|

काठमाडौं : राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठकका सहभागी दर्जन भन्दा बढी दलका शीर्ष नेताले स्थानीय तहको निर्वाचन एकै चरणमा गराउन सुझाव दिएका छन्। 

संसदमा प्रतिनिधित्व गरेका अधिकांश दलका शीर्ष नेताले निर्वाचन दोस्रो चरणमा नभई एकै चरणमा सम्पन्न गर्न प्रधानमन्त्रीलाई सामूहिक रुपमा सुझाव दिएका हुन्। प्रमुख प्रतिपक्षी दल एमाले नेतृत्वको गठबन्धनमा आवद्ध ९ दलसहित सरकारलाई समर्थन गर्दै आएका दलले एकै चरणमा निर्वाचन गराउन सुझाव दिएका छन्।

एमाले नेतृत्वको गठबन्धनमा आवद्ध दलसहित विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, सत्तारुढ नेकपा संयुक्त, हरिचरण शाह नेतृत्वको नेपाली जनता दल, रुक्मिणी चौधरी नेतृत्वको संघीय मञ्च थरहट लगायत अन्य साना दलले एकै चरणमा निर्वाचन गराउन सुझाव दिएका हुन्। 

एकै चरणमा निर्वाचन गराउन सम्भव नभए एक साताको अन्तरमा अर्को चरणको निर्वाचन गर्न सकिने विकल्प पनि उनीहरुले सरकारलाई दिएका छन्। लामो समय अन्तर राखेर गरिने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित नहुने र देश एकतावद्ध भएको सन्देश पनि नजाने धारणा ती दलका नेताले बैठकमा राखेका थिए। 

बैठकमा सहभागी एमाले नेता अग्निप्रसाद खरेलले स्थानीय तह एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको बताए। ' निर्वाचन एकै चरणमा हुनुपर्छ, दुई चरणमा हुनु हुँदैन भन्ने हाम्रो पार्टी लाइन पुन: राखेका छौं' बैठकपछि खरेलले भने ' सरकारले घोषणा गरेको दुई चरणको निर्वाचनले अन्योल र शंका जन्माउँछ, विश्वसनियतामा पनि प्रश्न उब्जाउँछ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.