|

ओखलढुंगा : सरकारले प्रदेश नम्बर एकसहित चारवटा प्रदेशको स्थानीय तह निर्वाचन जेठ ३१ गते गर्ने निर्णय गरेपछि जिल्लामा चुनावी गतिविधि सुस्त बनेको छ। उम्मेदवार चयन, प्रचार–प्रसार र घरदैलो कार्यक्रम सुरु गरेका दलहरु अहिले कार्यक्रम स्थगित गरी यत्तिकै बसेका भेटिन्छन्।

सडकमा मोटरसाइकल, र गाडीमा झन्डा फरफराउँदै हिँड्ने कार्यकर्ता आजभोलि  बजारमा देखिन छाडेका छन्। वैशाख ३१ गते हुने निर्वाचनको तयारीमा जुटेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गतिविधि अहिले ओखलढुंगामा ठप्पजस्तै देखिन्छ।

नेपाली कांग्रेस ओखलढुंगाका नेता रुद्र अधिकारी  उम्मेदवारी टुंग्याउने बेला चुनाव सरेपछि समस्या भएको बताउँछन्, ‘८ वटै स्थानीय तहको वडाबाट सबै उम्मेदवारी सिफारिस आइसकेको थियो,’ नेता अधिकारीले भने, ‘सर्वसहमत सिफारिस भएर आएका साथीहरु पनि निराश भएर फर्कन थालेका छन्।’ पार्टीले टोल-टोलमा चुनाव प्रचार-प्रसार समिति गठन गर्ने काम निरन्तर गरिरहेको उनको भनाइ छ। कांग्रेसले  चुनावीसभा नगरे पनि कार्यकर्ता र मतदातासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ अधिकारीले बताए।

त्यस्तै, नेकपा एमालेका जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले चुनावी गतिविधि निरन्तर भए पनि उम्मेदवार चयनको काम रोकिएको जानकारी दिए। ‘हामीले जिल्लाका ८ वटै स्थानीय तहको सबै वडाबाट उम्मेदवारी सिफारिस गरिसकेका थियौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘चुनावी सभाहरु जारी छन् भने, वडाको उम्मेदवारी घोषणा गर्ने बेलामा निर्वाचन एक महिना पर पुग्नाले कार्यकर्तामा अन्योलता छाएको र मतदातासमेत दुःखी भएका छन्।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मोहनकुमार खड्काले चुनावी कार्यक्रम केही रोकिएको जानकारी दिए। ‘माओवादी केन्द्रले चुनावकै लागि गर्ने उम्मेदवार सिफारिस, वडाहरुमा विभिन्न जनवर्गीय  संगठन निर्माण लगायतका काम जारी राखेको छ,’ संयोजक खड्काले भने, ‘उम्मेदवारीको टुंगो लगाइसकेर वैशाख १६ गते निर्वाचन कार्यालयमा उम्मेदवारीको दर्ता गर्ने तयारीका काम ठप्प नै भएको छ।’ माओवादी केन्द्रले आफ्नो तर्फबाट ८ वटै स्थानीय तहका उम्मेदवार टुग्याइसकेको भए पनि अहिले पार्टीभित्र आकांक्षीहरु बढी रहेको एक माओवादी नेताले नाम नखोल्ने सर्तमा बताए।

संघीय समाजवादी फोरम लगायतका दलहरु चुनावमा सहभागी हुने भए पछि विभिन्न बैठक र छलफलमा जुटेका छन्। जिल्लामा रहेका साना दलहरु पनि अहिले चुनाव सरे पछि आपूmहरु संगठन निर्माण र प्रचारप्रसारमा लागिरहेको राप्रपाका नेता नारायण बहादुर सुवेदी बताउँछन्।  

जिल्ला निर्वाचन कार्यालयका प्रमुख अर्जुन राईले  नगरपालिका र गाँउपालिकाहरु निर्वाचन अधिकृतको कार्यालय खोल्ने काम रोकिएको जानकारी दिए। मतदाता शिक्षा कार्यकर्ता भने गाउँमा परिचालित भइसकेका छन्। पत्रपत्रिका तथा रेडियोमा निर्वाचनसम्बन्धी प्रकाशन तथा प्रसारण गरिएका सूचनाहरुमा वैशाख ३१ गते भनिएको ठाँउमा जेठ ३१ गते बनाउन लगाइएको राईले बताए। ओखलढुंगामा १ सय ३३ जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको थियो। गाँउ–गाँउमा मतदाता नामावली लिएर पुगेका दलका कार्यकर्ता पनि अहिले मौनजस्तै देखिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.