|

काठमाडौं : राजधानीमा वितरित पेट्रोलियममध्ये प्रति ४ हजारमा ९९ लिटर हराउने गरेको पाइएको छ। आयल निगमले कम तेल दिएको पेट्रोल पम्पहरूको गुनासोपछि अध्ययनका क्रममा यस्तो पत्ता लागेको निगमले जनाएको छ। 

राजधानीको कालिमाटीस्थित माली आयल स्टोर्स पेट्रोल पम्पमा खन्याइएको चार हजार पेट्रोलमध्ये ९९ लिटर गायब भएको थियो। मंगलबार सो पम्पको ‘अण्डरग्राउण्ड’ ट्यांकी खाली गराएर चार हजार लिटर पेट्रोल खन्याइएकोमा 'नोजल'ले तीन हजार नौ सय एक लिटरमात्रै वितरण गरेको थियो।

पम्पमै इन्धन गायब भएपछि आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारी चकित भएका छन् र अहिले छानबिन भइरहेको छ। आयल निगमका निर्देशक दीपक बरालले निगमबाट पम्पलाई कम तेल वितरण हुने गरेको गुनासो बढेपछि कालिमाटीस्थित माली आयल स्टोर्समा मंगलबार परीक्षण गरेको बताए।

‘निगमको थानकोट डिपोबाट ट्यांकर लोड गरी माली आयल स्टोर्समा १२ हजार लिटर पेट्रोल लगिएको थियो’, उनले भने, ‘त्यसमध्ये एउटा च्याम्बरमा रहेको ४ हजार लिटर पेट्रोल पम्पमा खन्याएर पुनः सोही इन्धन ट्यांकरमा हाल्दा ९९ लिटर कम भएको देखिएको छ।’

आयल निगमले ४ हजार लिटर दाबी गरे पनि १२ लिटर कम दिने गरेको भने अाफैंले स्वीकार गरेको छ। निगमका निर्देशक बरालले भारतीय ‘क्यालिब्रेसन’ र नेपाली ‘क्यालिब्रेसन फरक परेका कारण ४ हजार लिटरमा १२ लिटर कम देखिएको बताए। ‘हामीले भारतीय ‘क्यालिब्रेसन’लाई मान्यता दिएर इन्धन बुभ्दै आएका छौं’, उनले भने, ‘तर नेपाली ‘क्यालिब्रेसन’ले ४हजार लिटरमा १२ लिटर कम आएको देखिन्छ।’ यो विषयमा भारतीय आयल कर्पोरेसनसँम्ग कुरा गर्ने जानकारी उनले दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.