|
फोटो सौजन्य : आरएन विश्वास, सप्तरी

लहान : मधेस आन्दोलनको क्रममा १८ महिनाअघि प्रहरीको गोली लागेर घाइते भएका सप्तरीका एक प्रौढको उपचारको क्रममा मृत्यु भएको छ। सप्तरीको पूर्वी भेग हनुमाननगर कङ्कालिनी नगरपालिका ४ मधवापुरका ५२ वर्षीय रघु साफीको आफ्नै घरमा शुक्रबार राती ११ बजे मृत्यु भएको हो।

संविधानको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको मधेस आन्दोलनको क्रममा २०७२ मंसिर ५ गते राती भारदहमा प्रहरीको गोली लागेर दुवै आँखा गुमाएका साफीको धरान, लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल लगायतका ठाउँमा उपचार गरिएको थियो। तर आर्थिक अभावमा राम्रो उपचार नपाउँदा मृत्यु भएको गाउँलेहरु बताउँछन्। प्रहरीको गोलीले दुवै आँखा गुमाएका साफी अर्धचेत अवस्थामा थिए। 

को हुन् साफी?

२०७२ साल भदौ १ गते नै प्रहरीको गोली लागेर एक जना आन्दोलनकारीको मृत्यु भएपछि भारदमा आन्दोलन चर्किएको थियो। आन्दोलनमा प्रहरीले ज्यादती गरेको भन्दै सप्तरीको पूर्वी नाकाको रुपमा रहेको भारदहमा दिनहुँजसो टायर बाल्ने, विरोध प्रदर्शन गर्ने लगायतका कार्यक्रम हुँदै आएको थियो। गाउँ नजिकै भएकाले साफी पनि आन्दोलन हेर्न प्रायः हरेक दिनजसो भारदह आउने जाने गरिरहेका थिए।

त्यही क्रममा मंसिर ५ गते राती ८ बजेतिर प्रहरीले चलाएको गोली लागेर दुवै आँखा गुमाएका साफी सामान्य उपचार गरेर घरमै बसिरहेका थिए। सामान्य आर्थिक अवस्थाका उनी कुनै राजनीतिक दलमा आबद्ध रहे नरहेको भने खुलेको छैन।

पैत्रिक सम्पत्तिको नाममा पाँच कठ्ठा जग्गा मात्र भएका साफीले श्रीमती दुर्गीदेवी साफी, छोराहरु लक्ष्मण, बेचन र रतनसहितको परिवारको कृषि मजदूरी गरेर जीविका चलाउँदै आएका थिए। संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहका अनुसार दुवै आँखा गुमाएका उनको मोर्चाकै व्यवस्थापनमा चिकित्सकको सिफारिस अनुसार हप्तादेखि एक महिनाको अवधिमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै आएको थियो।

करिब हप्ता दिनअघि मात्र उनको धरानमा फलोअप जाँच गरेर घर ल्याइएको केन्द्रीय सदस्य साहले बताए। आफ्नै घरमा मृत्यु भएका साफीको शव पोष्टमार्टमका लागि अहिले धरान लगिंनेछ। केन्द्रीय सदस्य साहका अनुसार पोष्टमार्टम गरी शनिबार साँझसम्म्म शव सप्तरी ल्याएर आइतबार शवयात्रापछि दाहसंस्कार गरिने तयारी रहेको मोर्चाले जनाएको छ।

सप्तरीमा ११ जना मारिए

मोर्चाको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर २०७२ भदौ १ देखि मंसिर ५ जनासम्म छ जना मारिएकासहित सप्तरीमा मोर्चाको आन्दोलनको क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन्। आन्दोलनको क्रममा त्यतिबेला सप्तरीको भारदह, रुपनी र राजविराजमा छुट्टाछुट्टै रुपमा प्रहरीको गोली लागेर राजीव राउत, रामकृष्ण राउत, नागेश्वरकुमार यादव, दिलिपकुमार साह, शिवशंकर दास र वीरेन्द्र रामको मृत्यु भएको थियो।

त्यसपछि संविधान संशोधन र सीमाङ्कनको मागसहित मोर्चाले थालेको आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर गत फागुन २३ गते मलेठ गाउँका सञ्जन मेहता, बीरेन्द्र महतो, पिताम्बर मण्डल, प्रसवनीका टेङ्ग्रीका आनन्दकुमार साह र जमुनी मध्यपुरा कटवीका इनर यादव मृत्यु भएको थियो।

सहिद घोषणा र क्षतिपूर्ति माग

मधेसी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भारदहमा प्रहरीको गोली लागेर दुवै आँखा गुमाए अचेत अवस्थामा रहेका साफीको निधनले स्तब्ध भएको जनाएका छन्। विज्ञप्तिमा साफीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनलाई सहिद घोषणा गरी आश्रित परिवारलाई तत्काल राहत स्वरुप क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग जोडदार माग गरिएको छ।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.