|

उदयपुर  : उदयपुरमा कार्यरत गैरसरकारी संस्था एनजिओ र आइएनजिओले व्यापक रुपमा निर्वाचन अचारसंहिता उल्लंघन गरिरहेका छन्। १६ फागुनबाट देशव्यापी रुपमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उदयपुरका गैरसरकारी संस्थालाई लागेको छैन।

जिल्लामा दर्ता भएका एनजिओका मालिक नै विभिन्न दलबाट निर्वाचनको लागि उम्मेदवारी हुने पक्कापक्की भएपछि निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरिरहेका छन्। आफ्ना दलका नेता कार्यकर्तालाई बोलाएर होटलमा पार्टी तथा भोजको आयोजनासमेत गर्ने गरेका छन्। ‘एनजिओका कार्यकारी प्रमुखहरु कोही वडा अध्यक्ष, कोही उपमेयरको उम्मेवारी हुने भएपछि होटलबुक हुन थालेको छ,’ नाम नखुलाउने सर्तमा एक होटल व्यवसायीले भने, ‘बेलुकी पख उनीहरुकै लागि गाईघाटका विभिन्न होटलहरु बुक हुन थालेका छन्।’

एनजिओहरुले होटल बुक मात्र नभएर जागिर लगाइदिन्छु भन्दै पार्टी प्रवेश गराउन थालेको त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउनेका नेकपा माओवादी केन्द्रका वडा सचिव पशुराम राईले बताए। ‘माओवादी केन्द्रसँग आस्था राख्ने त्रिनपा १६ कै खड्ग तामाङलाई जाल्पा एकीकृत विकास समाजका नामक एनजिओका अध्यक्ष पुष्पराज पोखरेले नेपाली कांग्रेसमा प्रवेश गराए,’ सचिव राईले भने, ‘भोलेन्टरको वाहानमा खड्गकी छोरी लक्ष्मी तामाङलाई जागिर लगाइदिए।’ यता माओवादी केन्द्रनिकट रहेको एनजिओ बालविकास समाजले लक्ष्मीलाई जागिर दिएर फर्काउने योजना गरिरहेको छ।

जल्लिामा अहिले विभिन्न राजनीतिक दलसँग झुकाव राख्ने एनजिओ र आइएनजिओले आ–आफ्नो दलका लागि भोट माग्न पनि थालेका छन्। एनजिओ र आइएनजिओले गाउँ–गाउँमा रहेका सामाजिक परिचालक, सहजकर्ता तथा प्रतिनिधिमार्फत भोट माग्न थालेको सर्वसाधरणले बताउँछन्। पहाडी क्षेत्रमा कृषि, पशु, स्वास्थ्य, शिक्षा तथा आयआर्जनका क्षेत्रमा काम गर्ने संघ संस्थाले आप्mना प्रतिनिधिलाई भोट माग्न लगाउन थालेको कर्मचारीहरुनै बताउँछन्।

लेखानीका स्थानीय कुमार धमलाका अनुसार कटारी नगरपालिकाभित्र पर्ने लेखानी, मयाँखु, सोरुङ लिम्पाटार लगायतको क्षेत्रमा भोट माग्न सामाजिक परिचालका तथा प्रतिनिधिहरुलाई लगाइएको छ। ‘चुनावको लागि एमालेले भोट पाए र जिते एनजिओहरुले भोलिका दिनमा काम गर्न पाउँछन्,’ धमालाले भने, ‘एमालेलाई भोट दिए कुलो बनाइदिने, अन्नपातको बिउ दिने भन्दै भोट माग्ने गरेको  देखेको छु।’

नेकपा माओवादी केन्द्रका उदयपुरका इन्चार्ज तथा पोलिटब्युरो सदस्य मोहनबहादुर खत्री दीपकले प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरेर एनजिओ र आइएनजिओबारे सोच्नपर्ने बताए। ‘एमालेहरु एनजिओ प्रयोग गरिरहेका छन् भन्ने जानकारी आएको छ।’ इन्चार्ज खत्रीले भने, ‘सिडिओसँग बसेर छलफल गरेर त्यसबारे निर्णय लिने तयारीमा छौं।’

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एनजिओ र आइएनजिओले निर्वाचन आचारसंहिता उल्लंघन गरेको गुनासो आइरहेको बताए। ‘कति एनजिओका सञ्चालकलाई मैले फोन गरेर निर्वाचन आचारसंहिता उल्लंघन नर्गन आग्रह गरेको छु।’ पराजुलीले भने, ‘हुरेन्डेका अध्यक्ष दुर्गाबहादुर थापा स्वस्तिकलाई फोन गरेरै सम्झाएको छु।’ दुई तीनदिन भित्रै एनजिओहरुलाई बोलाएर एउटा छलफल गरी समस्याको समाधान गर्ने पराजुलीले बताए।

