|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक : जुगल गाउँपालिकका गोल्चेका नेमाछिरिङ गुरुङको विनाशकारी भूकम्पले घर पूर्ण रुपले ध्वस्त पार्‍यो। भूकम्पले हल्लाएर ढलेको घरको जग अझै उनले बसाउन सकेका छैनन्।

‘सरकारले अनुदान रकमको भर गरेर बस्दा आफैंले घर बनाइएन, अब सबैलाई चुनावले छोपेको छ। नेताहरु गाउँ–गाउँ,घर–घरमा भोट माग्न आउन थालिसकेका छन्। अब हुने चुनावमा जसले पीडितको पक्षमा हेर्छ उसैलाई नै भोट दिने निर्णय गरेको छु’ गुरुङले भने।

भूकम्पले ढालेको घर बाह्रबिसे नगरपालिका गातीका टेम्बा छोयालले पनि घरको चर उठाउन सकिरहेका छैनन। ‘हिजो जस्तो लाग्छ, भूकम्पले घर भत्काएर टहरामा बस्न थालेको दुई वर्ष कटिसकेछ’ छोयालले भने, ‘सरकारी ढिलासुस्तीले गर्दा आफूहरु बाध्य भएर दुई वर्षसम्म टहरामा बस्न बाध्य भएको छौं।’

‘स्थानीय तहको निर्वाचन संघारमा आइपुगेको छ’ छोयालले भने, ‘पीडितको पक्षमा जसले आवाज उठाउँछ पीडितलाई घर बनाउन सहयोग गर्छु भन्छ उसैलाई भोट दिने पक्का भएका छ।’

सिन्धुपाल्चोकमा घर बनाएका गाउँलेहरु इन्जिनियरले घर हेर्न नआएकाले अहिले झन् तनावमा फसेको बताउँछन्। ‘घर थालेको महिना दिनसम्म इन्जिनियरहरु घर हेर्न आएनन्, कुरेर बस्ने कुरा पनि भएन चौतारा साँगाचोकगढी नगरपालिकाका भरतबहादुर सापकोटा भन्छन्, ‘घरको छानो हालियो, अब सरकारी इन्जिनियर आएर घरको के पुगेन भन्ने हो।

बनाउने बेलामा पटक–पटक बोलाउँदा समेत हेर्न आएनन्। आफूले भ्याएसम्मको मापदण्ड पुर्‍याएको छु। दोस्रो किस्ता सिफारिस गर्छ  गर्दैन थाहा छैन।’ सरकारले निर्वाचनको मिति घोषणा त गर्‍यो तर, चुनावी रन्कोभन्दा पनि सिन्धुपाल्चोकका भूकम्पपीडितलाई पुनर्निर्माणको चिन्ताले सताएको छ।

जग्गा हुनेहरुले घर बनाइरहेका छन्। भूकम्पले घडेरी चिरा परेका, ढलेका, पहिरो लडेका जग्गा हुनेहरु भने चिन्तामा छन्। सबै राजनीतिक दलहरुले आफ्नो पार्टीलाई बलियो बनाउन वडा भेला तथा कार्यकर्तासँग भेटघाटलाई तीव्रता दिन थालेका छन्। विशेष गरेर ठूला दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्र र राप्रपाका नेताहरु आफ्ना कार्यकर्ताहरुलाई भेट्ने, वडागत भेला गर्ने काममा तल्लिन हुन थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.