|

काठमाडौं: काठमाडौं अन्तर्राष्ट्रिय बजारमा नेपाली कला कौशलता झल्कने सुन, चादी, तथा डायमण्डका गहनाहरुको माग बढ्दै गएको छ। युरोपेली मुलुक र विकसित मुलकहरुमा नेपालीको संख्या बढ्दै जाँदा नेपाली कला कौशलता झल्कने गरगहनाको माग पनि बढ्दै गएको व्यवसयीहरुले बताएका छन्।

तर, गहना पठाउनको लागि झन्झटिलो प्रक्रिया र मूल्यमा पर्ने भारको कारण मागको २ प्रतिशत गहना पनि पठाउन सकेका छैनन्। 'हामीले बनाउने कला कौशलताको माग विदेशी बजारमा बढ्दो छ तर, निर्यातमुखी नीति नहुँदा हामीले पठाउन सकिरहेका छैनौं' नेपाल रत्न तथा आभूषण संघकी अध्यक्ष जत्सना श्रेष्ठले भनिन्। उनी भन्छिन्, 'राजस्वको कारणले गर्दा विदेशी बजारभन्दा तोलामै २ हजार महँगो पर्न जान्छ, अनि त्यो सुन कुदेर बनाएर फेरि विदेशी बजारमा पठाउँदासम्म थप दुई/तीन हजार मूल्य भार बढ्न जाने भएकोले नेपाली कौशलता विदेशी बजारमा रुचाएर पनि बेच्न सकिएको स्थिति छैन।'  

आभूषण महासंघको तथ्यांकअनुसार अहिले हस्तकला संघ र आभूषण संघबाट गरी वर्षको ५ करोड रुपैयाँ बराबरको सुनका गहना विदेशी बजारमा निर्यात हुने गर्छ। जसमध्ये सबैभन्दा बढी माग अमेरिका, अस्ट्रेलिया र इंगल्याण्डमा रहेको छ। जापान, कोरिया हङकङ लगायतका देशमा पनि सुनको माग हुने गरे तापनि व्यवसायीले पठाउन सकेका छैनन्। उनीहरुले निर्यात बढाउनको लागि विदेशी बजारमा पठाइने गहनामा आयातको क्रममा लगाइने काँचो सुनको राजस्वमा छुट दिनुपर्ने बताउँछन्।

नेपाली कालिगढको अभाव

आभूषण संघको तथ्यांकअनुसार आभूषण संघमा मात्रै ५ सय सदस्य व्यवसायी रहेका छन्। यी व्यवसायीहरुकोमा १ लाख २० हजार कामदार आबद्ध छन्। तर, ती कामदार अधिकांश भारतीय रहेका छन्। संघकी अध्यक्ष श्रेष्ठ भन्छिन्, ' नेपाली कालीगढको निकै अभाव छ, अहिले पनि हाम्रो बजार ८०  प्रतिशत भारतीय कालीगढको भरमा चलेको छ।'

कालिगढको सीप भएको जनशक्ति नै कम भएको र सीप हुनलाई विदेशी बजारमा माग बढ्ने कारणले नेपालमा अभाव भएको उनी बताउँछिन्। त्यसो त एकैजना कालिगढले आफ्नो मिहिनेतको आधारमा मासिक ७० हजार रुपैयाँसम्म पनि यहाँ कमाउने गरेको उनको भनाइ छ।

संघमा नयाँ नेतृत्वमा महिला

यसैबीच नेपाल रत्न तथा आभूषण संघमा पनि पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको छ।

संघको १३ औं साधारणसभामा भएको मतदानमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमित निर्वाचित भएको हो।पाँचौं अध्यक्षका लागि भएको निर्वाचनमा १ सय ३६ मत खसेकोमा उनले १ सय ३ मत प्राप्त गरेकी थिइन्।

त्यस्तैगरी, प्रथम उपाध्यक्षमा सुमनमान ताम्राकार, द्वितीय उपाध्यक्षमा नरेन्द्रकुमार गुप्ता, महासचिवमा शक्तिकुमार बेगानी, सचिवमा जयराम पाण्डे, कोषध्यक्षमा ऋषि ठाकुर निर्वाचित भएका छन्। सदस्यमा क्रमश: निर्मल ज्योति तुलाधार, रिकेन सिंह महर्जन, पवनकुमार अग्रवाल, युरोपमान श्रेष्ठ, सुनिलमान ताम्राकार, सुनित अग्रवाल, जीवन ठाकुर, जुगल किशोर राठी, मोहन शाह र प्रदीपमान ताम्राकार निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.