यता, जिल्ला न्यायाधीश एवंम मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले वैशाख ३१ गते हुने भनिएको निर्वाचन सरेर जेठ ३१ मा पुगेकाले आचारसंहिता अनुगमन गर्न खटाइएका टोलीसमेत फिर्ता भएको बताए। ‘निर्वाचन आयोगले आचारसंहिता लागू भइरहेको जानकारी दिएको छ।’ कार्कीले भने, ‘गुनासो आइरहेकाले त्यसको समाधन खोज्ने तयारी भएको छ।’

आचारसंहिता लागू भएपछि के के गरे एनजिओले

१६ फागुनबाट आचारसंहिता लागू भएको हो, जुन आचारसंहितामा गैरसरकारी संघ संस्थाले उद्घाटन, शिलन्यासजस्ता काम निर्वाचनभरि रोक्नुपर्ने उल्लेख छ। तर, नेकपा एमालेनिकट मानिने गैरसरकारी संस्था मानवअधिकार तथा वातावरण केन्द्र (हुरेन्डेक) का अध्यक्ष स्वस्तिक थापाले बेलका नगरपालिकाअन्तरगत पर्ने सोमबारे–मैनामैनी–माचुङटार हुँदै भोजपुर जोड्ने सडकको उद्घाटन गरे। थापा बेलका नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखका दाबेदारसमेत हुन्।

नेकपा माओवादी केन्द्रनिटक मानिने बालविकास समाज नेपाल उदयपुरद्वारा सेभ द चिल्ड्रेनको साझेदारीमा उदयपुर जिल्लामा सञ्चालित जीविकोपार्जन तथा सामाजिक सुरक्षा (सुनौलो भविष्य) परियोजनाअन्तरगत बाख्रापालनको बोका वितरण गरियो। नस्ल सुधारका लागि भनेर १ लाख ९१ हजार रुपैयाँको जमुनापारी जातका ९ वटा र बोयर जातको एउटा बीउ बोका साविक १० गाविसमा वितरण गरिएको हो।

जुन बोका माओवादी केन्द्रनिकट रहेका क्षेत्र रहेको बिक्री वितरण गर्दा स्थानीय विवादसमेत भएको थियो। बालविकास समाज नेपालका अध्यक्ष मानबहादुर राई पनि नेकपा माओवादी केन्द्रबाट त्रियुगा नगरपालिकाका वडा अध्यक्ष हुन्।  हुरेन्डेक र बालविकास समाज उदाहरण मात्र हुन्, निर्वाचन आचारसंहिताविपरीत काम गर्ने जिल्लामा दर्जनांै एनजिओहरु छन्। नेपाली काङग्रेस निकट रहेको महिला मुलधार सेवा केन्द्र र एकीकृत विकास समाजका नाम एनजिओहरु खुलेरै कांग्रेस पव्रेश गरे जागिर दिने भनेर लागिपरेका छन्।

के छ आचारसंहितामा?

गएको फागुन १६ गतेबाट देशभर एकसाथ लागू भएको निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ को परिच्छेद ५ को १५ नम्बर बुँदामा नीजि तथा गैरसरकारी संस्था सोका पदाधिकारी वा कर्मचारीले निर्वाचन अवधिभर पालना गर्नुपर्ने आचरणबारे लेखिएको छ।

जसमा उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा हुने गरी नयाँ नीति, कार्यक्रम, उद्घाट, शिलन्यासलगायत कुनै काम गर्न गराउन नहुने र दोस्रोमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसारको काम गर्न वा गराउन नहुने उल्लेख छ। तर, उदयपुरमा उद्घाटन, शिलन्यास, प्रचारप्रसार जस्ता कार्य रोकिएका छैनन्।

के भन्छन् गैरसरकारी संस्थाका अगुवा?

गैर सरकारी संस्था (गैसस) महासंघ उदयपुरले सम्पूर्ण जिल्लामा रहेका गैरसरकारी संस्थाहरुलाई काम कामकारबाही रोक्ने तयारी गरेको छ। गैसस महासंघ नेपालकी केन्द्रीय सदस्य तथा पेशोक उदयपुरकी प्रमुख सिर्जना दनुवारले सरकारी तथा गैरसरकारी निकायले गर्ने सम्पूर्ण काम कारबाही रोक्नुपर्ने बताइन्। ‘उदयपुरका एनजिओहरुले साना–साना काम गरिरहेका छन्, दनुवारले भनिन्, सरकारीस्तरबाट काम नरोकिएकाले एनजिओ र आइएनजिओले काम नरोकेका हुन्।’

यसैगरी, गैसस उदयपुर अध्यक्ष महेश्वरी राईले एनजिओहरुलाई आचारसंहिताविपरीत काम कारबाही रोक्नका लागि बैठक बसेर पत्रचार गरेको बताइन्। उनले भनिन्, ‘हामीले आचारसंहितासहित उद्घाटन, शिलन्यास तथा विभिन्न गतिविधि रोक्न पत्रचार गरिसकेका छौं।’ राईले भिनिन्, ‘आचारसंहितावीपरीत कुनै पनि कम कारबाही गर्न एनजिओहरुलाई छुट छैन। राई र दनुवार दुवै नेकपा एमालेबाट त्रियुगा नगरपालिकामा उपप्रमुखका लागि नाम सिफारिस भएका एनजिओकर्मी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.