|

  • दाना शाही-

जुम्ला : तातोपानी गाउँपालिकाको हिमशिखर माविमा छात्रामा रुने, चिच्याउने समस्या देखिएको छ। एक चैत १३ गतेदेखि यो समस्या अझै समाधान नभएको निमित्त प्रधानाध्यापक राजु केसीले जानकारी दिए।

चैत १३ गते ८ कक्षाकी छात्राबाट सुरु भएको यो समस्या अहिले ८, ९ र १० कक्षाका छात्राहरुमा देखिएको उनले बताए। 'समस्या देखिएपछि स्थानीय स्वास्थ्यकर्मीहरुले उपचार गरेपनि पति लागेन। चैत १७ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टरहरुको टोली औषधी लिएर त्यहाँ पुग्यो र तर अभिभावकहरुले ध्यान नै दिएनन्” निमित्त प्रधानाध्यापक केसीले भने।

अहिले ६० जना भन्दा बढीमा देखिएको उनले जनाए। यो रोगले छात्राहरुको हात खुट्टा दुख्ने, गल्ने, झमझमाउने, लाटोपन देखिने, कहिलेकाही ढल्ने गरको उनले बताए। अभिभावकहरुले औषधी गर्ने भन्दा धामी झाक्री बढी गर्न थालेका छन्।

छात्राहरुको यो समस्याले गर्दा विद्यालयको शिक्षण कार्य प्रभावित भएको प्रधानाध्यापक केसीले बताए। उनले भने, 'यो समस्या रोकिन्छ भनेर दुई दिन विद्यालय बन्द पनि गर्‍यौं तर पनि केही सुधार आएन। उनका अनुसार एक जनाबाट शुरु भएको यो रोग ६० जनामा पुग्यो तर अहिले १४ जना चिच्याउने कराउने गरेका छन्।'

अहिले कक्षा १० मा अध्ययन गर्ने निरमाया कठायत, छायाँ कठायत, संगीता कठायत, टिका बुढा, मनिषा बुढा, लक्ष्मी बुढा, कक्षा नौ पढ्ने पूजा डाँगी, सितली परियार, कक्षा आठकी निशा कठायत, हिरा डाँगी, रिता अधिकारी, रामसिता कार्की, कृष्णमाया बुढा र कक्षा छ की जुनी नेपालीलाई यो समस्याले नछोडेको विद्यालयले जनाएको छ।

विद्यालयका अध्यक्ष नरवीर सुनारले कुनै विधिबाट उपचार नहुँदा विद्यायलयमा एक महिना तनावग्रस्त रहेको बताए। विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि पढाउन गाह्रो भएको उनले बताए। उनी भन्छन्, 'पहिला चिच्याउँछन्, पछि शिक्षकलाई नै झम्टन जान्छन्।'

स्थानीय जनक बुढाले विद्यालय लगाएको ठाउँमा पहिला ‘सारकाणाको मन्दिर’ भएको बताए। 'मन्दिर भत्काउँदा सर्प निस्केको र त्यसलाई मारिएको थियो। यसो गर्नु राम्रो थिएन', उनले भने।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सुवेश चौधरीले चैत महिनामा जाँदा यो रोग मास हिस्टेरिया भएको बताए। उनले आफूले औषधी लिएर उपचार गर्दा अभिभावकहरु धामी झाँक्री गर्न लागेको जनाए। तर शुरुको बिरामी हिरा डाँगी सहितका बिरामीलाई परामर्श दिएर फर्केर आएको डा. चौधरीले बताए।

त्यहाँको बाबिरो मष्टोका मूलधामी कर बुढाले असार पूर्णिमासम्म सबैलाई सञ्चो गर्ने संकल्प गरेका थिए। त्यसका लागि देउतालाई केही दिनु पर्ने भन्दै बिरामी छात्रालाई सिन्दुर अक्षता चामल दिएका थिए। केही छात्रा शान्त भएपनि केहीले भने चिच्याउन छोडेनन् र उनका अभिभावकले त्यही अवस्थामा घर लगेको थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.