|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसद्मा रहेको संविधान संशोधन विधेयक पारित गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार भेटघाटमा देउवाले भने, ‘संविधान संशोधन विधेयकमा परिमार्जन गर्नुपर्ने विषय एमालेसँग पनि केही छन् भने दिए हुन्छ, त्यसलाई पनि हामी समेट्न तयार छौं।’ देउवाले एमालेको केही भावना भए कांग्रेस समेट्नुपर्छ भन्ने पक्षमा रहेको तर, विधेयक भने पास हुनै पर्ने अडान दोहोर्‍याए।

एमालेले संविधान संशोधन विधेयकलाई समर्थन नगरे पनि विधेयक दुई तिहाई बुहमतले पारित हुने देउवाले विश्वास व्यक्त गरे। उनले विधेयकप्रति असहमति राखे पनि विधेयक पास हुने प्रक्रियालाई भने अवरोध नगर्न आग्रह गरे।

‘तराई भनेको मधेसका जनताको मात्र होइन, पहाडको पनि भावना समेट्नुपर्छ’, सभापति देउवाले भने, ‘मधेसका जनताको भावना पनि कदर गर्नुपर्छ। त्यसैले मधेसी समुदायको सवै भावना समेट्न नसके पनि केही भावना समेटेका छौं।’ उनले संविधान संशोधन विधेयक पास भएपछि संविधानको सर्वस्वीकार्य हुन्छ भनेर नैं कांग्रेसले यसैलाई प्राथमिकता दिएको बताए।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन जिते मात्र प्रजातन्त्रको रक्षा, सुदृढीकरण र समावेशिताको रक्षा हुने देउवाले विश्वास दिलाए। उनले भने, ‘संविधानसभाको दुई वटा निर्वाचन भए तर, जब नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी भयो र हाम्रा सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुभयो अनि मात्र संविधान आउन सक्यो।’

देउवाले भने, ‘विगतका सबैजसो परिवर्तन कांग्रेसको नेतृत्वमा भएका हुन्।’ उनले चुनावमा सबै दलले भाग लिने अवस्था आएपछि दुई चरणमा निर्वाचन गर्न सहमति भएको बताए। देउवाले कांग्रेसले मात्र दुई चरणमा चुनाव गर्न दबाब नदिएको स्पस्ट पारे। अन्य सत्तारुढ दलसँग तालमेल हुने विषयमा छलफल भइरहेको उनले बताए। तर कुन–कुन दलसँग तालमेल भइरहेको विषयमा भने उनले प्रस्ट पारेनन्।

नेता रामचन्द्र पौडेलले राष्ट्रिय समस्या समाधान गर्न कांग्रेसले तराई / मधेसका जनताको भावनालाई समेट्ने प्रयास गरेको भन्दै निर्वाचन दुई चरणमा हुनेमा ढुक्क हुन आग्रह गरे। पौडेलले प्रमुख प्रतिपक्षी एमालेले जस्तै कांग्रेसले पनि मेची–महाकाली अभियान सञ्चालन गरेको तर मिडियाले त्यस ढंगले नसमेटेको गुनासो गरे। उनले भने ‘हामीले पनि मेची महाकाली अभियान गर्‍र्यौं तर मिडियाले किन हो कांग्रेसलाई प्राथमिकता नै दिएन।

प्रचारप्रसार समन्वय उपसमिति सहसंयोजक गगन थापले मुलुकका नागरिकप्रति अपमानित र आपत्तिजनक लाञ्छना नलगाउन चेतावनी दिए। उनले हाल गर्न लागिएको संविधान संशोधनलाई लिएर कांग्रेसलाई लाञ्छना लगाउनु भनेको मुलुकका नागरिकलाई अपमानित गर्नु हो।’

थापाले आफू मात्र राष्ट्रवादी र स्वाभिमानी भन्ने तर अरुलाई अराष्ट्रवादी भनेर लाञ्छना नलगाउन चेतावनी दिए। थापाले भने, ‘प्रदेशको सीमा तलमाथि हुन सक्छ तर हामी देशको सीमा दायाँ बायाँ हुन दिँदैनौं।’ उपसमिति संयोजक रमेश लेखकले कांग्रेसले स्थानिय तहको निर्वाचन र उम्मेदवारको विषयमा पार्टी कार्यालयले एक÷दुई दिनपछि नैं नियमित प्रेस मिटको आयोजना गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.