|
सांकेतिक फोटो

लहान : सिरहाको नरहा ३ खोरिया बत्राहीबाट बुधबार बेलुका बेपत्ता भएका बालक शुक्रबार बेलुका हत्या गरी बारीमा पुरिएको अवस्थामा फेला परेका छन्। घर नजिकैको भाण्टाबारीमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव भेटिएको हो।

स्थानीय भरोसी यादवका दुई वर्षीय छोरा रमन प्रहरी र घर परिवारले विभिन्न ठाउँहरुमा खोजतलास गरेपनि भेटिएका थिएनन्। गाउँको कुकुरले शुक्रबार बेलुका माटो खन्दा दुर्गन्ध फैलिएपछि बच्चाको शव भेटिएको गाउँलेले बताएका छन्। प्रहरीले घटनास्थल पुगेर बच्चाको शव निकाल्दा घाँटी रेटी हत्या गरेको देखिएको जनाएको छ।

बालकको शव पोष्टमार्टमका लागि सिरहा जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। बुधबार बेलुका करिब साढे ७ बजेसम्म बाबु रामभरोसी यादव आफै बसेर रमनसहित तीन छोरा छोरीलाई पढाई रहेका बेला गाउँतिर गएर फर्किएको ५/७ मिनटकै फरकमा छोरा हराएको उनले बताए। फर्केर आउँदा कान्छो छोरा नभेटिएपछि खोजतलास गरिरहेको यादवका दाई खेमराज यादवले बताए। बालकलाई अपहरण गरिएकै दिन हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ।

राति धेरै बेर गाउँघरमा खोजखaर गर्दा पनि छोरा नभेटिएपछि बिहीबार बिहान प्रहरीलाई उजुरी गरिएको थियो। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धी बज्राचार्यले सम्भावित विभिन्न कोणबाट अनुसन्धान गरिहेको भएपनि बालकको हत्या भएको अवस्थामा भेटिनु दुर्भाग्य भएको बताए। प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा दुईजनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धनमा असर पर्ने भन्दै प्रहरीले नियन्त्रणमा लिइएकाहरुको नाम खुलाउन चाहेन।

बालक हराएकै बेलादेखि अचेत अवस्थामा रहेकी बालककी आमा २८ वर्षीया निराकुमारी यादव पटक पटक बेहोस भएकी छन्। घरबाटै हराएको बालक हत्या गरिएको अवस्थामा फेला परेपछि पूरै गाउँ शोकमा डुबेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.