|

  • सन्तोष अधिकारी-

गोरखा : वैशाख ३१ गते हुने निर्वाचनमा जिल्लाको ११ मध्ये १० वटा स्थानीय तह अध्यक्षमा प्रमुख राजनीतिक दलले पुरुषलाई मात्र उम्मेदवार बनाएका छन्। ती स्थानीय तहमा महिलाहरु उपप्रमुख र उपाध्यक्षको उम्मेदवारमा नै सीमित भएका छन्।

राजनीतिक दलहरुले महिलालाई प्रमुख पदको अवसर नदिएको गुनासो महिला नेतृहरुले गरेका छन्। प्राय: सबै राजनीतिक दलहरुले प्रमुख पदमा पुरुषकै उम्मेदवारी टुंगो लगाइसकेका छन्। संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक जना महिला हुनुपर्नेछ। त्यसैले चुमनुब्री गाउँपालिकामा बाहेक अन्य गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबाट प्रमुख पदमा महिला उम्मेदवार नहुने पक्का भएको हो। दलहरुले अहिलेसम्म टुंगो लगाएको उम्मेदवारमा प्रमुखमा पुरुष र उपप्रमुखमा महिला नै रहेका छन्।

जिल्लाको चुमनुब्री गाउँपालिकाको प्रमुखमा मात्र महिला उम्मेदवार छन्। नेकपा एमालेले सूर्यकुमारी गुरुङलाई गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ।

धार्चे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस, एमाले र माओवादी केन्द्रबाट पनि महिला नै चुनाव लड्न लागेका छन्। त्यहाँ काङ्ग्रेसकी फूलमाया गुरुङ, एमालेकी सुस्मिता घले र माओवादी केन्द्रकी आशा गुरुङ उम्मेदवार चयन भएका छन्।

भीमसेन गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कविता अर्याल र माओवादी केन्द्रकी लीला श्रेष्ठ उम्मेदवार चयन भएका छन्। चुम नुब्री गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रले कुमारी गुरुङलाई उम्मेदवार चयन गरेको छ। कांग्रेसले भने उम्मेदवार टुंगो नलगाएको पनि महिला नै उम्मेदवार हुने पक्का भएको छ।  

अजिरकोट गाउँपालिकाको उपाध्यक्षमा काङ्ग्रेसकी चन्द्रमाया गुरुङ र माओवादी केन्द्रकी अनिता भुजेल उम्मेदवार चयन भएका छन्। सहिद लखन गाउँपालिकाको उपाध्यक्षमा काङ्ग्रेसकी शर्मिला श्रेष्ठ, एमालेकी लुना थापा र माओवादी केन्द्रकी इन्दिरा तिवारी उम्मेदवार चयन भएका छन्।

आरुघाट गाउँपालिकाको उपप्रमुखमा काङ्ग्रेसकी कल्पना नेपाली र माओवादी केन्द्रकी अमृता लामा उम्मेदवार चयन भएका छन्। सुलीकोट गाउँपालिकाको उपाध्यक्षमा काङ्ग्रेसबाट जनककुमारी कोइराला र माओवादी केन्द्रकी सनमाया गुरुङ उम्मेदवार चयन भएका छन्। 

गण्डकी गाउँपालिकाको उप्रमुखमा काङ्ग्रेसले ललिता अधिकारी र माओवादी केन्द्रले पूर्णा थापालाई उम्मेदवार बनाएको छ। पालुङटार नगरपालिका उपप्रमुखमा माओवादी केन्द्रकी पम्फा बसेल उम्मेदवार चयन भएकी छन् भने कांग्रेस र एमालेले टुंगो लगाएको छैन।

जिल्लाको सिरान्चोक गाउँपालिकामा पनि सबै पार्टीले उपाध्यक्षमा महिला नै उम्मेदवार बनाउने निश्चित छ। त्यस्तै नेपाली कांग्रेसले गोरखा नगरपालिकामा विना श्रेष्ठ र सपना पुनमध्ये एकजनालाई उपप्रमुखको उम्मेदवार बनाउने तयारी गरेको छ। नेकपा एमालेले भने उपप्रमुखमा सम्झना देवकोटाको नाम टुंगो लगाइसकेको स्रोतले जनायो। माओवादी केन्द्रले पनि कमला नहर्कीलाई उपप्रमुखको उम्मेदवार बनाउने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.