|

  • दिपक शर्मा 

सल्यान : निर्वाचनको मुखैमा नेकपा (माओवादी केन्द्र)का ७ जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन्। उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै सल्यानबाट प्रतिनिधित्व गर्ने ७ केन्द्रीय सदस्यले राजीनामा दिएका हुन्।

सल्यानको बाघचौर नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन अन्यायपूर्ण, पुर्वाग्रही तथा वास्तविक धरातलभन्दा बाहिर गएर गरिएकाले राजीनाम दिन बाध्य भएको उनीहरुले जनाएका छन्।

राजीनामा दिने केन्द्रीय सदस्यहरुमा ज्ञानबहादुर वली ‘माइकल’, टिकाराम वली ‘दर्शन’, सेतिराम वली ‘दिनेश’, हरिलाल डिसी ‘दोभान’, सुम्निमा डिसी ‘निर्माता’, टंकप्रसाद शर्मा सौगात र कमला वली श्रृंखला रहेका छन्।

नगर प्रमुख र उपप्रमुखको उम्मेदवार चयनमा प्रदेश कमिटीले मनोमानी गरेकाले राजीनामा दिएको असन्तुष्ट नेताहरुले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। ‘माओवादी केन्द्रको प्रदेश नम्बर ६ ले मेयर र उपमेयर छनौटका क्रममा अत्यन्त हचुवापूर्ण, पूर्वाग्रहीसहित परिवारको भावना विपरीत, वास्तविक धरातलबाट भन्दा वाहिरबाट लादिएको ठहर गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ। 

लामो समयदेखि पार्टीमा त्याग गरेका र पुराना अग्रज नेताहरु हुदाँहुदै सल्यान रुकुम यातायातका अध्यक्ष लोकमान बुढाथोकीलाई टिकट दिइएको आरोप उनीहरुको छ। प्रदेश कमिटीले निर्णय नसच्याउँदासम्म राजीनामाको निर्णयमा पुनर्विचार गर्न नसिकिने उनीहरुले जनाएका छन्।

राजीनामा दिएका केन्द्रीय सदस्य ज्ञानबहादुर वलीले प्रदेश कमिटीको गलत निर्णयबाट विचलित नहुन र गलत कामविरुद्ध डटेर लाग्न कार्यकतालाई अपिल गरेका छन्।

प्रदेश कमिटीले लोकमान बुढाथोकीलाई प्रमुख र कल्पना घर्तीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

नगर कमिटीबाट प्रमुखमा बुढाथोकीसहित ज्ञानबहादुर वली र टिकाराम वलीको नाम सिफारिस भएको थियो भने उपमेयरमा घर्तीसहित सुम्निमा डिसी र कमला वली सिफारिसमा परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.