तालहरुको सुन्दरीकरण गर्ने।

फोहोर व्यवस्थापन

  • वैकल्पिक ल्यान्डफिल्ड साइट निर्माण गरिने। फोहोर व्यवस्थापनका लागि ट्रान्सफर सेन्टर स्थापना गर्ने। जैविक फोहोर र पुनः प्रयोग हुने फोहोरलाई अलग गरी कम्पोस्ट मल बनाउने। ल्यान्डफिल्ड साइटबाट निस्कने बायोग्यास उपयोग गर्ने। जैविक फोहोर कम गर्न छतमा करेसावालीलाई प्रोत्साहन गर्ने।
  • यातायातबाट हुने ध्वनी र वायु प्रदूषण रोक्न आवश्यक योजना र नीति तय गर्ने।

बधशाला व्यवस्थापन

  • महानगरवासीलाई स्वस्थ मासु उपलब्ध गराउन अत्याधुनिक बधशाला स्थापना गर्ने। बधशालाको अनुगमन, नियमन र नियन्त्रण गरी आधुनिक मापदण्ड अनुरुप सञ्चालन गर्ने। पशुपंक्षीको स्वास्थ्य परीक्षण गराई स्वस्थ पशुपंक्षीको मासुमात्र बेच्न पाइने व्यवस्थालाई कडाइका साथ लागू गर्ने।

सार्वजनिक वित्त

  • एकद्वार प्रणालीबाट कर लगाइने। प्राकृतिक स्रोतको उपयोग गर्दा स्थानीय समुदायलाई लगानीमा प्राथमिकता दिइने।
  • अनौपचारिक आर्थिक गतिविधिलाई औपचारिक बनाउँदै करको दायरामा ल्याइने। राजश्व चुहावटलाई नियन्त्रण गर्ने। सहरी पूर्वाधार विकास नभएका क्षेत्रमा पूर्वाधार विकास गर्ने र त्यस्ता क्षेत्रमा न्यून कर लगाइने।

विज्ञान प्रविधि/सूचना सञ्चार

  • पोखरा लेखनाथ महानगरलाई नमूना विज्ञान सहरका रुपमा विकास गर्ने नीति लिने। पोखरा प्रविधि केन्द्र (पोखरा इन्स्टिच्युट अफ टेक्नोलोजी) स्थापना गर्ने।
  • हरेक गाउँ र विद्यालयमा निशुल्क इन्टरनेट सुविधा उपलब्ध गर्ने। महानगरमा प्रभावकारी सूचना केन्द्र स्थापना गर्ने।

निष्पक्ष न्याय

  • स्थानीय न्याय सेवा स्वतन्त्र, निष्पक्ष, छिटोछरितो र जनउत्तरदायी बनाइने। स्थानीय स्तरमा मेलमिलाप केन्द्र स्थापना गरिने।

हरित महानगर

  • बोटानिकल गार्डेन, हरित पार्क, हरित सडक एवं खुला चौरको संरक्षण एवं व्यवस्थापन गरी हरित महनगरको विकास गरिने। प्राकृतिक वनहरुलाई जैविक विविधता पार्क एवं उद्यानका रुपमा पर्यटन प्रवर्द्धन क्षेत्रका रुपमा विकास गरिने।

साहित्य, कला र संस्कृति

  • भाषा, संस्कृति, कला, सम्पदा र धार्मिक क्षेत्रको संरक्षण र सम्वर्द्धन गरी सांस्कृतिक सम्बन्धमा आधारित समाज निर्माणमा जोड दिने।
  • कवि कलाकारको सम्मान गर्दै लोकसाहित्य तथा साहित्य कला प्रतिष्ठान स्थापना गर्ने। लोकसंस्कृतिसँग सम्बन्धित संग्राहलय स्थापना गर्ने।
  • अध्ययन संस्कृति स्थापना गर्न हरेक वडामा सामुदायिक अध्ययन केन्द्र एवं पुस्तकालय स्थापना गर्ने। संगीत र सिनेमा सम्बन्धी पठन पाठनका लागि महाविद्यालय स्थापना गर्ने।

खेलकुद तथा मनोरञ्जन

  • सुविधा सम्पन्न आधुनिक रंगशाला र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान स्थापना गर्ने। हरेक वडामा खेलकुद मैदान विकास गर्ने।
  • सुविधासम्पन्न नाट्यशाला स्थापना गर्ने। वन्यजन्तु संरक्षण केन्द्र चिडियाखाना स्थापना गर्ने। वालमैत्री मनोरञ्जन पार्क स्थापना गर्ने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.